६ चैत्र २०८० मंगलबार
स्वास्थ्य

नेसनल मेडिकल कलेजलाई कोभिड अस्पताल बनाउन सिफारिस

बढ्दो कोरोना संक्रमणच २० जना संक्रमितहरुले ज्यान गुमाइसकेको पर्सा जिल्लाले केन्द्रीय संकट व्यवस्थापन केन्द्रले चाहेमा केही दिनभित्र कम्तिमा ३ सय सैया आइसोलेसनसहितको सुबिधा सम्पन्न कोरोना अस्पताल पाउने छ । कोरोना संक्रमितहरुको संख्या ९ सय ४६ पुगिसकेको र संक्रमितलाई राख्ने आइसोलेसनको अभावमा ३ सय ५६ जना संक्रमितहरु घरमै र समुदायभित्रै सेल्फ आइसोलेसनको नाममा छोडिएका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड–१९ अस्पतालको रुपमा सञ्चालनमा ल्याउन केन्द्रलाई सिफासिस गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्लास्थित केन्द्रको बैठकले नेशनल मेडिकल कलेज उपयुक्त देखिएकाले यसलाई कम्तिमा ३ सय बेडको कोभिड–१९ उपचार व्यवस्थापन गर्ने अस्पतालको रुपमा सञ्चालन गर्न लगाउनेलगायत निर्णय गर्दै उक्त सिफारिस केन्द्रलाई पठाएको हो । बढ्दो क्रममा रहेका संक्रमितको उपचार र व्यवस्थापनको लागि यहाँ अहिले ५० सैयाको गण्डक अस्पताल र एक सय सैयाको वीरगन्ज हेल्थकेयर अस्पताललाई नारायणी अस्पताल मातहतको कोभिड–१९ बिशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको छ । तर पनि यसले आवश्यक्ता भने धान्न सकेको छैन ।  

यि दुई वटा कोभिड अस्पतालको सैया संख्या पर्याप्त नदेखिएकाले मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न जिल्लास्थित केन्द्रको बैठकले शनिबार निर्णय गरेको हो । उक्त सिफारिससंगै यसमा थप पहल एवं समन्वयको लागि केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराएका छन् । त्यस्तै संघीय सरकार मातहतको र पर्सादेखि सर्लाहीसम्मका स्वास्थ्य सेवाग्राहीको गन्तब्य रहेको नारायणी अस्पतालमा कार्यरत ३० बढी चिकित्सक र स्वास्थ्यकर्मीहरु संक्रमित भई आकस्मिक बाहेक नियमित सेवा प्रवाह अवरुद्ध भएकाले थप स्वास्थ्यकर्मीको व्यवस्था गर्न समेत बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा अनुरोध गर्ने निर्णय गरेको छ ।  

यहाँस्थित नेशनल मेडिकल कलेजमा कोरोना संक्रमितको लागि आइसोलेसन बनाउन यसअघि पनि माग उठेको हो । नेपाल कम्युनिष्ट पार्टीका नेता रहेका कलेजका प्रबन्ध निर्देशक बसरुदीन अन्सारीले राजनीतिक प्रभावमा त्यसो हुन नदिएको आम बुझाई छ । बिभिन्न समयमा नेकपा अध्यक्ष पुष्पकमल दहालदेखि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसम्म पहुँच बनाएका नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसंग नजिक रहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजराले यस मेडिकल कलेजमा कोरोना अस्पताल नबनाउन औपचाकिर रुपमैं पटक पटक अभिब्यक्ति दिएका छन् ।  

सल्लाह र समन्वय भएनः कलेज

जिल्लाको संकट ब्यवस्थापन केन्द्रले गरेको यस निर्णय बारे आफूलाई जानकारी समेत नगराइएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले बतडाएका छन् । ‘हाम्रो आफ्नै ४ सय ५० बढी बिरामीहरु दैनिक यहाँ उपचार गराउँछन्, जुन सेवाहरु हामीले यहाँबाट आफ्ना बिरामीलाई दिने गरेका छौं, त्यो उनीहरुले कहाँ प्राप्त गर्छन् त ?, त्यसमा करिब ३० जना प्रसुती हुने महिला छन्, ३० जना आइसियुमा छन्’ अन्सारीले नागरिकलाई भने, ‘त्यति मात्र होइन, डाइलासिस गराउने यहाँका ९५ बिरामी छन्, ३१ जना नारायणी अस्पतालबाट आएका छन्, उनीहरुको उपचार कहाँ हुने ? समस्या जटिल छ, यि सवालहरुको हल नगरी उहाँहरुले कसरी यो निर्णय गर्नु भयो मलाई थाहा भएन ।’

उनले यहाँ कोरोनाका बिरामी र समान्य बिरामीलाई एकसाथ राखेर उपचार गर्न नसकिने बताए । कुन र कहाँबाट चिकित्सक स्वास्थ्यकर्मी त्यहाँ खटिने हुन भन्ने पनि उनले सवाल ते¥स्याए । वीरगन्जमा चिकित्सकहरु पनि धमाधम संक्रमित भएपछि आफू कहाँ इन्टर्न गर्ने विद्यार्थीहरु पनि झस्किएको उनले बताए ।  

बैंक र खाद्य तथा किराना खोलिने

वीरगन्ज महानगरपालिका क्षेत्रमा गत साउन १० गतेदेखि र समग्र जिल्लामा साउन १९ देखि यहाँ निषेधाज्ञा लगाइएको छ । अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ । अब भने बैंक, खाद्यान्न र किराना पसल सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।  

यसको लागि भिडभाड नहुने गरी स्वास्थ्य र सुरक्षाको लागि सावधानी तथा मापदण्डको अनिवार्य रुपमा पालना गर्ने शर्तमा उचित समयमा सञ्चालन गर्न दिने निर्णय भएको हो । त्यस्तै स्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डको पालना हुनेगरी न्यूनतम रुपमा भए पनि बैंकिङ सेवा प्रवाहको व्यवस्था मिलाउन लगाउ नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगन्जलाई निर्देशन दिइएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ ११:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App