coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

१२ दिनमै कोरोनामुक्त भए सांसद यादव भन्छन् : खानपिनमा ध्यान दिँए

पर्सा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदिप यादव १२ दिनमै कोरोनामुक्त भएका छन् । ‘आज मैले १२ दिनपछि दोस्रो पटक पिसिआर जाँच गराउंदा कोरोना नेगेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ मंगलबार उनले समाजिक संजालमा लेखेका छन्, ‘वीरगन्जस्थित आफ्नो घरभित्र आइसोलेट भएर आत्मअनुशासन कायम गरी सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु ।’ नागरिकसित कुरा गर्दै उनले आफूले घरेलु उपचारमा जोड दिएकोले चाँडै कोरोनामुक्त भएको बताए ।  

‘मलाई लाग्छ यसमा आहार र दैनिक रुटिनको बहुत भूमिका छ, जानकारहरुसंग परामर्श गरेर र इन्टरनेटमा उपलब्ध समग्रीहरु हेरेर पढेर मैले घरेलु उपचारलाई अपनाएको थिएँ’ सांसद यादवले भने, ‘ एलोप्याथिक औषधिको नाममा २ चक्की पारासिटामोल मात्र पहिलो दिन खाएको छुँ ।’ गत साउन १६ गतेको रिपोर्टमा सांसद यादवमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी वीरगन्ज १३ राधेमाइस्थित आफ्नो घरभित्रै सेल्फ आइसोलेसनमा बसेका थिए । संक्रमितहरुको सुरक्षा नियम अनुसार र डाक्टर को सलाह र निर्देशन  बमोजिम अझपनि एक हप्ता आइसोलेट भएर बस्ने उनले बताए ।

१२ दिनको समय आफ्नो लागि जीवनमा फरक अनुभव भएको उनले बताए । ‘बिहान उठेर घरको छतमै आधाघण्टा जगिङ्ग गर्थे, त्यसपछिको आधा घण्टा अनुलोम बिलोम, भस्त्रिका र कपालभारतीजस्ता प्रणयाममा दिन्थे, त्यसपछि गिलोय (गुर्जों) मरिच र तुलसीको काढा बनाएर लिन्थे,’ उनले आफूले अपनाएको आहारबिहारको बारेमा सुनाए, ‘मैले आफै २ वटा प्याज, २०/२२ गेडा लहसुन, त्यतिकै वटा कालो मरिच र बेसार पिनेर अनि तीन भाग लगाएर राख्थे पहिलो भागलाई उमालेर झोल बनाई बिहानको नास्तासंग खान्थे, अरु दिनमा थप दुई पटकको लागि हुन्थ्यो । नास्तामा फलफूल र एउटा ठूलो टमाटर हुन्थ्यो, पानीमा कागती मह मिसाएर पनि लिन्थे ।’ दिनमा शाकाहारी खाना, नरिवलको पानी र सुन्तलाको जुस खानापछि लिन्थे । साँझ फेरी बिहानकै जस्तो व्यायाम र प्रणयाम गर्ने गरेको उनले बताए । राति अबेरसम्म नसुत्ने बानी उनले त्यागेका थिए यस दौरान । हल्का खाना खाएर १० बजेसम्म जसरी पनि निदाईहाल्ने गरेको सांसद यादवले बताए । यसबीचमा ब्यक्तिगत र आफू बस्ने ठाउँको सफाईमना ध्यान दिएको उनले बताए ।

खोकी लाग्ने र हल्का ज्वरो केही दिनदेखि उनलाई आउने जाने गरेको थियो । परीक्षण रिपोर्ट आएको दिन ज्वरो फेरी आएको थियो, त्यो दिन चिकित्सकहरुको सल्लाहले उनले पारासिटामोल लिएको थिए । ज्वरो आएपछि मात्र सिटामोल लिने, समस्या बढेपछि जानकारी गराउने नारायणी अस्पतालका चिकित्सकहरु डा. निरज सिंह र उदय नारायण सिंहले उनलाई भनेका रहेछन् । समय बिताउन साथीभाईसंग कुरा गर्ने, समाजिक संजाल हेर्ने र फिल्म हेर्ने गरेको उनले बताए । १२ दिनमा करिब १५ वटा फिल्म हेर्न उनले भ्याएका छन् । तीन चारवटा किताब पनि पढेका छन् ।

कोरोना संक्रमणपछि तनाव हुने सबैभन्दा खराब पक्ष भएको रहेको उनले बताए । माहामारी भनिएको यस भाइसरको संक्रमणले बिश्वभरको अवस्था, ज्यानसमेतको जोखिमको कुराले आफ्ना नजिकका ब्यक्तिलाई नसरोस लगायत अनेक बिचार खेल्न थालेर तनाब आउने गरेको अनुभव उनले सुनाए । तनावमाथि जितेपछि कोरोनासंग जित्न सहज हुने गरेको सांसद यादवको अनुभव छ । ‘पहिलो दिन निकै मानसिक रुपमा असहज भयो, निदाउन पनि कठिन भइरहेको थियो, तर दोस्रो दिनमा केही सहज भएँ, अब के गर्ने भन्नेतिर लागेँ,’ उनले थपे, ‘र, यसो गर्नु नै उपयुक्त हुने रहेछ, मनमा कुरा खेलाएर बस्नु अनावश्यक रहेछजस्तो लाग्यो ।  

त्यसपछि आफ्नो रुटिन निर्धारित गरे, अरु एकदुई दिनमा आफूले निर्धारित गरेको रुटिनमा अभ्स्त पनि भए ।’ तेस्रो चौथो दिनदेखि सहज भएपछि मानिसहरुसंग फोनमै सम्पर्कमा बस्ने क्षेत्रमा र जिल्लामा बिभिन्न समस्याहरुको लागि फोनमै पहल गरी समाधान खाज्नेजस्ता काममा घरमै बसेर आफूलाई ब्यस्ता पारेको उनले बताए । ‘जनता सेवामा लागेपछि आफ्नो चिन्ता छुटेको पाँए,’ उनले भने, ‘अहिले नेगेटिभ आएपछि सुखद अनुभुति भएको छ । यसलाई मैले मेरो शुभचिन्तकलाई जनाउन उचित ठानेर समाजिक संजालमा हालेँ ।’

प्रकाशित: २७ श्रावण २०७७ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App