७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

ब्युँतिए डाइनोसर युगका सूक्ष्म जीव

पृथ्वीमा जीवनलाई आधार दिने सूर्यको प्रकाश पनि नपुग्ने सामुद्रिक पिँध उजाड र बाँझो देखिन्छ। तर यो दृश्यले एउटा कुरा लुकाएको हुन्छ, त्यो हो, त्यहाँ रहेका ब्याक्टेरियाको पारिस्थितिकीय प्रणालीको मजबुत उपस्थिति। विश्वका सूक्ष्म जीवको कुल ‘बायोमास’ को ४५ प्रतिशत अंश समुद्रको यही दुर्गम पिँधमा पाइन्छ। यो परिस्थितिकीय प्रणालीलाई ‘सामुद्रिक हिमपात’ले आधार दिएको हुन्छ, जसअन्तर्गत समुद्र सतहमा प्रकाश संश्लेषण प्रक्रियाले बनेका अमृतसरहका पोषणयुक्त कण लगातार समुद्रको पिँधमा झर्छन्।

त्यसो त सबै ‘हिमपातजन्य’ पोषण तत्व पचाउन सकिने हुदैनन्। यी पचाउन नसकिने भाग तहमाथि तह गरेर समुद्रको पिँधमा जम्मा हुन्छन्। यसक्रममा जीवित सूक्ष्म अणु त्यही तहमा पुरिँदै जान्छन्।

जापानको ‘मरिन–अर्थ साइन्स एन्ड टेक्नोलोजी’ का मोरोनो युकीको नेतृत्वमा अनुसन्धानकर्ताको एक टोलीले यी समाधिस्त ब्याक्टेरिया कसरी बाँच्न सक्छन् भन्ने विषयमा अनुसन्धान गरेको छ। अमेरिकाको रोडे आइल्यान्ड विश्वविद्यालयका स्टेभेन डिहोन्ड्टसमेत समावेश रहेको यो टोलीले सन् २०१० देखि समुद्रमा ‘ड्रिलिङ’ गरेर योे अध्ययन गरेको थियो।  

हालै नेचर कम्युनिकेसनमा प्रकाशित यो अध्ययनको नतिजा आश्र्चयजनक रहेको छ। अनुसन्धानकर्ता १० करोड वर्षदेखि निष्क्रिय ब्याक्टेरियालाई फेरि ब्युँताउन सफल भएका छन्।

धेरैजस्तो यस्ता जीवाणु पुरिँदै जाँदा मर्छन्। तर कतिपय जीवाणु ‘स्टेट अफ डोरमेन्सी’ अर्थात् निष्क्रियताको चरणमा प्रवेश गर्छन्, यति बेला उनीहरुको पाचन प्रक्रिया धेरै हदसम्म सुस्त हुन्छ तर शून्य हुँदैन। उनीहरु यस्तो अवस्थामा धेरै समयसम्म रहन सक्छन्। तर कति समयसम्म रहन्छन् भन्नेमा वैज्ञानिकको एक मत छैन।

अन्वेषणले पृथ्वीमा ब्याक्टेरियाको उत्पत्ति क्रमबारे थप प्रकाश पार्ने अपेक्षा गरिएको छ। यस्तै सौर्यमण्डलका मंगललगायतका अन्य ग्रहमा जीवनको खोज गरिरहेका वैज्ञानिकको मनोबल पनि बढेको छ।

प्रशान्त महासागरको सतहदेखि ६ हजार मिटर मुनि पुगेर यो अध्ययन गरिएको हो। बढी गहिराईका कारण ‘ड्रिलिङ’ गर्न निकै कठिन भएको थियो। तर खोज अभियानले समुद्रका पिँधमा रहेका चट्टानमुनि रहेको थेग्य्रान संकलन गरेको थियो। कतिपय स्थानमा चट्टानको सय मिटरभित्रबाट यस्ता वस्तु संकलन गरिएको थियो। कतिपय वस्तु १० करोड वर्षअघि निर्मित चट्टानबाट लिइएको थियो। त्यति बेला पृथ्वीमा डाइनोसर युग थियो।

यो अध्ययनले सबैभन्दा पुरानो ‘सेडिमेन्ट’ (थिग्रिएका वस्तु जमी बनेको चट्टान) मा पनि केही ब्याक्टेरिया उपस्थित रहेको देखायो।  त्यसपछि प्रश्न के उठ्यो भने के यी ब्याक्टेरिया जीवित छन् अथवा मरिसकेका छन् ? यसको उत्तर पाउन अनुसन्धानकर्ताले यी नमुनालाई उष्मायन (इन्कुवेसन) गरे। यस क्रममा निष्क्रिय त्यस्ता सूक्ष्म जीवलाई सक्रिय पार्न कार्बन र नाइट्रोजन पर्याप्त मात्रामा भएका यौगिक खुवाइयो। अध्ययनको नतिजाले डा. मोरोनोलाई  हैरान बनायो। ‘सुरुमा मलाई विश्वास लागेन तर साढे १० करोड वर्षअघिका यी सेडिमेन्टमा कैद भएका ९९ प्रतिशत सूक्ष्म जीव जीवित भेटिए’, उनले भने।

एक करोड ३५ लाख वर्ष पुरानो एक नमुनामा अनुसन्धानकर्ताले माइक्रोस्कोपबाट हेर्दा ब्याक्टेरियासँग मिल्दोजुल्दो ‘आर्चिया’ समूहका सूक्ष्म जीवाणु पनि फेला पारे। यिनको ‘बायोकेमेस्ट्री’ ब्याक्टेरिया भन्दा धेरै फरक भएकाले वैज्ञानिकले यिनलाई अलग रुपमा परिभाषित गरेका थिए।

भौगर्विक हिसाबले पृथ्वीको ‘केटासियस’ अवधिका यी जीवित जीवांश पत्ता लाग्नु आफैंको असाधारण घटना हो। धेरै समयअघिका यी जीवमा कोष विभाजन तथा वृद्धि भयो अथवा भएन, यसै भन्न सकिन्न। तर त्यस्तो भएको भए पनि पोषक तत्वको अभावका कारण त्यो नगण्य मात्रामा भएको हुनुपर्छ। त्यस्तै एउटा तहबाट अर्काे तहमा यिनको बसाइँ सराइ पनि भएको देखिँदैन।

यो अन्वेषणले पृथ्वीमा ब्याक्टेरियाको उत्पत्ति क्रमबारे थप प्रकाश पार्ने अपेक्षा गरिएको छ। यस्तै सौर्यमण्डलका मंगललगायतका अन्य ग्रहमा जीवनको खोज गरिरहेका वैज्ञानिकको मनोबल पनि बढेको छ।  
(इकोनोमिस्टको अगस्त १ को प्रिन्ट संस्करणमा समावेश सामग्रीको अनुवाद)

प्रकाशित: १७ श्रावण २०७७ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App