८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

६० वर्ष कटेका नागरिकको प्रश्न : नेताहरूलाई चाहिँ कोरोना लाग्दैन ?

फाइल तस्बिर

सोमबार दिउँसो ताहाचल निवासी ६० वर्षका एक व्यक्ति विभिन्न बहाना बनाएर पटकपटक घरबाट बाहिर निस्किरहेका थिए । उनका छोराले उनलाई कोरोना संक्रमणको बढी जोखिम हुने भएकाले सरकारले ६० वर्ष माथिका मानिसलाई घरबाहिर ननिस्कनू भनेको छ भनेर सम्झाए । 

तर ती व्यक्तिले छोरालाई उल्टै हकारेर भने, ‘हाम्रा देशका वृद्धा नेताहरू बाहिर निस्किँदा कोरोना नलाग्ने, अनि म निस्किँदाचाहिँ लाग्ने ! ती रोगी नेताहरूभन्दा त मै बलियो छु । तेरो सुझाव तैसँग राख ।’ बुबाको यस्तो जवाफ सुनेर छोरा चुप लाग्न बाध्य भए ।  

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले केही दिनअघि मात्र ६० वर्षमाथि र १२ वर्षमुनिकालाई घरबाट बाहिर ननिस्कन भन्दै सतर्कताको नयाँ नियम लागू गरेको छ ।  

तर जनताका आदर्श मानिने प्रधानमन्त्री, मन्त्रीदेखि नेतासम्म, संवैधानिक निकायका पदाधिकरीहरूले त्यो नियम पालना गरिरहेका छैनन् । अदालतका न्यायाधीश पनि सबै ६० वर्ष माथिकै छन् । उनीहरू अदालत गइरहेकै छन् । प्रधानमन्त्री पनि विभिन्न नेताका घरमा धाइरहेकै छन् । तर उनीहरूले उच्च सतर्कता अपनाएका होलान् । तर उनीहरूका क्रियाकलापले जनतामा नकारात्मक असर पारिरहेको छ । सरकारले जनताको हितमा ल्याएको नियम प्रभावहीन बनिरहेको छ । ज्येष्ठ नागरिक खुरुखुरु घरबाहिर निस्किरहेका छन् ।  

‘नेकपाभित्रै सचिवालयमै सबै ६० वर्ष माथिकै नेता हुनुहुन्छ भने स्थायी कमिटीमा पनि  केही बाहेक सबै ६० वर्षमाथिकै छन्। कोरोनाले को मन्त्री, को सामान्य जनता चिन्दैन । जसलाई पनि यसको संक्रमण हुन सक्छ । जनताले उनीहरूलाई आफ्नो आदर्श मानेका हुन्छन् । त्यही भएर नियम बनाउनेले पहिला पालना गर्नुपर्छ ।’ 

६० कटेका नेता तथा मन्त्री बिरामी कार्यकर्ता भेट्न अस्पताल पुग्ने, कार्यकर्ताका घरघर धाउने, कार्यक्रम भन्दै एक जिल्लाबाट अर्को जिल्ला आउजाउ गर्नेजस्ता गतिविधि देखेकै कारण आम जनताले सरकारले लागू गरेको नियम पालना नगरेको अधिवक्ता एवं नेकपाकी पूर्वविद्यार्थी नेता राधिका खतिवडा बताउँछिन् । आदर्श मानिएका नेता तथा सरकारका उच्चपदस्थ व्यक्ति नै आफैँले बनाएको नियममा नरहेकाले त्यसको प्रभाव सर्वसाधारणमा परेको उनको  ठम्याइ छ । 

सत्तारूढ नेकपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रमुख दलमा बढीजसो ६० वर्ष माथिकै नेता पदमा छन् ।  यसैगरी अदालत, अख्तियार, लोकसेवा आयोग, मानव अधिकार आयोग, निर्वाचन आयोग, महिला अयोगलगायत संवैधानिक निकायका पदाधिकारी पनि प्रायः ६० वर्ष माथिकै छन् ।  

