२८ श्रावण २०७७ बुधबार
स्वास्थ्य

‘कोरोना जोखिम बढाउने डिएनए नियान्डर्थलको विरासत’

कोरोनाले गम्भीर असर गर्नमा ६ वंशाणु जिम्मेवार

कोभिड–१९ सँग सम्बन्धित डिएनएको एउटा तान (स्ट्रेच) आदिममानव ‘नियान्डर्थल’ बाट आएको एक अध्ययनले देखाएको छ। अस्पतालमा भर्ना भएका तीन हजार एक सय ९९ कोभिड बिरामी र ‘कन्ट्रोल ग्रुप’ मा गरिएको एक अध्ययनले क्रोमोजोम–३ मा रहेको वंशाणुको एक झुन्ड कोभिड–१९ मा हुने श्वासप्रश्वास समस्याको कारक पाइएको छ।

जर्मनस्थित ‘म्याक्स प्लान्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजी’ का डा. ह्युगो जेबर्ग र डा. स्भान्ते पाबोको ‘बायोआरएक्सआइभी’ नामक अनलाइन जर्नलमा गत शुक्रबार प्रकाशित अध्ययनले यस्तो देखाएको हो।

मानव जातिको उद्विकासका क्रममा नियान्डर्थल मानव लगभग चार लाख वर्ष अघिदेखि ३० हजार वर्ष अघिसम्म अस्तित्वमा थिए। जर्मनीको नियान्डर घाँटीमा सुरुका केही अस्थिपञ्जर पत्ता लागेकाले यो आदिम–मानव प्रजातिलाई नियान्डर्थल भनिँदै आएको हो। यो आधुनिक मानवसँग अत्यधिक मिल्ने प्रजाति थियो। आधुनिक मानव प्रजाति अर्थात् होमो स्यापियन्स र नियान्डर्थल युरोपमा केही कालखण्ड एकैसमय अस्तित्वमा रहेकाले यी दुई प्रजातिबीच सम्बन्ध रहेको मानिन्छ। यी दुई प्रजातिमा यौनसम्बन्ध भएकालेआधुनिक मानव प्रजातिमा नियान्डर्थल डिएनएको चार प्रतिशतसम्म हिस्सा रहेको अध्ययनले देखाएका छन्।

नियान्डर्थल मानव लोप हुनुको कारण अझै यकिन हुन सकेको छैन। कसैले आधुनिक मानवले उसलाई हिंसात्मक तवरले प्रतिस्थापन गरेको मान्छन् भने कोही आधुनिक मानवसँगको प्रजनन अन्तर्घुलनपछि आफैं हराएको ठान्छन्। केहीले अन्य प्राकृतिक विपत् तथा जलवायु परिवर्तन थेग्न नसकेर अथवा कुनै विषाणु एवं रोगजन्य कीटाणु संक्रमणका कारण यो प्रजाति हराएको मान्छन्।

अध्ययनले समेटेको जेनोम अन्तर्गतको क्रोमोजोम–३मा रहेका ६ वटा वशांणुको मानव इतिहासमा रहस्यमय यात्रा रहेको देखिएकोछ। यी वंशाणुको परिवर्तित स्वरुप (भेरियन्ट) बंगालादेशका ६३ प्रतिशत मानिसमा र दक्षिण एसियाका एकतिहाइ जनसंख्यामा देखिएको छ। यो क्रोमोजोमको उपस्थिति आठ प्रतिशत युरोपेली र चार प्रतिशत पूर्वी एसियाली जनसंख्यामा देखिएको छ। अफ्रिकी जनसंख्यामा भने यसको उपस्थिति पाइएको छैन।

आधुनिक र नियान्डर्थल मानवबीच ६० हजार वर्षअघि भएको प्रजनन असर आज पनि देखिएको अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका आनुवंशिक विज्ञ जोसु अकेले न्युयोर्क टाइम्सलाई बताएका छन्। म्याक्स प्लान्क इन्स्टिच्युटका अध्येताले गरेको सो अध्ययनको निष्कर्षलाई न्युयोर्क टाइम्सले आफ्नो अनलाइन संस्करणमा शनिबार प्रकाशित गरेको छ।

