६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

कोरोना महामारीमा वीपी र स्थानीयबीच तनाव बढ्दो

उपकुलति कार्यकक्षमा तालाबन्दी, ओपिडी सेवा बन्द

वीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी गर्दै तरुण दल र नेवि संघका कार्यकर्ताहरु । तस्बिर: रोहित राई

कोरोना संक्रमण समुदायमा तीव्र रुपमा फैलदै गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीयबीच दूरी बढ्दै गएको छ ।  

लकडाउनकै बीचमा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएका डा.ज्ञानेन्द्र गिरी र धरानका मेयर तिलक राईबीच तालमेल हुन सकिरहेको छैन । उपकुलपतिमा नियुक्ती पाएर आएका डा.गिरीले स्थानीय तहसँग कोभिड १९ को उपचार तथा रोकथाममा आवश्यक समन्वय, सहकार्य नगरेको भन्दै मेयर राई असन्तुष्ट छन् । पछिल्लो समय ४ महिना अघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल अझैसम्म सञ्चालन नआएको विषयमा पनि मेयर र उपकुलपतिबीचको सम्बन्धमा तुस पलाएको छ । धरानका कोरोना संक्रमितहरु बेड नपाएर घरमा नै रहदा मेयर राईमाथि तीव्र दबाब परेको छ ।  

प्रतिष्ठानको सिनेट सदस्यसमेत रहेका मेयर राईले २ दिन अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाउदै सिनेट बैठक स्थगित गर्न माग गरेका थिए । कोरोनाले आक्रान्त भएको बेला सबैको ध्यान रोकथाम, उपचारमा हुनुपर्ने भन्दै उनले बैठक रोक्न माग गरेका थिए । प्रतिष्ठानको सिनेट बैठक साउन ३० गते तोकिएको छ । यसको लागि प्रतिष्ठानका सबै पदाधिकारीहरु काठमाडौं गइसकेका छन् । ‘वीपीका पदाधिकारीहरु गैरजिम्मेवार भए । धरानको संक्रमितहरुलाई १०, १५ वटा बेड दिने भन्ने थियो, बेड पाउनै सकिएन,’मेयर राईले भने,‘वीपीमा जुन क्षमताको बेड हुनुपर्ने थियो, त्यो भएन । कोभिड अस्पताल उद्घाटन मात्रै भयो, सञ्चालनमै आएन ।’

उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

कोभिड १९ अस्पताल उद्घाटन भएको तीन महिना बितिसक्दा पनि सञ्चालनमा नआएको भन्दै तरुण दल र नेविसंघले मंगलबार प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालबन्दी गरेको छ । धरान कोरोनाले आक्रान्त भइरहदा उपकुलपति डा.गिरी भने पदाधिकारीहरु लिएर काठमाडौं बैठक गर्न गएको भन्दै तालाबन्दी गरिएको जनाएको छ ।

तरुण दलका नगर अध्यक्ष हिमाल श्रेष्ठले धरानका कोरोना पोजेटिभ व्यक्तिहरुले आइसोलेसन बेड नपाएर घरमा नै बस्न बाध्य भएको तर प्रतिष्ठानका पदाधिकारीहरु भने बैठक गर्न काठमाडौं गएकोले गम्भीर नदेखिएको भन्दै तालाबन्दी गरिएको बताए । ‘धरानकै संक्रमितहरु बेड नपाएर घरमै छन्, ३ महिनाअघि उद्घाटन गरेको कोभिड अस्पताल शुरुवात गर्न चासो दिएको छैन, बैठकको नाममा स्वार्थ पुर्ति गर्न पदाधिकारी लिएर उपकुलपति काठमाडौं गएछन्,’अध्यक्ष श्रेष्ठले भने,‘कोरोना महामारीको बेला उपचार, रोकथाममा ध्यान दिनुपर्नेमा अत्यन्तै गैरजिम्मेवारीपन देखियो, त्यसैले तालबन्दी गरिएको हो ।’

नेवि संघ र तरुण दलले धरानका कोरोना पोजेटिभहरुको लागि कोभिड अस्पतालमा २५ प्रतिशत बेड अनिवार्य छुट्याउन पनि माग गरेको छ । आइसियु र डाइलालसिस सेवालाई क्षमता वृद्धि गरि सेवाग्राहीहरुलाई राहत दिन, इर्मजेन्सी तथा प्रसुती सेवालगायत सबै आन्तरिक सेवाहरुको उचित व्यवस्थापन गर्न पनि माग गरिएको छ ।  

