६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

होम आइसोलेसनमा बस्नेहरुका लागि मापदण्ड

सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो । होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ ।  

यस्तै आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षीत रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ । यस्तै दाँत माझ्ने ब्रस लागयतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसाग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले बढी जोखिममा रहने समूह (दिर्घरोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताए । यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उनले बताए । संक्रमितलाई स्वासप्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उनले आग्रह गरे ।

स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुपर्ने छ । हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उनले बताए । स्वास्थ्यकर्मी वा नर्सले एक जना विरामी हेरेबाफत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित: २४ श्रावण २०७७ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App