७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

ताप्लेजुङका ३५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ

ताप्लेजुङबाट पठाइएको ३५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका, क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार संक्रमितको नजिक रहेकाहरुको दोहोरो स्वाब परीक्षण रिपोर्ट नै नेगेटिभ आएको छ ।  

अहिलेसम्म २ सय ३१ जनाको पीसीआर र ७ सय ५६ जनाको आरडिटी परीक्षण गरिएको छ । यसमध्ये ३ जना पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । ताप्लेजुङमा भेटिएका ३ जना कोरोना संक्रमित मध्ये १ महिला र १ पुरुष गरी २ जना जना सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छन् भने १ जना मोरङको गोठगाउँस्थित आइसोलेसन कक्षमा भर्ना भएका छन् । 

आरडिटी परीक्षण गरिएका मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आएपनि पछि पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । यहाँ भेटिएका संक्रमित ३ जना नै बैदेशिक रोजगारीबाट फर्किएका नागरिक रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।  

३ सय ५८ पुरुष, ९३ महिला, २३ बालक र १७ बालिका गरी ४ सय ९१ जना बिभिन्न स्थानमा बनेका क्वारेन्टिनमा बसी होम क्वारेन्टिनका लागि फिर्ता भएको समेत कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । बिहीबार अपरान्हसम्ममा क्वारेन्टिनमा सेन्टरमा २२ जना रहेका छन् । जिल्ला अस्पतालको आइसोलेसन कक्षमा १ जना उपचारार्थ भर्ना भएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । 

६ महिला र ६ पुरुष गरी १२ जना अस्पतालको आइसोलेसन कक्षबाट घरफिर्ता भईसकेको समेत बताइएको छ । पीसीआर परीक्षणबाट उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले होम क्वारेन्टिनमा बस्ने गरी अस्पतालको आइसोलेसन कक्षबाट घरफिर्ता गरेको ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिए ।

प्रकाशित: २५ असार २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App