८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रदेश १: कोरोना विपदमा अकर्मण्य बन्दै सरकार

प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै फैलिएको छ। प्रदेश राजधानी विराटनगरमा दिनहुँ संक्रमितको संख्या बढिरहँदा संक्रमित स्वच्छन्द रूपमा बजार डुलिरहेको समेत भेटिएको छ।  

अवस्था भयावह बन्दै गए पनि आफ्नो कमजोरी छोप्ने अनेक बहाना खोजिरहेका दुवै तहका सरकार ‘समुदायसम्म संक्रमण विस्तार नभएको’ झुटो दाबी गरेर समय कटाइरहेका छन्। यति मात्र होइन, आपसमा आरोप–प्रत्यारोपमा उत्रिएर विपद्मा अकर्मण्य बनेको उदाहरण व्यावहारमै देखाइरहेका छन्।  

केही दिनयता संक्रमण दर ह्वात्तै बढेपछि सामाजिक विकास मन्त्रालयले मंगलबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो । मन्त्री र सचिवहरूको समेत उपस्थिति रहेको कार्यक्रममा विराटनगर महानगरका स्वास्थ्य महाशाखाप्रमुख  रमेश कार्कीले कडा भाषा मात्र प्रयोग गरेनन्, सरकारलाई चुनौती नै दिए।   ‘प्रदेश सरकारको कामप्रति मेरो आपत्ति छ,’ उनले भने, ‘कोसी अस्पतालमा शुल्क लिएर (प्रदेशको पहलमा) पिसिआर जाँच सुरु भएछ। तर, त्यहाँ जँचाउने कोही पनि क्वारेन्टिनमा छैनन्, स्थानीय र प्रदेश सरकारको सम्पर्कमै छैनन्।’ यसले समुदायमा संक्रमण विस्तार गरेको आरोप लगाउँदै उनले सरकारले स्थानीय तहसँग समन्वय नगरेको बताउँदै थपे, ‘तपाईलाई संक्रमण रहेछ, अस्पताल जानुस् भनेपछि मात्र थाहा पाइरहेका छन्। यसलाई व्यवस्थित गरौं।’  

उद्योग संगठनको सभाहलमा उनले यसो भन्दै गर्दा त्यहाँबाट नजिकै रहेको महानगर कार्यालयमा भने एक जना कोरोना संक्रमित आफ्नो रिपोर्ट माग्न आइपुगेका थिए। विराटनगर–३ का ती संक्रमित सोझै महानगरको स्वास्थ्य महाशाखा पुगे र सोधे, ‘मेरो रिपोर्ट आयो कि आएन होला हेरिदिनुस् न !’ कर्मचारीहरूले रिपोर्ट हेरे, उनलाई संक्रमण पुष्टि भएको थियो।  

महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीका अनुसार रिपोर्ट खोज्दै कार्यालयमै आइपुगेका ती व्यक्ति क्वारेन्टिन बस्नैपर्ने प्रावधान मिचेर आएका थिए। उनले संक्रमितलाई र उनका प्रमुखले प्रदेश सरकारलाई दोष थोपर्ने प्रयास गरे पनि महानगरले लापरबाही गरेको यहाँ प्रस्ट हुन्छ। ‘स्वाब लिएपछि क्वारेन्टिनमा बस्नैपर्ने हो,’ स्वास्थ्य निरीक्षक अलीले भने, ‘यसले त ज्यादै जोखिम बढायो।’ स्वाब लिएपछि महानगरले उनलाई सुरक्षित रूपमा राख्नुपर्ने हुन्थ्यो। तर, स्वाब लिने, व्यवस्थापनमा ध्यान नदिने महानगरको शैलीले आतंक बढाएको छ। संक्रमित व्यक्ति महानगर कार्यालय आउँदा परिसरमा भिडभाड नै थियो। कर्मचारीले तत्कालै एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पठाएका थिए।  

स्थानीय तहले यो हदसम्मको लापरबाही देखाइरहँदा प्रदेश सरकारको ताल पनि उस्तै छ। प्रदेश १ को राजधानी विराटनगरमा केही दिनयता ‘ट्राभल हिस्ट्री’ नै नभएकाहरूलाई पनि धमाधम संक्रमण पुष्टि भइरहेको छ। प्रदेश १ का अन्य जिल्लामा पनि संक्रमित संख्या लगातार बढिरहेको छ। मंगलबार मात्र प्रदेश १ मा २१ जना संक्रमित थपिएका छन्। जसमध्ये १७ जना मोरङका मात्र छन्।  

तीन ठाउँबाट भइरहेको निःशुल्क परीक्षणभन्दा बेग्लै कोसी अस्पतालमा शुल्क लिएर जाँच गर्न पाइने प्रबन्ध प्रदेशले गरेको छ। तर, त्यहाँ जाँच गर्न आउनेहरू न प्रदेशको सम्पर्कमा छन्, न महानगरको। ‘यहाँ आउनेहरूका कारण पनि जोखिम उच्च भएको छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘परिवारसहित स्वाब दिन आउँछन् अनि परिवारसहित घरतिर लाग्छन्। नेगेटिभ आए त ठिकै छ, पोजेटिभ रिपोर्ट आयो भने के हुन्छ अवस्था ?’ उनका अनुसार केहीको रिपोर्ट पोजेटिभ पनि आएको छ। ती उपचारमा छन् कि कता छन् कुनै टुंगो छैन।  

विराटनगरका अस्पताल र प्रहरी कार्यालयमा कोरोनाको संक्रमण तीव्र भएको छ।  अपतालका डाक्टरमा कोरोना पुष्टि भएसँगै विराटनगर अस्पताल र कोसी अञ्चल अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएको पत्ता लागेको थियो। विराटनगर अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी नै कोसी अञ्चल अस्पतालमा पनि काम गर्ने भएकाले दुवै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको संक्रमण फैलिएको हो। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फैलिएपछि उपचारका लागि आएका बिरामी पनि जोखिममा परेका छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीका कारण कोरोनाको संक्रमण गाउँगाउँसम्म पुगेको आँकलन हुन थालेको छ। तर, समुदायस्तरमै कोरोनाको परीक्षण गर्ने व्यवस्था भने अझैसम्म हुन सकेको छैन।

प्रकाशित: १४ श्रावण २०७७ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App