२० श्रावण २०७७ मंगलबार
स्वास्थ्य

कोरोना खोप कहिलेसम्म आउला ?

नेपालसम्म आउन एक वर्ष लाग्ला: स्वास्थ्य प्रवक्ता

सात महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको उपचार र रोकथामका लागि हालसम्म कुनै औषधि र खोपको आधिकारिक घोषणा भएको छैन । यो रोगको उपचारका लागि विभिन्न औषधि सहयोगी भएको दाबी गरिएको छ तर हालसम्म कुनै निश्चित औषधिको औपचारिक र आधिकारिक अनुमोदन भएको छैन । कोभिड–१९ को उपचारमा ‘रेमडेसिभिर’, ‘डेक्सामिथासोन’ लगायत अन्य एन्टिभाइरल औषधि कतिपय देशले प्रयोगमा ल्याएका छन् ।  

यसैबीच यो संक्रामक रोगका रोकथामका लागि सुरक्षित र प्रभावकारी खोप निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा सुरु भएको छ । विश्वका करोडौंलाई संक्रमण र लाखौंको ज्यान लिएको यो रोगविरुद्धको खोप निर्माण गर्न औषधि उत्पादक कम्पनीका लागि इज्जत र प्रतिष्ठाको विषय बनेको छ । मुनाफाका हिसाबले पनि यो उत्तिकै आकर्षक छ । यो खोप निर्माणको दौडमा विश्वका प्रतिष्ठित औषधि कम्पनीमात्र होइन, ससाना बायोटेक फर्म पनि छन् ।  

यो शताब्दीकै सबैभन्दा ठूलो संक्रामक रोग मानिएको यो रोगको खोप कहिलेसम्म बन्ला भन्ने आम चासो छ भने नेपालजस्तो अति कम विकसित देशमा खोप आइपुग्न कति समय लाग्ला भन्ने जिज्ञासा अर्काेतिर छ । यो सातासम्मको प्रगतिलाई समीक्षा गर्दा खोप निर्माणको तेस्रो तथा अन्तिम चरणमा विश्वका पाँच औषधि उत्पादक कम्पनीहरू पुगेका छन् । त्यसमा अमेरिकी कम्पनी मोर्डना, चिनियाँ कम्पनी सिनोभ्याक, जर्मन कम्पनीको सहकार्यमा अमेरिकी कम्पनी फाइजर, अक्सफोर्ड विश्वविद्यालय र फ्रान्सेली कम्पनी सानोपी रहेका छन् ।

गत सोमबारदेखि अमेरिकी कम्पनी मोर्डनाले खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ । त्यसअन्तर्गत ३० हजार स्वयंसेवीमा परीक्षण सुरु भएको छ । सुरक्षा र प्रभावकारिताका हिसाबले यो परीक्षणको नतिजा कस्तो हुने भन्ने आमचासो छ । अध्ययनका क्रममा सहभागी ३० हजारमध्ये १५ हजारलाई औषधिसहितको खोप र अर्काे १५ हजारमा औषधिबिनाको ‘डमी’ खोप दिएर दुवै नतिजालाई समीक्षा गरिने कम्पनीले जनाएको छ ।

‘हामी यो परीक्षण सफल हुनेमा आशावादी छौं । यो वर्षको अन्त्यसम्ममा तथ्यांकले यसलाई प्रमाणित गर्नेछन्,’ मोर्डना कम्पनीका अध्यक्ष डा. स्टेफान होगेलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था एपीले सोमबार जनाएको थियो ।  

यसैगरी कोरोना भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेको अर्काे कम्पनी सिनोभ्याक हो । यो चिनियाँ बायोटेक कम्पनीले गत सातादेखि ब्राजिलका सात हजार स्वयंसेवीमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत यिन वाइडोङले अमेरिकी साप्ताहिक पत्रिका ‘टाइम’लाई भनेका छन्, ‘प्रारम्भिक तथ्यांकले हाम्रो परीक्षण ८० प्रतिशत सफल हुने देखाएको छ ।’  

सन् २००२ देखि २००३ सम्म फैलिएको तथा सात सय ७४ मानिसको ज्यान लिएको सार्स महामारी रोक्न सिनोभ्याकले भ्याक्सिन बनाउन थालेको थियो । भ्याक्सिन परीक्षणको पहिलो चरणमा पुग्ने कम्पनी सिनोभ्याकमात्रै थियो । अकस्मात् महामारी आफैं हराएकाले सिनोभ्याकले अनुसन्धान रोकेको थियो । त्यसले गर्दा कम्पनीलाई ठूलो घाटासमेत भएको थियो । कम्पनीले वार्षिक कोरोना खोपका ३० करोड डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।

