२० श्रावण २०७७ मंगलबार
स्वास्थ्य

स्वास्थ्य सुरक्षामा हेलचक्र्याइँ नगर्न प्रशासनको आग्रह

लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढ्ने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ । लकडाउन खुले यता स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा हेलचक्र्याइँ भइरहेको भन्दै प्रशासनले बुधबार सूचना जारी गरेर कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन सचेत गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले जारी गरेको सूचनामा न्यूनतम सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाइ हिँड्ने, अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक निकाय वा संस्थाले पनि स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने/गराउनेतर्फ बेवास्ता गर्नेक्रम बढ्दै जाँदा संक्रमण फैलिने त्रास बढेको उल्लेख छ । ‘केही सेवा र कार्यहरु सूचारु गराउन लकडाउन खुला एबं सहजीकरण गरिएकामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने/गराउनेतर्फ बेवास्ता गर्नेक्रम बढ्दै गएकाले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको छ,’ प्रशासनको सूचनामा भनिएको छ, ‘तसर्थ व्यक्ति, घर, गाउँ, समाज हुँदै हामी सबैलाई कोरोना भाइरसको संक्रमण हुने प्रवल सम्भावनालाई मध्यनजर गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न गराउन जानकारी गराइन्छ ।’

सुरक्षाका मापदण्ड पालना नगरी हिँड्डुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने प्रशासनको चेतावनी छ । मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, न्यूनतम दुई मिटरको भौतिक दूरी कायम गर्ने, पटक–पटक सावुन पानीले हात धुने एबं मानव स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड अनिवार्य पालना गर्ने शर्तमा साउन ६ गतेदेखि लकडाउन अन्त्या गरिएको भए पनि हाल संक्रमणबाट बच्ने सावधानीमा बेवास्ता हुन थालेको प्रशासनले जनाएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App