क्रोमोजोममा रहेको नियान्डर्थल भर्सन (गुण) हानिकारक तर यो दुर्लभ हुँदै गएको हुन सक्ने एउटा सम्भावना छ। अर्काेतर्फ यसले भाइरसविरुद्धको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर दक्षिण एसियाली जनसंख्यालाई भाइरससँग लड्न सहयोग गरेको हुन सक्ने वैज्ञानिक दाबी छ। ‘यति बेला गरिएका यी सबै अड्कलबाजी मात्र हुन्,’ डा. जेबर्ग न्युयोर्क टाइम्सलाई भन्छन्। त्यसो त गत वर्ष डिसेम्बरबाट सुरु भएको कोभिड–१९ विश्वका खास जनसंख्यालाई किन धेरै खतरनाक छ भन्ने अनुसन्धान थालिएको छ। यो महामारीले वृद्धलाई बढी चापेको छ भने तुलनात्मक रूपमा महिलाभन्दा पुरुष बढी जोखिमा छन्। त्यस्तै अमेरिकामा श्वेतभन्दा अश्वेत कोरोना भाइरसबाट बढी प्रभावित छन्।

रोगविरुद्धको लडाइँमा वंशाणु अर्थात् जिनको भूमिका महत्वपूर्ण मानिन्छ। गत जुनमा इटाली र स्पेनमा कोभिड–१९ का कडा र सामान्य बिरामीबीच तुलनात्मक अध्ययन गरिएको थियो। अनुसन्धानकर्ताले रक्त समूह निर्धारण गर्ने क्रोमोजोम–९ र नियान्डर्थलको योगदान रहेको मानिने क्रोमोजोम–३ मा बढी जोखिम देखिएको पत्ता लगाएका थिए। पछिल्ला अध्ययनले रक्त प्रकारले यसलाई असर नगर्ने देखाएको हार्भर्ड मेडिकल स्कुलका आनुवंशिक विज्ञ मार्क डेलीले न्युयोर्क टाइम्सलाई बताएका छन्। उनले नयाँ तथ्यांकले रोग र क्रोमोजोम–३ को सेग्मेन्ट अर्थात् प्रभागका बीच बलियो सम्बन्ध देखाएको पनि बताएका छन्।

सोमबार सार्वजनिक नयाँ तथ्यांकका आधारमा क्रोमोजोम–३ को यो प्रभाग नियान्डर्थल मानवबाट आएको हो वा होइन भन्ने निक्र्योल गर्न डा. जेबर्गले अनुसन्धान सुरु गरेको न्युयोर्क टाइम्समा उल्लेख छ।

उद्विकासका क्रममा ६० हजार वर्षअघि आधुनिक मानव अफ्रिकाबाट युरोप, एसिया र अस्ट्रेलियामा विस्तार भएको मानिन्छ। युरोपमा नियान्डर्थलसँग जम्काभेटसँगै प्रजनन भएर आधुनिक मानवको वंशाणु सरोवरमा नियान्डर्थल वंशाणु मिसिन पुग्यो। नियान्डर्थल विलुप्त भए पनि आधुनिक मानवका पुस्तामा उसको वंशाणुगत गुण कायम रहिरह्यो।

त्यसो त नियान्डर्थलका अधिकांश वंशाणु आधुनिक मानवका लागि हानिकारक रहेको वैज्ञानिक राय छ। रोग र प्रजनन क्षमताका हिसाबले ती वंशाणु मानव जातिका लागि अनावश्यक भार भएका कारण हाम्रा वंशाणु सरोवरमा दुर्लभ हुँदै र हराउँदै गएको मानिन्छ।

