८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

काठमाडौंमै सयमा २७ जनाले चिउँडोमा लगाउँछन् मास्क : सर्वेक्षण

नेपाल स्वास्थ्य तथा अनुसन्धान परिषदले काठमाडौं उपत्यकामा कोरोनाविरुद्ध कतिको नियम पालना भएको छ  भनेर अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ प्रेस ब्रिफिङअन्तर्गत आइतबार  आयोजना गरेको पत्रकार सम्मेलनमा परिषदका सदस्यसचिव डा. प्रदीप ज्ञवालीले काठमाडौंमा कोरोनाविरुद्ध अपनाउनुपर्ने सामाजिक दूरी पालना, मास्क, सानिटाइजर प्रयोग तथा साबुनपानीले हात धुने नियम कतिको पालना छ भनेर गरिएको सर्वेक्षेणको नतिजा सार्वजनिक गरेका हुन् ।  

उनका अनुसार ३९ जना दक्ष जनशक्तिलाई साउन २३ र २४ गते दुई खटाएर काठमाडौंैमा व्यक्तिगत र संस्थागत रूपमा कोरोनाविरुद्ध सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कतिको पालना भएको छ भनेर अवलोकन गराइएको थियो ।  

त्यस क्रममा तरकारी बजार, सपिङ मल, अस्पताल, मालपोत कार्यालय, होटल, बैंक, सार्वजनिक यातायात गरी २३ वटा सार्वजनिक स्थलमा अध्ययन गर्दा ३१.२५ प्रतिशतमा मात्रै सामाजिक दूरी (व्यक्तिव्यक्तिबीच २ मिटर फरक) पालना गरिएको पाइएको सदस्य सचिव ज्ञवालीले जानकारी दिए । यस्तै साबुनपानीको व्यवस्था ६० प्रतिशतमा मात्रै पाइएको थियो ।  

सरकारी र निजी अस्पतालमा अवलोकन गर्दा कुनै पनि अस्पतालका चमेना गृहमा सामाजिक दूरी पालनै गरेको पाइएन । मात्र २० प्रतिशत अस्पतालमा सामाजिक दूरी पालना भएको पाइएको उनले बताए ।  

यस्तै ३० सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशतभन्दा कममा मात्र एउटा सिटमा एक जना मात्र राखिएको पाइयो ।  

यस्तै व्यक्तिगत तहमा ४ हजार ५ सय २ जनामा अवलोकन गर्दा ७२.१ प्रतिशतले मात्र मास्क लगाएको र २७.१ प्रतिशत मानिसले नलगाएको पाइएको सदस्य सचिव ज्ञवालीले जानकारी दिए ।  

उनका अनुसार सार्वजनिक स्थलमा मास्क लगाउने २ हजार ७ सय ३ जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउनेको संख्या ७२.६६ प्रतिशत पाइएको छ । यस्तै मास्क नाकमुनि, चिउँडोमा  लगाउने, घाँटीमा तथा हातमा झुन्ड्याउनेको संख्या २७.३४ प्रतिशत पाइएको उनले जानकारी दिए ।  

समग्रमा कोरोनाविरुद्ध सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड पालना नभएको पाइएको परिषदका सदस्यसचिव ज्ञवालीले बताए । साथै उनले यसका लागि सम्बन्धित निकायलाई कडा रूपमा अनुगमन गरी नियम पालना गराउन पनि आग्रह गरे ।  

प्रकाशित: २५ श्रावण २०७७ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App