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने सय बेडको कोभिड १९ अस्पताल एक, दुई दिनभित्रै सञ्चालन हुने दाबी गरे । कोभिड अस्पताल भएकोले बीचमा अपुग सामान थप्न नसकिने भएको कारण पुर्णरुपमा तयारी गरेर व्यवस्थित गर्न केही समय लागेको उनले बताए । ‘कोभिड अस्पतालमा नै अप्रेशन थिएटर, लेबर रुम, बच्चा वार्डलगायत सबै उपचारको व्यवस्थित सेवा हुन्छ, त्यसैले ती सबैको तयारी गर्न समय लागेको हो । विरामी त अहिले पनि राख्न सक्छौं,’उनले भने,‘लकडाउनले गर्दा सामान नपाएर पनि ढिलाई भयो, सार्वजनिक खरीद नियमावलीले पनि सोचे जस्तो चाडो काम गर्न पाएनौं ।’  

ओपिडी सेवा अनिश्चितकालका लागि बन्द

वीपी प्रतिष्ठानको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरु नै कोरोना संक्रमित हुन थालेपछि बुधबारदेखि ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहले जानकारी दिए । उनका अनुसार अर्को सूचना जारी नभएसम्म ओपिडी सेवा बन्द हुनेछ ।

प्रतिष्ठानमा उपचारको लागि आएका विरामीहरुको स्वाब परीक्षण गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आइरहेको छ भने चिकित्सकहरु नै संक्रमित हुन थालेका छन् । पछिल्लो समय इएनटि विभागका एक चिकित्सक, श्रीमती र २ छोराछोरी नै संक्रमण पुष्टि भइसकेको छ भने बायोकेमेष्ट्री विभागका डाक्टर र उनकी श्रीमती पनि संक्रमण पुष्टि भएको छ । यस्तै, इर्मजेन्सीमा उपचारमा आएका विरामीहरुसमेत कोरोना पोजेटिभ देखिन थालेकोले संक्रमण थप फैलिन नदिन प्रतिष्ठानले ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

धरानका कोरोना पोजेटिभलाई हरियालीमा राखिने

वीपी प्रतिष्ठानको आइसोलेसनमा बेड नपाएपछि धरान उपमहानगरपालिकाले नगर क्षेत्रका संक्रमितहरुलाई धरान १९ स्थित हरियाली सामुदायिक वन समूहको आवास गृहमा राख्ने भएको छ । वीपी प्रतिष्ठानका विज्ञ चिकित्सक, नेपाली सेनासहितको टोलीले आवश्यक निरीक्षण गरेर हरियालीको आवास गृहलाई आइसोलेसन केन्द्रको रुपमा छानेको हो ।

घरमा राख्दा आवश्यक मापदण्ड पुरा नहुने र अन्यलाई संक्रमणको पनि जोखिम हुने भएकोले उपमहानगरलेउनीहरुलाई सुरक्षितरुपमा अलग्गै राख्ने व्यवस्था गरेको जनाएको छ । मेयर तिलक राईका अनुसार यो आवास गृहमा बुधबारबाट २३ जना राखिने छ । संक्रमित बस्ने क्षेत्रलाई घेराबारा गरिएको छ भने निगरानीको लाग सिसिटिभी जडान गरिएको छ । आइसोलेसन तयारीको लागि सिसि क्यामेरा, सुरक्षा, स्वास्थ्य, वाइफाई, मनोवैज्ञानिक चिकित्सक र राम्रो खानपिनको सुविधा व्यवस्था गरिएको मेयर राईले बताए । ‘मनोवैज्ञानिकरुपमा खुल्ने अवस्था बनाउछौं, १४ दिन आरामसँग बसोस भनेर व्यवस्थापन गर्दैछौं,’उनले भने,‘पिसिआर पोजेटिभ भएपनि लक्षण नभएकाहरुलाई मात्र यहाँ राख्ने हो, लक्षण भए अस्पतालमा नै राखिन्छ ।’

प्रकाशित: २७ श्रावण २०७७ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App