४ माघ २०७७ आइतबार
स्वास्थ्य

फरक समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु

जनकपुरको रामजानकी अस्पतालमा शुक्रबार बिहान लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–११ की २१ बर्षीया गंगादेवी महतोलाई चिकित्सकले फरक रगत समूहको रगत चढाउँदा रियाक्सन भएर मृत्यु भएको छ ।  

सुरुमा ‘बी पोजिटिभ’ सगत समूह भनेपछि हामीले सोही समूहको रगत चढायौं अस्पतालका संचालक सदस्य बिकासचन्द्र गुप्ताले नागरिकसँग भने,‘रगत चढाउने बितिकै सुत्केरीलाई रियाक्सन भयो । डाक्टरले तुरुन्त रगत बन्द गरिदियो । समूह फरक पो पर्यो कि शंका लागेर पुनः सुत्केरीको रगत समूह जाँच गर्दा ओ पोजेटिभ पाइयो गुप्ताले भने,‘फेरी रेडक्रसबाट क्रस चेक गराउँदा पनि ओ पोजेटिभ नै देखायो । त्यसपछि ओ पोजेटिभ रगत ल्याएर चढायौं ।’ तर रियाक्सन भैसकेको थियो उनले भने,‘हामीले जती प्रयास गर्दा पनि बचाउन सकेनौ ।’

गुप्ताका अनुसार यसमा प्रमुख दोष रेडक्रसको छ । सुरुमा सुत्केरीको रगतको समूह रेडक्रसले पनि बी पोजेटिभ भनेर क्रस चेक गरिदियो । र, सोही समूहको रगत सुत्केरीका आफन्तलाई दिएर पठायो । गुप्ताले भने,‘गल्ती हाम्रो भन्दा पनि रेडक्रसको हो ।’

सुत्केरीका आफन्तले ओ पोजेटिभ समूहको रगत चढाउनुपर्नेमा ‘बी पोजेटिभ’ समूहको रगत चढाउँदा बिरामीको मृत्यु भएको गुनासो गरे । मृतक गंगाको पति राज किशोर महतोकाअनुसार श्रीमतीलाई सुत्केरी व्यथाले च्यापेपछि बिहीबार ४ बजे रामजानकी अस्पतालमा भर्ना गरायौं । डाक्टरले शल्यक्रिया गरेर प्रसुती गर्नु पर्छ भनेपछि हामी तयार भयौं । रगतको कमी छ , रगत बन्दोबस्त गर्नुस भनेपछि हामी रेडक्रस पुग्यौं । अस्पतालबाट दिएको श्रीमतीको रगतको नमूना समेत लिएर रेडक्रस पुगेका महतो आफ्नो रगत सोधभर्ना दिएर बी पोजेटिभ रगत लिएर आए । रेडक्रसले नमूना जाँच गरेर सो रगत दिएको थियो । रेडक्रसको प्रादेशिक अस्पताल जनकपुर ब्लड बैंकबाट राजकिशोरले आफ्नो एक पोका रगत दिएर त्यहाँबाट बी पोजेटिभ रगत लिएर रामजानकी अस्पताल आएको बताए ।  

त्यसपछि गंगाको शल्यक्रिया गरेर छोरी बचा जन्मियो । घरमा लक्ष्मी आएकोमा राजकिशोर खुशी थिए । चिकित्सकले पनि सबै ठिक छ भनेर ढाडस दिएका थिए । अचानक राती करिब  ११ बजे श्रीमतीलाई आईसीयूमा लगेको थाहा पाएपछि राजकिशोर अतालिए । उनको ढुकढुकी बढ्यो । घरीघरी चिकित्सकलाई श्रीमतीको स्वास्थ्य अवस्था सोधिरहे । बिहान करिब ३ बजे चिकित्सकले राजकिशोरलाई फरक रगत समूहको रगत चढाइएकोले रियाक्सन भएको जानकारी दिए । ओ पोजेटिभ रगत लिएर आउनुस भनेर उनलाई पठाइयो । छिटो लिएर आउनुस बिरामीको अवस्था क्रिटिकल छ भनेर आफूलाई रगत लिन पठाएको उनले बताए । 

मलाई हिम्मत भएन राजकिशोरले भने,‘भाई रामहरीलाई रगत लिन पठाए । त्यो रगत लिएर अस्पतालका चिकित्सकलाई दिए । सेकेन्ड सेकेन्डमा औषधिको पुर्जा थमाउँथे, हामी ल्याएर दिन्थ्यौं उनले भने,‘रातभर औषधि कति ल्याएर दियौं गन्ती छैन । बिहान करिब ८ बजे चिकित्सकले हामीले गर्न सक्ने गर्यौ अब हाम्रो नियन्त्रण बाहिर गईसक्यो भनेपछि राजकिशोर मुर्छा परे । अस्पतालले रेडक्रसलाई दोष औल्याउँदै उक्त ब्लड ट्रान्स्फ्यूजनमा लापरबाही गर्दा बिरामीको ज्यान गएको जिकिर गरिरहेका छन् । यता रेडक्रस जनकपुर प्रशासनका आशाराम यादवका अनुसार अस्पतालले सुरुमा बी पोजेटिभ लेखेर पठायो पछि ओ पोजेटिभ । हामीले जे लेखेर पठायो त्यहीअनुसार रगत दिएर पठाएको उनको दावी छ ।

रेड क्रसले रगत समूह नमुनासाथ यकीन गरेर मात्र पठाउनुपर्ने प्रावधान छ । रेडक्रसको ब्लड बैंकले यकीन गरेर पठाएको समूहलाई अस्पतालहरुले विश्वासका साथ प्रयोग गर्छन् । यस केसमा रेडक्रस ब्लड बैंकको लापरबाही देखिएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।  

घटनाको छानबिन गरेर दोषीउपर कारबाही भएमात्र शव बुझ्ने मृतक परिवारको अडानका कारण शव अस्पतालमै छ । उपचारमा लापरबाही गर्ने चिकित्सक र फरक रगत समूह दिने रेडक्रसउपर कारबाहीको माग पीडित पक्षको छ ।

प्रकाशित: २३ श्रावण २०७७ १५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App