२८ श्रावण २०७७ बुधबार
स्वास्थ्य

नेपालमा कोरोना मृत्युदर किन कम ?

मृत्युदर ०.२१ प्रतिशत, कारण यकिन हुन समय लाग्ने

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमितको संख्या झन्डै साढे १६ हजार पुगेको छ। संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकको दाँजोमा नेपालमा मृत्युदर ज्यादै न्यून (०.२१ प्रतिशत ) देखिएको छ।  

यसको खास कारण के हो ? केही विज्ञले नेपालीको  खानपान, रहनसहन, क्षयरोगविरुद्ध लगाएको बिसिजी खोप वा रोगप्रतिरोधी क्षमतालाई सम्भावनाका रुपमा देखाएका छन्। तर वास्तविक र यथार्थ कारण कसैले बताउन सकेका छैनन्।

कोभिड–१९ ले विकसित तथा युरोपेली मुलुकमा चारदेखि १५ प्रतिशतसम्म संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरु नेपालमा संक्रमितको तुलनामा धेरै नै कमदरमा मृत्यु हुनु सुखद संयोग मान्छन्। उनीहरु यसको यकिन कारण पत्ता लगाउन थप अध्ययन अनुसन्धान आवश्यक बताउँछन्। यथार्थ कारण थाहा नभए पनि उनीहरुले नेपालमा मृत्युदर कम हुनुमा केही धारणा व्यक्त गरेका छन्। त्यसमध्ये पहिलो हो, संक्रमितमध्ये अधिकांश  युवा हुनु।

विज्ञका अनुसार उमेर बढी भएका भन्दा युवामा रोगविरुद्ध लड्ने प्रतिरक्षा प्रणाली बलियो हुन्छ। नेपालमा संक्रमित धेरै युवा भएका कारण विश्वका अन्य  मुलुकको तुलनामा मृत्यु दर कम भएको हो।

स्वास्थ्य मन्त्रालयले असार २४ मा प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन्। नेपालमा कुल संक्रमितमध्ये आठ सय ५८ जना ५० वर्षमाथिका र १५ हजार पाँच सय ६५ जना ५० वर्षमुनिका छन्। यस्तै मृत्यु हुनेमा पनि ५० वर्षमुनिका २२ र ५० वर्षमाथिका १३ जना छन्।

नेपालको जनसंख्यामा युवाको हिस्सा बढी छ। सन् २०७७ असार ८ सम्मको केन्द्रीय तथ्यांक विभागको मध्यवर्ष जनसंख्याअनुसार नेपालको कुल जनसंख्या २ करोड ९९ लाख १७ हजार छ। जसमा १५ देखि ५९ वर्ष उमेर समूहको संख्या ६२ दशमलब ६ प्रतिशत छ। ६० वर्ष उमेरभन्दा माथिको जनसंख्या ८ दशमलब ७ प्रतिशत मात्र छ। यस्तै १५ वर्ष उमेरमुनिको संख्या २८ दशमलब ७ प्रतिशत छ।

स्पेन, इटाली, फ्रान्स, बेलायतजस्ता केही युरोपेली राष्ट्रमा कोरोनाबाट वृद्धवृद्धा बढी संक्रमित भएका कारण मृत्युदर बढी भएको बताइएको छ। ती मुलुकमा मृत्यु हुनेमा  वृद्धवृद्धाको संख्या बढी छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा मृत्युदर कम हुनुको ठ्याक्कै वैज्ञानिक कारण नभएको बताउँछन्। उनका अनुसार नेपालमा अहिलेसम्म संक्रमितमध्ये धेरै वैदेशिक रोजगारीमा गएका युवा उमेर समूहका छन् र यसले गर्दा मृत्यु दर कम भएको देखिन्छ। ‘कोरोना समुदाय तहमा फैलियो भने कमजोर व्यक्ति र वृद्धवृद्धाको धेरै संख्यामा मृत्यु हुन सक्छ,’ उनले भने।

नेपालमा वृद्धवृद्धाबाहेक १५ देखि ६० वर्ष उमेर समूहका मानिसले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। जसमध्ये धेरैजसो क्षयरोग, मिर्गौला वा हृदयाघात, मस्तिष्काघात र क्यान्सरसमेत भएका थिए।

विज्ञहरु नेपाल तथा दक्षिण एसियामा प्रयोग भएको क्षयरोगविरुद्धको बिसिजी खोपले पनि कोरोना भाइरसविरुद्ध लड्न काम गरेको हुनसक्ने अनुमान गर्छन्।  

