८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोनासँग मिल्दो लक्षणका तीन जनाको एकै दिन मृत्यु

कोरोनासँग मिल्दो लक्षण भएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिका–५, राजगढ गाउँपालिका ६ र डाक्नेश्वरी नगरपालिका ९ का तीन जनाको वुधबार बिहान मृत्यु भएको हो।

एक महिनाअघि मलेसियाबाट फर्केका रुपनी गाउँपालिका–५ का ४५ वर्षीय युवक क्वारेन्टिनमा नबसेर सीधै घर पुगेका थिए। होम क्वारेन्टिनको नाममा घर बस्दै आएका उनमा एक सातादेखि ज्वरो, रुघाखोकीलगायतका स्वास्थ्य समस्या थियो अध्यक्ष हरेराम यादवले नागरिसँग भने,‘सुरुमा राजबिराजकै निजी क्लिनिकहरुमा उपचार गराए। तर निको नभएपछि मंगलबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुग्दा चिकित्सकले थप उपचारका लागि धरान रेफर गरिदिएको थियो, उनले भने,‘धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने बितिकै उनको मृत्यु भएको थियो।’

कोरोना संक्रमणको आशंकामा हामीले उनको शव अन्तिम संस्कार गर्न रोकेर जिल्ला स्वास्थ्य कार्यालयलाई जानकारी गरायौं उनले भने,‘स्वास्थ्य कार्यालयले उनको शवको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको छ।’ विदेशबाट फर्केर घर बस्दै आएका उनको पिसिआर विधिबाट परीक्षण भएको थिएन। पटक पटक पिसिआर परीक्षणका लागि बोलाउँदा उनी पन्छिने गरेको अध्यक्ष यादवले बताए।

जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले स्वाब संकलनपछि मात्र शव अन्तिम संस्कार गर्न दिइने बताए। ‘स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइसकिएको छ,’ उनले भने।

बुद्यबार बिहान राजविराजस्थित छिन्नमस्ता अस्पतालमा पनि कोरोनासँग मिल्दो लक्षण भएका दुई जनाको मृत्यु भएको छ। दुबै जना मृतकको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइसकिएको स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले बताए। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७५ वर्षीय बृद्ध र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए। दुवै जनामा शंकास्पद लक्षण देखिएकाले अन्तिम संस्कार रोकी स्वाब संकलनका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए।

 

प्रकाशित: २१ श्रावण २०७७ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App