नियान्डर्थलका केही वंशानुगत गुणले उद्विकासमा सहयोग गरेको पाइन्छ। म्याक्स प्लान्क इन्स्टिच्युटका डा. जेबर्ग, डा.पाबो र डा.जेनेट केल्सोको मेमा प्रकाशित एक अध्ययनले एकतिहाइ युरोपेली महिलामा ‘नियान्डर्थल हर्मोन रिसेप्टर’ रहेकोले तिनको प्रजनन शक्ति बढाएको र गर्भपतन घटाएको देखाएको थियो।

न्युयोर्क टाइम्सका अनुसार डा. जेबर्ग हाल उपलब्ध नियान्डर्थलका अन्य वंशाणुले भाइरससँग लड्न सहयोग गरेको मान्छन्। जब आधुनिक मानिस एसिया र युरोपमा फैलिन थाले तब नयाँनयाँ भाइरससँग उनीहरूको जम्काभेट भयो। भाइरसविरुद्धको प्रतिरक्षा प्रणाली नियान्डर्थलमा पहिल्यै विकास भइसकेकाले ती भाइरसले आधुनिक मानवलाई असर गर्न सकेनन्। यति बेलादेखि नै यस प्रकारका वंशाणुको प्रसार हुँदै आएको छ।

न्युयोर्क टाइम्सका अनुसार डा. जेबर्गले नियान्डर्थल मानवको वंशानुगत डाटाबेसमा क्रोमोजोम–३ बारे अध्ययन गर्दा जुन वंशाणु प्रभागले कोभिड–१९ संक्रमितलाई गम्भीर बिरामी बनाउन भूमिका खेलेका थिए। त्यस्तै प्रकारको वंशाणु ५० हजार वर्षअघि क्रोसियामा रहेका नियान्डर्थलसँग मिल्दोजुल्दो थियो। वैज्ञानिकहरू नियान्डर्थलको डिएनएले सुरुमा भाइरससँग लड्न सहयोग गरे पनि हाल आएर कोरोना भाइरसविरुद्ध लड्न सहयोग नगरेको तर्क गर्छन्। म्याक्स प्लान्क इन्स्टिच्युटका डा. पाबो कोभिड–१९ का कारण बेलायतमा हताहत हुनेमा बंगलादेशी मूलका धेरै रहनुमा वंशाणुगत कारण हुनसक्ने तर्क गर्छन्।

न्युयोर्क टाइम्समा उल्लेख छ, ‘नियान्डर्थल वंशाणु र कोभिड–१९ अन्तर्सम्बन्धबारे हुने थप अध्ययनले अरु प्रकाश पार्नेछन् र ६० हजार वर्ष अघिदेखि यो वंशाणुगत नाता कति घातक छ भन्ने प्रस्ट हुनेछ।’

डिएनए के हो?
डिएनएको पूरा अर्थ ‘डिओक्सिराइबो न्युक्लिक एसिड’ हो। आनुवंशिक सूचना बोक्ने डिएनए हरेक जीव, वनस्पति तथा अधिकांश भाइरसमा हुन्छ। यसमा वृद्धि, मर्मत, सुधार, प्रजननलगायत थुप्रै सांकेतिक वंशानुगत विवरणहरू संग्रहित हुन्छन्। शरीर संरचना बनाउन यसले महत्वपूर्ण भूमिका खेल्नुका साथै आँखा, छाला, कपालको रङ, आकार तथा तौल निर्धारण यसैले गर्छ। डिएनए मानव कोषको न्युक्लियसमा रहन्छ र सानो मात्रामा माइटोकोन्ड्रियामा पनि पाउन सकिन्छ। बाबुआमाबाट छोराछोरीमा डिएनएकै माध्यमबाट वंशानुगत गुण सर्छ। मानव शरीरमा असंख्य कोष हुन्छन्। क्रोमोजोम प्रोटिन र डिएनएको अणुबाट बनेको हुन्छ।

प्रकाशित: २५ असार २०७७ ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App