८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमित शुन्य जिल्ला ताप्लेजुङमा फेरी देखियो कोरोना

कोरोना संक्रमण शुन्य बनेको हप्ता नबित्दै ताप्लेजुङमा मंगलाबार फेरी १ जना संक्रमण देखिएको छ । भारतीय सेनामा कार्यरत रही बिदामा घर आएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टी भएको हो । उनीसहित २१ जनाको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएकोमा उनको रिर्पोट कोरोना पोजेटिभ आएको हो । 

भारतसहित तेस्रो मुलुकबाट आएका सबैलाई अहिले सदरमुकाम फुङ्लिङस्थित होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएको खण्डमा मात्र सम्वन्धित पालिका पठाउने गरिन्छ । उनको रिर्पोट कोरोना पोजेटिभ आएपछि उनीसंगै जिल्ला भित्रिएका तथा ताप्लेजुङ उद्योग बाणिज्य संघको होल्डिङ सेन्टरमा एउटै कोठामा बास बसेका अन्य २ जनाको रिपाेर्र नेगेटिभ आएपनि उनीहरुलाई समेत डिस्चार्ज गरिएन । 

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले कोरोना पोजेटिभ रिजल्ट आएकासंगै बसेका २ सहित होल्डिङ सेन्टरमा रहेका २४ जना र उनीहरुको सुरक्षा तथा स्वास्थ्यको सिलसिलामा खटिएका गरी करिव ३० जनाको स्वाब संकलन गरी पठाउने तयारी भईरहेको जानकारी दिए । यसअघि ताप्लेजुङमा ७ जनामा कोरोना संक्रमण देखिएकोमा ७ जनाले नै कोरोनालाई जितेर घर फर्किसकेका छन् । कोरोना संक्रमण देखा परेकालाई भने जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रले शक्तिवर्धक र जडिबुटीजन्य औषधि प्रदान गरेको छ । 

ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ आत्मबिश्वास दरिलो बनाउन, भयरहित दिन बिताउन र व्यक्तिगत स्वास्थ्य सुरक्षालाई बिशेष ख्याल गर्न कोरोना संक्रमित तथा होल्डिङ सेन्टरमा रहेका सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित: २७ श्रावण २०७७ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App