अर्काे अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले जर्मनको वाओएनटेकसँगको सहकार्यमा खोप निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । कम्पनीले पनि अर्काे अमेरिकी कम्पनी मोर्डनाले झैं ३० हजार स्वयंसेवीमा परीक्षण गर्न लागेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । १८ देखि ८५ वर्षका मानिसमा गरिने यो परीक्षण अमेरिका र विश्वका विभिन्न राष्ट्रका १ सय २० स्थानमा गरिनेछ । यो परीक्षण प्रभावकारी देखिए खोप अनुमोदनका लागि अमेरिकी नियमनकारी निकायमा अक्टुबरको सुरुमै प्रस्ताव लग्ने तयारी कम्पनीको छ । ‘प्रस्तावित खोपले अनुमोदन पायो भने सन् २०२० को अन्त्यसम्ममा १० करोड डोज र सन् २०२१ को अन्त्यसम्ममा १ अर्ब ३ करोड डोज निर्माण गरिनेछ,’ फाइजरले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ ।  

यसैगरी बेलायतको अक्सफोर्ड विश्वविद्यालय पनि कोरोनो भाइरसविरुद्धको खोप निर्माणमा अग्रपंक्तिमा छ । गत साता विश्वविद्यालयले खोप सुरक्षित र प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने देखिएको दाबी गरेको थियो । १ हजार ७७ जनामा परीक्षण गरिएको सो भ्याक्सिनले भाइरसविरुद्ध ‘एन्टिबोडी’ निर्माण र रोगसँग लड्ने ‘टी–सेल’ बनाउन सहयोग गरेको पाइएको छ । यो परीक्षणको निष्कर्ष आशाजनक रहेको तर यसले भाइरसबाट पूर्ण रूपमा सुरक्षित पार्न सक्ने वा नसक्ने विषयमा थप बृहत् परीक्षण आवश्यक रहेको बताइएको छ । बेलायतले १० करोड भ्याक्सिनको डोज निर्माणका लागि अर्डर दिइसकेको छ । खोपको अन्तिम चरणको परीक्षणअन्तर्गत थप १० हजारजनामा यो भ्याक्सिनको परीक्षण गरिने तयारी छ ।

खोप निर्माणमा प्रतिस्पर्धामा अन्तिम चरणमा पु-याउनेमा फ्रान्सेली कम्पनी सानोपी र जिएसके पनि हुन् । यी कम्पनीले ६ करोड खोपका डोज उपलब्ध गराउन बेलायतसँग बुधबार सम्झौता गरेका छन् ।

नेपालले अहिलेदेखि लबिङ गर्नुपर्छ
संक्रामक रोग विशेषज्ञ अनुप सुुवेदी कोरोना भाइरसको खोप नेपालमा सकेसम्म छिटो ल्याउन अहिलेदेखि नै गृहकार्य र लबिङ गर्नुपर्ने ठान्छन् । ‘निम्न आय भएका देशहरूका लागि खोपको वितरणको अन्तर्राष्ट्रिय प्रयास समग्र रूपमा हुन्छ,’ डा. सुवेदी भन्छन्, ‘त्यस्तो बेला नेपालले कसरी अन्तर्राष्ट्रिय ध्यान आफूतर्फ तान्न सक्छ, त्यो महत्वपूर्ण रहन्छ ।’  

नेपालले आफूसँग राम्रो सम्बन्ध भएका देश तथा निकायसँग सम्पर्क र छलफल सुरु गर्नुपर्नेमा उनी जोड दिन्छन् । ‘त्यसका लागि अहिलेदेखि नै गृहकार्य र तयारी थाल्नु आवश्यक हुन्छ,’ सुवेदी भन्छन्, ‘नेपालले भ्याक्सिन उपलब्ध हुँदा कसरी वितरण गर्ने, कसलाई सबैभन्दा पहिले दिने भन्ने विषय समेटेर खोप वितरण योजना बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी गराउँदा एउटा माहोल बन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बजारमा कोरोना खोप आउन कम्तीमा पनि एक वर्ष लाग्ने तर्क गर्छन् । ‘खोपको वितरण कुनै देशलाई प्राथमिकताभन्दा पनि समान व्यवहारका आधारमा हुन्छ,’ उनी भन्छन्, ‘हामी विश्व स्वास्थ्य संगठन र खोप वितरण गर्ने अन्तर्राष्ट्रिय एलायन्स गाभीसँग निरन्तर सम्पर्क र छलफलमा छौं ।’ निम्न आय भएका राष्ट्रमा आधारभूत खोपको पहुँच पु-याउन सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा गाभीको स्थापना भएको हो ।  

विश्व स्वास्थ्य संगठनले पनि खोपको न्यायोजित वितरणका लागि गृहकार्य थालेको बताएको छ । अघिल्लो साताको मंगलबार आयोजित एक वेबिनारमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की प्रमुख वैज्ञानिक डा. सौम्य स्वामिनाथनले भ्याक्सिनको विकास भइसकेपछि त्यसको ‘न्यायोचित र निष्पक्ष वितरण’ अत्यन्त महत्वपूर्ण हुने बताएकी थिइन् ।  

‘उच्च आय भएका मुलुकले भ्याक्सिन पाउने र निम्न आय भएकाले कुरेर बस्नुपर्ने स्थिति हुनेछैन । हामीले यसका लागि गृहकार्य गरी संयन्त्रको निर्माण गर्दैछौं, जसले खोप कसले र कहिले पाउने भन्ने कुरालाई थप प्रस्ट पार्नेछ,’ उनको भनाइ थियो ।  

प्रकाशित: १५ श्रावण २०७७ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App