२० श्रावण २०७७ मंगलबार
स्वास्थ्य

ज्वरो परीक्षण गर्न दश हजार खर्च

सामान्य ज्वारो आएर बिरामी भएका व्यक्तिले अब परीक्षण गर्नमात्रै १० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। सरकारले अनुमति दिएसँगै निजी ल्याबलाई कोरोना परीक्षण गर्न ५५ सय रुपैयाँ तिर्नुपर्ने अवस्था आएका बेला डेंगीसमेत फेला पर्न थालेकाले परीक्षण शुल्क थपिने देखिएको छ। कोरोना परीक्षणका लागि ५५ सय तिरिरहेका बिरामीको डेंगी परीक्षणमा थप दुई हजार र अन्य थप परीक्षणका लागि गरेर ज्वरो परीक्षणका लागि मात्रै १० हजार रुपैयाँ लाग्ने इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उच्च अधिकारीको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न आएका व्यक्तिमा डेंगी भेटिएसँगै कोरोनासँगै डेंगी पनि फैलिएको सरुवा रोग विशेषज्ञहरुको अनुमान छ। अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका काठमाडौं उपत्यकामा समेत डेंगी, मलेरिया (औलो) का बिरामी फेला परेकाले कोभिड–१९ सँगै अब डेंगीलगायतका कीटजन्य रोगको समेत परीक्षण गर्नुपर्ने अवस्था आएको बताए।

कोभिड १९ को आशंकामा परीक्षण गर्न आएका बिरामीमा डेंगी देखिएको र क्वारेन्टाइनमा बसेका ४३ जनामा मलेरिया फेला परेकाले थप परीक्षण गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ। इपिमिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार माघ यता ४३ जना क्वारेन्टाइनमा बसेका व्यक्तिरुमा मलेरिया फेला परेको हो ।  

ज्वरो आउनासाथ चिकित्सकहरूले कोरोना परीक्षण गराउँने र डेंगीलगायतका अन्य किटजन्य रोगकोसमेत परीक्षण गर्नुपर्ने हुनाले  एउटा व्यक्तिले ज्वरोको परीक्षणका लागि मात्रै करिब १० हजार खर्च गर्नुपर्ने देखिएको डा. बाँस्तोलाले बताए। ‘अहिले कोरोना भाइरस पाँच हजार पाँच सयमा परीक्षण हुने भएकोमा अब डेंगी पनि फेला पर्न थालेकाले एउटा ज्वरोको परीक्षणमा मात्रै १० हजारभन्दा बढी खर्च हुन पुग्ने देखिन्छ , हिजो कोभिड मात्रै हेर्दै आएका प्रयोगशालाले अब डेंगी, कालाजार र मलेरियाको समेत परीक्षण गर्नुपर्ने भएको छ’, उनले भने  ‘ज्वरो आउँन साथ कोभिड मात्रै होइन अन्य रोगको पनि परीक्षण गर्नुपर्ने हुनाले ज्वरो आएका व्यक्तिलाई निकै चर्को शुल्क लाग्ने देखिएको छ।’  

पछिल्लो समय कालाजार, मलेरिया, डेंगीका बिरामी पहाड र हिमालमा फेला पर्न थालेका छन्। यातायात, वातावरणीय प्रदुषण र जलवायु परिवर्तन कारण किटजन्य रोग हिमाल चढ्न थालेको विज्ञको भनाइ छ। 

देशभर मनसुन सुरु भएकाले बाढीपहिरो र डुबान हुँदै गएको छ। गर्मी पनि बढ्न थालेसँगै किटजन्य रोगको जोखिम बढ्ने चिकित्सकको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुुसार कालाजार, डेंगी, मलेरियाका बिरामी देखिन थालेका छन्। अब संक्रमणको दर पनि बढ्दै जाने विज्ञको भनाइ छ।  तराईमा मात्रै देखिने मलेरिया, कालाजार, डेंगी बिस्तारै पहाड हँुदै हिमालमा समेत देखिन थालेको महाशाखाका अधिकारीले बताए। महाशाखाकाअनुसार गर्मीसँगै वर्षाको पानीले किटाणु संक्रमित हुने मौका पाउँछन्, त्यहीँ कारणले गर्दा लामखुट्टे र भुसुनाको टोकाइले हुने रोग कालाजार, मलेरिया, डेंगीका बिरामी पहाड र हिमालमा फेला पर्न थालेका छन्। यातायात, वातावरणीय प्रदुषण र जलवायु परिवर्तन कारण किटजन्य रोग हिमाल चढ्न थालेको विज्ञको तर्क छ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका अनुसार केही वर्षदेखि पहाडी जिल्ला र हिमाली जिल्लामा समेत यस्ता रोग देखापर्न थालेका छन्। महाशाखाका अनुसार मलेरिया रोग सन् २०२२ सम्ममा निवारण गर्ने सरकारी लक्ष्य रहेको छ। त्यस्तै कालाजार रोग सन् २०२० को अन्तिमसम्म निवारण गर्ने लक्ष्य रहेको छ। तर, यी रोगहरू तराईबाट पहाड हुँदै हिमाल तर्फ उक्लन थालेकाले निवारणमा सरकारलाई थप चुनौती बढ्दै गएको महाशाखाका अधिकारीको भनाइ छ।  

महाशाखाको तथ्यांकअनुसार ७ महिनायता ३५ जिल्लाका एक सय ९ जनामा कालाजार देखिएको छ। त्यस्तै ३७ जिल्लाका एक सय ३२ जनामा डेंगी देखिएको छ, भने एक वर्षमा ४९ जिल्लाका ६ सय २८ जनामा मलेरिया देखिएको छ।  

भोजपुर, खोटाङ, ओखलढुंगा, काठमाडौं, मकवानपुर, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, प्युठान, दैलेख, हुम्ला, जुम्ला, कालिकोट, सुर्खेत, अछाम, बैतडी, बाजुरा, डडेलधुरा र दार्चुलालगायतका पहाडी जिल्लामा यी रोग देखिन थालेको छ। पुसदेखि मात्रै कालाजारको संक्रमित संख्या एक सय ९ जना रहेका छन्। पछिल्लो एक हप्तामा मात्रै १४ जनामा मलेरिया संक्रमण पुष्टि भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७७ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App