८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमित घटे पनि कोरोना जोखिम कायमै

नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। आइतबार देशभरमा ८२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने शनिबार ७० जना मात्र संक्रमित थिए। शुक्रबार १ सय १८, बिहीबार १ सय ८ र बुधबार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको थियो।  

असार दोस्रो सातासम्म प्रतिदिन औसत ८ हजारको हाराहारीमा पिसिआर परीक्षण हुने गरेकोमा अहिले ३ देखि ४ हजारको हाराहारीमा आइपुगेको छ। त्यतिखेर परीक्षण भएकामध्ये १६ देखि १७ प्रतिशत संक्रमित पाइने गरेकोमा पछिल्लो एक सातामा १.९ देखि २ प्रतिशतभित्र मात्र संक्रमित छन्।  

संक्रमित संख्या घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘तथ्यांकमा संक्रमित घट्नु भनेको जोखिम पूरै सकिनु हैन। जोखिम अहिले पनि उत्तिकै छ,’ उनले भने। तर नमुना परीक्षणको अनुपातमा धेरै कम सक्रमित हुनुलाई सकरात्मक रूपमा लिनुपर्ने उनले बताए।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले परीक्षण घटेको तथा क्वारेनटिनमा रहेका व्यक्तिमा भाइरस ५ दिनपछि मात्र सक्रिय देखिने भएकाले पनि धेरैको परीक्षण रिपोर्ट आउन नसकेको हुनसक्ने बताए।  

असार महिनामै उच्च संख्यामा देखिएका संक्रमित एक साताकै अवधिमा १ सयभन्दा कम हुनुलाई विज्ञहरूले कम परीक्षणको परिणाम हुनसक्ने बताउँछन्।  

क्वारेनटिनमा भएका व्यक्तिको परीक्षण सकिएपछि कोरोना समुदायमा फैलिएको छ कि छैन भनेर सर्भे परीक्षणको तरिका पनि सही नभएको एक विशेषज्ञ चिकित्सकले बताए। उनले सरकारले भारतबाट आई क्वारेनटिनमा रहेकाहरूको परीक्षण सकिँदै  जाँदा सर्भे परीक्षण गरिसक्नुपर्नेमा त्यसो नभएको बताए। त्यसबाहेक जोखिमयुक्त ठाउँमा खटिने चिकित्सक, बैंक, मानिसको भीडभाड हुने ठाउँ, तरकारी बजार तथा अन्य भीडभाड हुने क्षेत्रका मानिसमा परीक्षण हुनुपर्नेमा त्यसो नभएको उनले दाबी गरे। उनले कति नमुना परीक्षण भएभन्दा पनि नमुना ठीक व्यक्ति र ठीक ठाउँको पहिचान गरी लिइयो या लिइएन भन्ने कुरा महŒवपूर्ण हुने बताए। ‘हवाई यातायात, सडक यातायात तथा कोरोना प्रभावित क्षेत्रबाट आएका सबैको परीक्षण भएको देखिँदैन,’ सरुवा रोग विशेषज्ञ एक चिकित्सकले भने।

संक्रमित तथ्यांक घट्नु सकरात्मक पक्ष रहे पनि अध्ययनबिना यकिन भन्न नसकिने अर्का सरुवा रोग विज्ञ बताउँछन्। सरकारले तीन साताअघि परीक्षण निर्देशिका नै परिवर्तन गरी क्वारेनटिनमा रहेकाको समेत परीक्षण नगरी पठाउने व्यवस्था गरेपछि संक्रमित तथ्यांक घटेको हुनसक्ने उनको  अनुमान छ। तर जोखिम भने कायमै रहको उनको मूल्याकंन छ। ‘जोखिमयुक्त जिल्लाबाट आएकालाई पनि लक्षण नभएमा परीक्षण गर्ने व्यवस्था छैन, फर्केर गएपछि १४ दिन पूरै क्वारेनटिन बसे कि बसेनन् भन्ने कुराको अनुगमन कसले गर्ने ?,’ उनले भने।  

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले  देश अन्तर्राष्ट्रिय सिको गर्नुभन्दा पनि देश सुहाउँदो परीक्षणको दायरा बनाउनुपर्ने सुझाउँछन्। ‘लक्षण नभएकाले कम सार्छन्, तर उनीहरू  साह्रो कराउने, नारा जुलुस लगाउने, भाषण गर्ने क्रममा सार्न सक्छन्,’ उनले भने।  

समुदायमा कोरोना फैलिन नदिन जोखिमयुक्त ठाउँहरू भारत तथा तराईका जिल्लाबाट आएकाहरू, स्वास्थ्यकर्मी  तथा वृद्ध–वृद्धा र मिल्दा लक्षण भएकाहरूको परीक्षण हुनुपर्ने र प्रभावित ठाउँबाट आई बसेका स्थानमा परीक्षण हुनुपर्ने विशेषज्ञको सुझाव छ।  

चौविस घण्टामा ८२ नयाँ संक्रमित  

आइतबार देशभरिमा ८२ जना थप संक्रमित भेटिएका छन्। नयाँसहित नेपालमा कुल संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेका छन्। कुल संक्रमितमध्ये ५१.१ प्रतिशत अर्थात् ८ हजार ५ सय  ८९ जना निको भएका छन्। नेपालमा हालसम्म ३८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। आइतबार थप १ सय ४७ जना निको भएका छन्। हाल देशभरिमा ८ हजार १ सय ७४ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने क्वारेनटिनमा २३ हजार ७ सय ८४ जना छन्।  

आइतवार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५ जना काठमाडौं र १ जना ललितपुरका छन्। एक सातादेखि दैनिक संक्रमति संख्या घटे पनि जोखिम कायमै रहेकोले कोभिड १९ बाट बच्ने उपाय राम्रोसँग पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर  गौतमले अनुरोध गरे।

प्रकाशित: २९ असार २०७७ ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App