coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश प्रहरी अस्पताल भवन उद्घाटन

प्रदेश सरकारको बजेटबाट उपकरण खरीदको योजना

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले प्रदेश प्रहरी कार्यालयले निर्माण गरेको अस्पताल भवनको उद्घाटन गर्दै । तस्बिर : नागरिक

अस्पतालको भौतिक पूर्वाधार बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट उपकरण खरीद गर्ने लक्ष्य लिएको छ । आइतबार मात्रै अस्पताल भवनको उद्घाटन भएपछि आवश्यक उपकरण खरीद गर्ने योजना प्रदेश सरकारले बनाएको छ । गण्डकी प्रदेशमा प्रदेश प्रहरीले स्वास्थ्य क्षेत्रमा बामे सर्ने प्रयास गरेको उल्लेख गर्दै आगामी केही वर्षभित्रैमा प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माण गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित नेपाल प्रहरीकै आफनै जग्गामा अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेको हो । निर्माण गरिएको अस्पताल भवनको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले आइतबार उद्घाटन गरे । २०७४ चैत १७ गते शिलान्यास गरिएको अस्पताल भवन झण्डै २८ महिनाको निर्माण पुरा गरिएको हो । तत्कालिन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले शिलान्यास गरेका हुन् । नेपाल प्रहरीको यो अस्पताल दोस्रो हो । काठमाडौंको महाराजगन्जबाट स्वास्थ्य सेवा दिँदै आएको नेपाल प्रहरीले स्वास्थ्यको पहुँच सबै प्रदेशमा पुर्‍याउने उद्देश्यसहित गण्डकी प्रदेशमा पनि शुरुवात गरेको हो ।

‘गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा बामे सर्दै छौं,’ प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्रबावु रेग्मीले भने–‘अहिले ६ बेड छ । भविष्यमा १५ बेड बनाई सेवा विस्तार गर्ने लक्ष्य छ ।’ उनका अनुसार आफ्नै जग्गामा अस्पताको भौतिक पूर्वाधार तयार गरेर सामान्य स्वास्थ्य सेवा सुरु गरिएको हो । अगामी दिनमा उपकरण खरीद गरी स्वास्थ्य सेवा बृद्धि गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता समेत जनाए । ‘गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ,’–उनले भने–‘त्यो बजेटबाट स्वास्थ्यका अत्यावश्यक उपकरण खरीद गर्ने छौं । केन्द्रीय प्रहरी कार्यालयले पनि बजेट छुट्ट्याउँछ ।’

नेपाल प्रहरीले पनि प्रहरी कर्मचारी तथा आश्रित परिवार एवं भूतपूर्व प्रहरी कर्मचारीको सहज र सरल उपचारको लागि आफ्नै अस्पताल भवन निर्माण गरी स्वास्थ्य सेवा सुरु गरेको छ । केही वर्षभित्रैमा प्रहरीले पोखरा–१४ छिनेडाडाँमा तालिम केन्द्रको ७६८ रोपनी क्षेत्रफलमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्ने सोच रहेको उनले बताए । उनका अनुसार अस्पतालबाट अहिले प्रहरीले सामान्य स्वास्थ्य सेवा झण्डै दुई सय जनालाई दिँदै आएको छ ।

अस्पतालको भवन उद्घाटनपछि सम्बोधन गर्दै प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यले अस्पतालको परिकल्पना गरिएको स्पष्ट पारे । २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगन्जमा सुरु गरिएको थियो । अस्पतालबाट प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटी प्रमुख प्रहरी निरीक्षक निरन्जनकुमार सिंहले नेपाल प्रहरी कल्याण कोषबाट २८ लाख २३ हजार ४ सय ४६ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण गरिएको सार्वजनिक गरे । उनले अस्पताल भवनमा सोधपुछ कक्ष, ओ.पी.डी कक्ष, इमरजेन्सी तथा स्टाफ कक्ष एवं सेवाग्राहीको लागि शौचालय निर्माण गरिएको बताए । गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा. नर्मन लामिछानेले सेवा दिने छन् । जनरल ओ.पी.डीसहित वार्ड ल्याब, फार्मेसी सेवा दिँदै आएको छ । 

अब निकट भविष्यमै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ सेवा समेत विस्तार हुने डा. लामिछानेले बताए । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका बरिष्ठ प्रहरी उपरीक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी सुविधासहितको अस्पताल निर्माण भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा संघीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसी लगायत विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी भूतपूर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । नेपाली सेनाले केही महिना अघि मात्रै पोखराको रानीपौवामा आफ्नै अस्पताल निर्माण गरी उपचार सेवा सुरु गरेको थियो ।

प्रकाशित: ४ श्रावण २०७७ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App