६ वैशाख २०८१ बिहीबार
स्वास्थ्य

हावाबाट कोरोना सर्न सक्नेमा डब्लुएचओ सहमत

विश्व स्वास्थ संगठनले अन्ततः कोरोना भाइरस हावामा तैरिने ससाना कण (एरोसोल) का कारण सर्न सक्ने स्वीकार गरेको छ। यो साताको सुरुमा विश्वका ३२ राष्ट्रका दुई सय ३९ वैज्ञानिकले संगठनलाई चिठी लेखेर हावामा तैरिने ससाना कणले संक्रमण सर्न सक्ने र संगठनले यसबारे नयाँ निर्देशिका जारी गर्नुपर्ने बताएका थिए।  

संगठनका एक अधिकारीले भीडभाड, बन्द कोठा तथा पर्याप्त भेन्टिलेसन नभएका स्थानमा हावामा तैरिने ससाना कणबाट संक्रमण हुन सक्ने बताए। यो तथ्य प्रमाणित भए घरभित्र हुन सक्ने भाइरस संक्रमणसम्बन्धी संगठनको निर्देशिकालाई परिमार्जन गर्नुपर्ने हुन्छ। संगठनले यसअघि खोक्दा अथवा हाच्छ्यँु गर्दा निस्कने ठूला कणका कारण मात्र भाइरस अरूलाई सर्ने बताउँदै आएको थियो।  

संगठनका संक्रमण रोकथाम तथा नियन्त्रण विभाग प्रमुख वेनेडेटा एलेग्रान्जीले मंगलबारको नियमित पत्रकार सम्मेलनमा पछिल्ला प्रमाणले हावामार्फत संक्रमण हुन सक्ने सम्भावना देखाएको बताइन्। उनले भनिन्, ‘भीडभाड, बन्द कोठा तथा यथेष्ट भेन्टिलेसन नभएका स्थानमा यो सम्भावना देखिएको छ।’

यसैबीच स्पेनमा गरिएको एक अध्ययनले सामूहिक प्रतिरोध क्षमता (हर्ड इम्युनिटी) मार्फत कोरोना भाइरस संक्रमण नरोकिने देखाएको छ। ६० हजार मानिसमा गरिएको सो अध्ययनले मात्र ५ प्रतिशत जनसंख्याले रोगविरुद्ध एन्टिबडी विकास गरेको पाइएको जनाएको छ। अत्यधिक जनसंख्यामा संक्रमण भए रोगप्रतिरक्षा प्रणाली स्वाभाविक रूपमा बलियो हुने र संक्रमण रोकिनुलाई हर्ड इम्युनिटी भनिन्छ। अध्ययनले ७० देखि ९० प्रतिशत जनसंख्याले रोगविरुद्ध लड्न प्रतिरक्षा प्रणालीको विकास गर्नुपर्ने देखाएको छ।
(बिबिसीमा प्रकाशित समाचारको भावानुवाद)

प्रकाशित: २५ असार २०७७ ०१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App