७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विदेशबाट आएपछि स्थानीय तहकाे १४ दिन क्वारेन्टिन

सरकारले विदेशबाट आउनेलाई स्थानीय तहको निगरानीमा होम क्वारेन्टिन राख्ने  मापदण्ड संशोधन गरेको छ। भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान पुनः सुरु हुने हँुदा जोखिमयुक्त देशबाट आएकालाई क्वारेन्टिनमा राख्न मापदण्ड संशोधन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मापदण्डअनुसार विदेशबाट आएकालाई स्थानीय तहको निगरानीमा मात्र होम क्वारेन्टिनमा पठाइनेछ। जसका लागि सम्बन्धित व्यक्तिको घरको भौतिक पूर्वाधार क्वारेन्टिनमैत्री हुनुपर्नेछ। हावा पास हुने र सूर्यको प्रकाश पर्याप्त भएको कोठा हुनुपर्नेछ। सकेसम्म स्नानघर, शौचालयको छुट्टै व्यवस्था हुनुपर्नेछ। यदि एकै ठाउँमा भए बेलाबेलामा निस्संक्रमण गर्नुपर्ने मापदण्ड तयार पारिएको छ।

त्यसैगरी क्वारेन्टिनमा बस्ने व्यक्तिले घरका सदस्य तथा आफन्तसँग भेटघाट गर्दा दुई मिटरको भौतिक दुरी कायम राख्नुपर्ने बताइएको छ। क्वारेन्टिनमा बस्ने व्यक्ति र परिवारका अन्य व्यक्तिले कुराकानी गर्दा अनिवार्य तीन तहको मास्क प्रयोग गर्नुपर्नेछ। यसका साथै पटकपटक साबुनपानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ। खोक्दा, हाच्छ्यूँ गर्दा रुमाल या टिस्यु पेपरले मुख छोप्ने, धेरै छोइने ठाउँ ढोका, मेसिनका ह्यान्डल, टेबुल तथा अन्य यस्तै सामग्री निस्संक्रमण गर्ने र घरका अन्य सदस्यले समेत साबुन–पानीले पटक–पटक हात धुने गर्नुपर्छ।  

यसका साथै यो अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, आवश्यक सामग्री परिवारका अन्य सदस्यले व्यवस्था गर्ने, मानसिक स्वास्थ्य राम्रो राख्न आफूलाई मन पर्ने पुस्तक पढ्ने, योगाभ्यास गर्ने, कुनै जिज्ञासा भए नेपाल सरकारले तोकेको ११३३ नम्बरमा फोन गर्ने र आफ्नो स्वास्थ्य अवस्थाबारे नजिकको स्वास्थ्य संस्थामा जानकारी दिने गर्नुपर्नेछ।  

‘यो अवधिमा अरूको सम्पर्कमा गएमा वृद्धवृद्धा तथा कमजोर प्रतिरक्षा क्षमता कमजोर भएकालाई कोरोना संक्रमणको जोखिम बढ्छ,’  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। यसअघिको मापदण्डले स्थानीय तहमा सामुदायिक क्वारेन्टिनको मात्र व्यवस्था गरेको थियो।  

६९ प्रतिशत बढी संंक्रमित निको  
नेपालमा कोरोना संक्रमित १७ हजार ९ सय ९४  जनामध्ये ६९.३४ प्रतिशत निको भएका छन्।  मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भई डिस्चार्ज भएका छन्। योसहित नेपालमा निको हुनेको संख्या १२ हजार ४ सय  ७७ पुगेको छ। हालसम्म नेपालमा ४० संक्रमितको मृत्यु भएको छ।  

मंगलबार ३ हजार ९ सय ६३ वटा नमुना परीक्षण भएकामा १ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंगलबार सबैभन्दा बढी धनुषामा २९ जना संक्रमित भेटिएका छन्। त्यसैगरी कञ्चनपुरमा २०,  महोत्तरीमा १३, काठमाडौंमा ८  र ललितपुरमा ९ जना संक्रमित भेटिएका छन्। नेपालका ३ वटा जिल्ला रौतहट, कैलाली र बाजुरामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ वटा जिल्ला कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।  

सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु गर्ने बाध्यात्मक निर्णय लिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। 

प्रकाशित: ७ श्रावण २०७७ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App