त्यस्तै कोरोना भाइरसको असर भौगोलिक उचाइ धेरै भएको स्थानमा बस्ने व्यक्तिमा कम देखिएको एक अध्ययनले देखाएको छ। अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनमा रहेको उक्त अनुसन्धानपत्रमा चीनको बुहान राज्यनजिकै उचाइमा रहेको तिब्बतमा कोरोनाले कम असर गरेको औंल्याइएको छ। अनुसन्धानपत्रमा इक्वेडर र अमेरिकाको बोलिभिया राज्यमा पनि कोभिड–१९ को असर कम परेको बताइएको छ। बोलिभियाको उचाइ अन्य राज्यको तुलनामा बढी छ। अध्ययनले उचाइमा बस्ने मानिसको फोक्सोको बनोट बलियो हुने भएका कारण भाइरसको असर कम हुने तर्क अघि सारेको छ।

छिमेकी मुलुक भारतमा पनि कोरोना मृत्युदर कम भएको तथ्यांकले देखाएका छन्। भारतमा कुल संक्रमितमध्ये मृत्युदर २.८२  प्रतिशत छ। यसको कारण दक्षिण एसियाली राज्यमा रहेको सांस्कृतिक पक्ष भएको अनुमान विज्ञहरुको छ। ‘भारत र नेपालमा खानपानदेखि अन्य व्यवहार पनि उस्तै खालका छन्, यसले शरीरको प्रतिरक्षा क्षमता समान रुपमा विकास भएको हुन सक्छ,’ डा. मरासिनीले भने।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन युरोप तथा अमेरिका र  अन्य विकसित मुलुकको तुलनामा नेपालमा मृत्युदर कम देखिनुको कारण अहिले नै निक्र्योल गर्ने समय भइनसकेको बताउँछन्। ‘कोरोना नयाँ भाइरस भएकाले नेपालमा धेरै संख्यामा फैलिएपछि मात्र मृत्युदर कम या बढी भन्न सकिन्छ,’ उनले भने।  

तर नेपालमा नोबेल कोरोना भाइरसकै प्रजाति ‘ह्युमन कोरोना भाइरस’ को संक्रमण भइसकेकाले यो भाइरसविरुद्धको एन्टिबडी (प्रतिरक्षा क्षमता) बनिसकेको हुनसक्ने उनको अनुमान छ। पुनका अनुसार सन् २०११ मा सप्तरीमा एकैपटक समुदायमा संक्रमण फैलिएपछि एउटा अनुसन्धान गरिएको थियो। त्यो अनुसन्धानबाट त्यहाँ ह्युमन कोरोना भाइरस रहेको पुष्टि भएको थियो। यसबाहेक पश्चिमी देशका नागरिक र नेपालीको जिनमै फरक रहेको हुनसक्ने डा. पुनको अनुमान छ। ‘धेरै मृत्युदर पश्चिमा देशमा देखिन्छ,’ उनले भने।  

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, अनुसन्धान विभागका प्रमुख डा. मेघनाथ धिमालले कोरोनाका कारण नेपालमा मात्र नभएर एसियामै मृत्युदर कम भएको जानकारी दिए। ‘यसको यथार्थ कारणबारे थप अध्ययन र अनुसन्धान हुुनुपर्छ,’ उनले भने, ‘कोभिड–१९ संक्रमित पहिचान कम भएको स्थितिमा ठ्याक्कै मृत्युदर कम हुनुको कारण निक्र्योल हुने अवस्था छैन।’  

धिमालका अनुसार नेपालमा सुरुमा पुरुष मात्र संंक्रमित थिए, अहिले महिलामा पनि संक्रमण बढेको छ, पछि वृद्धवृद्धामा पनि संक्रमण बढेपछि मृत्युदर बढ्न सक्छ। यो भाइरसको असर बढी मात्रामा मिर्गौला प्रत्यारोपण गरेका र किमोथेरापी लिएका क्यान्सरका बिरामीलाई परेको छ।  

नेपालमा अहिलेसम्म व्यापक रुपबाट समुदायमा कोरोना फैलिसकेको छैन। नेपालमा संक्रमितमध्ये ९७ प्रतिशत भारत तथा अन्य देशबाट आएका छन् भने ३ प्रतिशत क्वारेन्टिनमा काम गर्ने, अस्पतालमा उपचार गर्न पुगेका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत छन्। संक्रमितमध्ये ९९ प्रतिशतमा कोरोनाको लक्षण देखिएको छैन। कुल संक्रमितमध्ये ४६.४ प्रतिशत निको भइसकेका छन्।

प्रकाशित: २५ असार २०७७ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App