६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

गर्भवतीलाई गाउँमै निःशुल्क अल्ट्रासाउण्ड सेवा

स्वास्थ्यमा गाउँपालिकाको लगानी

बुङकोट स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा दिँदै स्वास्थ्यकर्मी । तस्बिर: नागरिक

गोरखाको शहिदलखन गाउँपालिकाले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा गाउँगाउँमा सुरु गरेको छ । ‘हामीले उपकरण र जनशक्ति गाउँपालिकाबाट राखेर हरेक वडाको स्वास्थ्य चौकीमा मासिक एक पटक यो सेवा सुरु गरेका छौँ’ गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले भने ।  

नौ वटा वडा रहेको शहिदलखन गाउँपालिकाको हरेक वडामा स्वास्थ्य संस्था छ । गत वर्षको तथ्याङ्क अनुसार ८५ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । सुत्केरी हुन अघि गर्भवमा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्सरे सेवाका लागि सदरमुकाम सम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अव हटेको छ । ‘उपचार पनि महँगो, गर्भवतीलाई सदरमुकाम सम्म जान आउन पनि समस्या भएपछि हामीले स्वास्थ्य चौकीबाटै घुम्ती रुपमा यो सेवा दिने निर्णय गरेका हौँ’ अध्यक्ष थापाले भने । जन्मनु अघि नै बालवालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निशुल्क संचालन गरिएको उनले बताए । ‘बालवालिका सबै स्वस्थ जन्मिउन भन्ने उद्देश्यले यो सेवा थालेका हौँ’ उनले भने ।  

बुङ्कोट स्वास्थ्य चौकीबाट अहिले सेवा चलिरहेको गाउँपालिका स्वास्थ्य शाखाका बिरेन्द्र श्रेष्ठले बताए । मासिक एक पटक एउटा स्वास्थ्य संस्थामा जाने र त्यसको सेवा क्षेत्र भित्रका गर्भवतीलाई बोलाएर सेवा दिइन्छ । वृद्धहरुलाई घरघरमा पुगेर सेवा दिने योजना यो वर्षको कार्यक्रममा गाउँपालिकाले राखेको थियो । कोभिड १९ को प्रभावका कारण उक्त कार्यक्रम भने भदौ लागेपछि मात्रै सुरु हुने स्वाथ्यकर्मी श्रेष्ठले बताए ।  

गाउँपालिकाले ल्याब टेक्निसियन राखेर घुम्ति रुपमा सेवा दिन थालेपछि कोभिड १९ को काम छिटो र प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए ।

सुत्केरीलाई प्रतिब्यक्ति ७८ सय  

शहिदलखन गाउँपालिकाले सरकारले तोकेका मापदण्ड भित्र रहेर गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई ७८ सय रुपैयाँ दिने गरेको छ । चार पटक गर्भ जाँच गराए बापत नेपाल सरकारले दिने आठ सय, गाउँपालिकाले दिने दुई हजार र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा सरकारले दिने दुई हजार र गाउँपालिकाले दिने तीन हजार रुपैयाँ पाउनेछन् । नियमित जाँच गराउने र स्थानीय स्वस्थ्य संस्थामा उपचार हुन नसकी अन्यत्र रिफर भएकालाई पनि यो सुविधा दिइएको गाउँपालिकाका स्वास्थ्यकर्मी बिरेन्द्र श्रेष्ठले बताए । ‘सुत्केरी प्रोत्साहन कार्यक्रम अन्र्तगत गत वर्ष गाउँपालिकाको १० लाख रुपैयाँ खर्च भएको छ’ उनले भने । सबैलाई स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने बुझाउन प्रोत्साहन रकम दिइएको उनले बताए ।  

बुङ्कोट स्वास्थ्य चौकीमा स्तरीय ल्याब  

गोरखाको शहिदलखन गाउँपालिका ७ बुङ्कोट स्वास्थ्य चौकीले ल्याब सेवा सुरु गरेपछि स्थानीयलाई सजिलो भएको छ । गत सातादेखि गाउँपालिका, वडा, मनोज यसोसियसन फाउण्डेसनको सहयोगमा ल्याब सुरु गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।  

स्वाथ्य चौकीमा ल्याब सुरु भएपछि असार महिनामा मात्रै ३७ जनाले सेवा लिएका छन् । सुगर, प्रेसर जाँचका बिरामी धेरै हुने गरेको ल्याब टेक्निसियन कन्चना थापाले बताईन । ‘अधिकासं ल्याबको सेवा यहाँबाट दिन सक्छौँ’ उनले भनिन् ‘सहुलियतमा ल्याबको सेवा दिएका छौँ ।’ युरिन, सुगर, ब्लड, युरिया, युरिकयसिड, कोलस्टोर, टिजी जस्ता समस्या भए नभएको चेकजाँच गरिन्छ । गर्भवती महिलालाई पनि ल्याब सेवा गाउँमै सुरु भएपछि सजिलो भएको छ । ल्याब सेवा भने गाउँपालिका भित्रको नौ वटा स्वास्थ्य संस्था मध्ये बुङ्कोट स्वास्थ्य चौकीबाट मात्रै सुरु भएको हो ।

प्रकाशित: २५ श्रावण २०७७ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App