‘हाम्रो नेकपाभित्रै सचिवालयमै सबै ६० वर्ष माथिकै नेता हुनुहुन्छ । भने स्थायी कमिटीमा पनि केही युवा नेताबाहेक सबै ६० वर्षमाथिकै छन्,’ अधिवक्ता खतिवडाले नागरिकसँग भनिन्, ‘कोरोनाले को मन्त्री, को सामान्य जनता चिन्दैन । जसलाई पनि यसको संक्रमण हुन सक्छ । जनताले उनीहरूलाई आफ्नो आदर्श मानेका हुन्छन् । त्यही भएर नियम बनाउनेले पहिला पालना गर्नुपर्छ ।’ उनले थपिन्, ‘ सरकारले उहाँहरूलाई घरमै आराम गर्ने वातावरण बनाइदिनुपर्छ ।   काम गर्नैपर्छ भने पनि जुम वा अनलाइनका माध्यम अपनाउनु राम्रो हुन्छ ।’  

सरकारले एकातिर ६० वर्ष माथिका नागरिकलाई घरभित्रै बस भनिरहेको छ भने अर्कातिर त्यही उमेरका पदाधिकारीलाई काममा लगाइरहेको छ । ‘नियम सबैका लागि हो भने उहाँहरूलाई आराम दिनुपर्छ,’ खतिवडाले भनिन्, ‘सरकारले उहाँहरूको साटो युवा पुस्तालाई ल्याउनुपर्छ ।’

भारतीय सञ्चारमाध्यममा कोरोनासम्बन्धी जनचेतनामूलक सन्देश दिने अभिनेता अमिताभ बच्चनलाई नै कोरोना संक्रमण भएपछि अहिले उनको विज्ञापन हटाइएको छ । विज्ञापनमा उनले कोरोनाबाट बच्न पटकपटक हात धुनुपर्ने, मास्क र सेनिटाइजर गर्नुपर्नेजस्ता  जनचेतना फैलाइरहेका थिए । तर उनलाई नै कोरोना लागेपछि उनको त्यो विज्ञापनको आलोचना हुन थाल्यो र अन्ततः सञ्चारमाध्यमबाट हटाइयो ।  

भारतीय सञ्चारमाध्यममा कोरोनासम्बन्धी जनचेतनामूलक सन्देश दिने अभिनेता अमिताभ बच्चनलाई नै कोरोना संक्रमण भएपछि अहिले उनको विज्ञापन हटाइएको छ ।

अर्का नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्वअध्यक्ष नैनसिंह महर पनि सरकारले बनाएको नियम प्रभावकारी बनाउन पहिले सरकारमै बसेका मानिसले पालना गरेर देखाउनुपर्नै बताउँछन् । ‘स्कुलमा शिक्षकले विद्यार्थीलाई चुरोट नखाऊ भनेर सिकाउने तर कक्षा बाहिर निस्केर आफैंले तानेजस्तो भएको छ,’ महरले नागरिकसँग भने, ‘हाम्रै पार्टीमा क्रियाशील थुप्रै नेताज्यू ६० वर्ष माथिकै हुनुहुन्छ । विभिन्न कार्यक्रममा भाग लिएर काम गरिरहनु नै भएको छ ।’ उनले थपे, ‘नियम बनाउनेले नै त्यो पालना नगरेपछि जनताले कसरी पालना गर्लान् ?’

तत्कालीन माओवादीनिकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष एवं हाल नेकपाबाट बागमती प्रदेशसभा सदस्य रत्न ढकालका अनुसार कोभिड उच्चस्तरीय समितिको सर्वेक्षणअनुसारै सरकारले कोरोना संक्रमणको जोखिममा रहेका १२ वर्षमुनि र ६० वर्ष माथिकालाई घरबाट बाहिर ननिस्कने नियम ल्याएको हो ।  

‘खासगरी राज्यको उच्च निकायमा रहेका व्यक्तिले नै गम्भीर रूपमा नियम पालना गरेको देखिएन,’ ढकाल भन्छन्, ‘मन्त्री तथा जनप्रनिधिहरू कार्यक्रम तथा नेताका घरघरमा हिँडिरहनुभएको छ ।’ उनले थपे, ‘जनतमा यसको नकारात्मक असर परिरहेको छ । अब सरकारका निकाय यसमा संवेदनशील बन्नुपर्छ ।’

प्रकाशित: २१ श्रावण २०७७ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App