८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

धरान उपमहानगरका एक कर्मचारीसहित ४ जनामा कोरोना पुष्टि

धरानमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा एक जना उपमहानगरपालिकामा कार्यरत महिला कर्मचारी पनि हुन् । धरान वडा नं १५ मा बस्ने ती महिला कर्मचारी र उनकी ७१ वर्षीया आमालाई पनि संक्रमण पुष्टि भएको हो । हिजो शुक्रबार उनको छोरालाई पनि संक्रमण देखिएको थियो । ती बालक घरमा नै होम आइसोलेसनमा छन् ।

यस्तै, धरानको वडा नं ४ का एक १० वर्षका बालकमा पनि संक्रमण पुष्टि भएको छ । ती महिला वा पुरुष को हुन् भन्ने प्रष्ट भइसकेको छैन । यस्तै, वडा नं १० को ३० वर्षका पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार सबै जना घरमा नै आइसोलेसनमा रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन बेड खाली नभएकोले उनीहरुलाई लक्षण नदेखिएसम्म घरमा नै आइसोलेसनमा राखिने पनि मेहताको भनाई छ । योसँगै धरानमा कुल संक्रमितको संख्या ४६ पुगेको छ ।

धरानमा पछिल्लो समय संक्रमण बढ्दै गएपछि साउन २० गतेदेखि समुदायस्तरमा स्वाब संलकन गरिएको थियो । मानिसहरुको धेरै चहलपहल हुने स्थान र सबै वडाहरुबाट नमुना छनौट गरेर ५ सयको रेण्डम मास टेष्ट गर्ने उपमहानगरको योजना थियो । तर, पोजेटिभ रिपोर्ट आइरहेकोले कन्ट्याक ट्रेसिङको आधारमा शुक्रबारसम्म ८ सय १ जनाको स्वाब संकलन गरिएको मेहताले बताए । उनको अनुसार आज पनि वडा नं १५ कार्यालयमा स्वाब संलकन भइरहेको छ ।

रेण्डम मास टेष्टिङको क्रममा साउन २० गते १३० जनाको स्वाब संलकन गरिएको थियो । ती मध्ये १२४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बाँकी दिनको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी छ । धरानमा निरन्तर कोरोना संक्रमणको संख्या बढ्दै गएपछि साउन २२ गतेदेखि एक सातालाई पूर्णलकडाउन गरिएको छ । अधिकांश विदेशबाट आएर क्वारेन्टिमा बसेकाहरुलाई संक्रमण देखिएपनि पछिल्लो समयमा समुदायमा नै संक्रमण देखिन थालेको छ । धरान औद्योगिक क्षेत्रमा काम गर्ने कामदारबाट संक्रमण फैलिएको हो भने एक जना भारतबाट आएका सब्जी व्यापारीमा पनि संक्रमण देखिए पनि अझ धेरैमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।

वीपीमा पनि एक विरामी पोजेटिभ

उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका एक विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरका अन्दाजी ७१ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । ती विरामी सर्जरी वार्डको युनिट १ मा भर्ना भएका थिए । पेटको समस्या लिएर आएका उनलाई शंकास्पद व्यक्तिको रुपमा लिएर नै क्याबिनमा आइसोलेट गरेर राखिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ‘जनकपुरबाट आएकोले उहाँलाई शंका गरेर नै क्याबिनमा अलग्गै राखिएको थियो, उच्च सतर्कता अपनाएइएकोले चिन्ता गर्नुपर्ने अवस्था छैन,’उनले भने,‘पिसिआर रिपोर्ट पोजेटिभ आएकोले आइसोलेसन सारिदैछ ।’

प्रकाशित: २४ श्रावण २०७७ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App