८ आश्विन २०७७ बिहीबार
स्वास्थ्य

कोरोना नियन्त्रणका लागि स्थानीय तहबाट दुई करोड सहयोग

जिल्लमा रहेका १६ वटा स्थानीय तहहरुले जिल्लामा बढदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नको लागि समानुपातिक हिसाबले सहयोग गर्ने मंगलबार प्रतिबद्धता गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कलैयामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुले कोरोना संक्रमितको उपचारको लागि अस्पतालमा अवश्यक पर्ने पीसीआर मेसिन, भिटिएम किट, भन्टिलेटर लगाएतको उपकरण र त्यसको व्यवस्थापनको लागि दुई करोड सहयोग गर्ने प्रतिबद्धता गरेका हुन्।

कोरोना नियन्त्रण र संक्रमितको उपचारमा अस्थायी कोरोना अस्पताललाई आवश्यक पर्ने पीसीआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपकरण र त्यसको  व्यवस्थापनको लागि तत्काल दुई करोड रकमको आवश्यकता देखिएको र ती रकम समानुपातिक हिसाबले स्थानीय तहहरुले दिने सहमत भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन्।

दुई करोडको साढे १४ प्रतिशत उमहानगरपालिका, सात प्रतिशत नगरपालिका र चार प्रतिशत गाउँपालिकाबाट संकलन गरिने उनले बताए। रकम संकलन गर्ने र पीसिआर मेसिन खरिद गर्ने जिम्मेवारी कलैया उपमहानगरपालिकालाई दिएको प्रजिय पण्डितले बताए।

खरिद गरिने पीसीआर मेसिन तत्कालको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नै सञ्चालन गर्ने र पछि पूर्वाधार, जनशक्तिको व्यवस्था गरेर कलैया अस्पतालमा ल्याउने सहमति भएको प्रजिय पण्डितले बताए।

विपद व्यवस्थापन समितिको बैठकमा भएको सहमति अनुसार उमहानगरपालिकाले २९ लाख, नगरपालिकाहरुले १४ लाख र गाउँपालिकाहरुले आठ लाखको दरले रकम सहयोग गर्ने बैठकमा सहभागी भएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन्।

धेरै प्रयास र पहलपछि कलैयामा रहेको अस्थायी कोरोना अस्पतालको लागि आवश्यक पर्ने पीसीआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपकरण र त्यसको  व्यवस्थापनको लागि १६ वटै स्थानीय तहहरु सहमत भएको प्रमुख यादवले बताए।

जाँचको दायरा बढाउनको लागि उपमहानगरपालिकाले चार हजार, नगरपालिकाले दुई हजार र गाउँपालिकाले एक हजार भिटिएम किट समेत खरिद गर्नुपर्ने निर्णय गरिएको प्रमुख यादवले बताए।

केही दिन पहिला मात्रै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले कलैयामा सञ्चालन गरिएको अस्थायी कोरोनामा अस्पतालमा पीसिआर मेसिन, भिसिआर किट ,भेन्टिलेटरसहितको आइसोलेसन बेड व्यवस्थाको लागि ५० लाख देखि एक करोडसम्म सहयोग गर्ने प्रतिबद्धता गरेका थिए।

पीसीआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपकरण र त्यसको व्यवस्थापनको लागि दुई उपमहानगरपालिकाबाट ५८ लाख पाँच नगरपालिका ७० लाख र नौ गाउँपालिका ७२ लाख रकम जम्मा हुने निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनालले बताएका छन्।

स्थानीय तहहरुले कोरोना भाइरसको नियन्त्रणको नाममा क्वारेन्टिन निर्माण, स्वास्थ्य समग्री खरिद लगाएतको कार्यमा गरेको खर्च एक हप्ता भित्रमा सार्वजनिक गर्ने निर्णय समेत गरिएको छ ।

जिल्ला समन्य समिति प्रमुख नवल किशोर सिँह, कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेल लगाएतका स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा उपस्थिति रहेको थियो ।

प्रकाशित: २७ श्रावण २०७७ १९:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App