coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरस यसरी फैलिन्छ हावामा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अहिलेसम्म कोरोना भाइरस कुनै सतहको सम्पर्कमा आएपछि सर्छ भनेको थियो । वैज्ञानिक प्रमाणले यही देखाएको भन्दै डब्लुएचओका अधिकारीले कोरोना संक्रमणबाट बच्न मुख्यगरी हात धुनुपर्ने सल्लाह दिइरहेका थिए ।  

तर अब उनीहरूले विशेष परिस्थितिमा कोरोना हावाबाट पनि सर्ने सम्भावनालाई नकार्न नसकिने बताउन थालेका छन् ।  

यसको अर्थ के हो भने अब जब एक व्यक्ति अर्काेसँग गफ गर्छन्, तब तीमध्ये कोही संक्रमित छन् भने उसले छाड्ने सासबाट हावामा कोरोना भाइरस फैलिन सक्छ र त्यसको सानोभन्दा सानो अंशले पनि अर्काे स्वस्थ व्यक्तिलाई संक्रमण हुन सक्छ ।  

वैज्ञानिक प्रमाणका साथ यो कुरा पूर्ण रूपमा पुष्टि भएका खण्डमा वरिपरि घेरिएको बन्द (कोठाजस्ता ठाउँ) स्थानमा कोरोना संक्रमणबाट बच्ने विधि नै परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

हावाबाट संक्रमण सर्छ भन्नुको अर्थ  

हावाबाट त्यतिबेला संक्रमण सर्छ, जब हामी कोरोना भाइरसयुक्त हावामा सास लिन्छौं । हावामा उडिरहेका ससाना कणमार्फत भाइरस हाम्रो शरीरमा प्रवेश गर्छन् । त्यस्तो सूक्ष्म कण हावामा घण्टौं रहन सक्छ । थुकका ससाना छिटा ठूलो क्षेत्रमा फैलिन सक्छन् । जस्तो कि टीबी, रुघा तथा निमोनिया हावामार्फत सर्छन् ।  

विश्व स्वास्थ्य संगठनले बन्द कोठा तथा भिडभाड भएका ठाउँमा कोरोना भाइरस एकअर्कामा सर्न सक्छ भन्ने तथ्यलाई स्वीकार गरिसकेको छ ।

कोरोना हावामा कतिबेर बाँच्न सक्छ ?  

अनुसन्धानका क्रममा कृत्रिम रूपमा कोरोना भाइरसलाई हावामा छाडिएको थियो । त्यस क्रममा कोरोना हावामा ३ घण्टासम्म जीवित रहेको पाइयो । तर अनुसन्धानकर्ता वैज्ञानिकले के भनेका छन् भने यो प्रयोगशालाभित्र गरिएको परीक्षण हो, त्यसका कारण बाहिरी वातावरणमा यसको वास्तविकता फरक पनि हुन सक्छ ।  

विश्वमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । जसले यो हावाबाट पनि फैलिरहेको आशंका उत्पन्न भएको हो ।  

अमेरिकाको वासिङटन सहरस्थित माउन्ट वर्ननमा एक व्यक्तिले कम्तीमा ४५ जनालाई कोरोना संक्रमण सारेको पाइएको छ । तर संक्रमित भएका व्यक्तिले भौतिक दूरीका कुनै नियम तोडेका थिएनन् । यस्तै जनवरी अन्तिममा चीनको ग्वान्जाउमा पनि एउटा यस्तै तथ्य पाइएको छ । एक व्यक्तिले कम्तीमा ९ जनालाई संक्रमित बनाएका थिए । उनीहरूले एक रेस्टुरेन्टमा खानाएका थिए । वैज्ञानिकका अ नुसार उनीहरू ६ मिटरको दूरीमा बसेका थिए ।  

अब हामीले के गर्नुपर्छ ?

कुनै पनि रोग जसरी फैलिन्छ, त्यसबाट बच्न त्यसका कारण रोक्न जरुरी हुन्छ । डब्लुएचओले जारी गरेको वर्तमान नियमअनुसार कोरोना संक्रमणबाट बच्न साबुन पानीले कम्तीमा २० सेकेन्ड लगाएर मिचीमिची हात धुनुपर्छ । साथै व्यक्ति व्यक्तिबीचको दूरी पनि कायम गर्न उसले सल्लाह दिएको छ ।  

तर हालै केही वैज्ञानिकले हावाबाट पनि कोरोना संक्रमण फैलिएको प्रमाण फेला परेको बताउँदै अब यति सुरक्षा सतर्कताले मात्र नपुग्ने सुझाव दिएका छन् ।  

यस विषयमा डब्लुएचओले अहिलेसम्म आफ्नो पूर्व मार्गनिर्देशनमा कुनै परिवर्तन त गरिसकेको छैन तर हावाबाट कोरोना सर्ने विषयमा समीक्षा गरिरहेको जनाएको छ ।  

हावाबाट कोरोना सर्ने पुष्टि भएका खण्डमा उसले सामूहिक रूपमा मास्क प्रयोग गर्न उसले आधिकारिक सल्लाह दिन सक्छ । भौतिक दूरी पालनामा कडाइ गर्न सक्छ । खासगरी बार, रेस्टुरेन्ट र सार्वजनिक सवारीसाधनमा । त्यस्ता ठाउँ, जहाँ एयर कन्डिसनको व्यवस्था छ, त्यहाँ कुनै कडा नियम पनि डब्लुएचओले लागू गराउन सक्छ ।  

तर यस विषयमा डब्लुएचओ अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । अनुसन्धान जारी रहेको उसले जनाएको छ ।  (बिबिसी हिन्दीमा प्रकाशित समाचारको भावानुवाद)

प्रकाशित: २७ असार २०७७ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App