५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

क्वारेन्टिन रित्तिँदै,आइसोलेसन भरिँदै

स्वदेश तथा विदेशबाट भित्रिनेका लागि जुम्लामा झण्डै ८ सय वटा बेडका क्वारेन्टिन निर्माण भए। प्रत्येक स्थानीय तहका विद्यालय र सामुदायीक भवनमाक्वारेन्टिन बने। सबै क्वारेन्टिनमा भारत तथा नेपाल भित्रबाट आएकाहरूले भरिभराउ भए। तर पछिल्लो समयमा यहाँका क्वारेन्टिन रित्तिन थालेका छन्।अहिले जिल्लाभरि ९० जना मात्र मानिस क्वारेन्टिनमा बसेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार क्वारेन्टिनबाट २ हजार ६ सय १७जना घर फर्किएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेनमा अहिले ३६ जना छन्। कोराना संक्रमितको संख्या बढ्न सक्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय २० बेडको आइसोलेसन कक्ष निर्माण भएको थियो। अहिले क्वारेन्टिन रित्तिँदै गइराखेकोमा आइसोलेसनमा थपिँदै गएका छन्।आइसोलेसनमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ भइसकेको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए। उनका अनुुसार सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको कोराना रिर्पोट नेगेटिभ आइसकेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मात्र साढे पन्ध्र हजारको पिसिआर परीक्षण भइसकेको छ।  

हालसम्म ६९ जना आइसोलेसनमा बसेको तथ्यांक छ। तीमध्ये २७ जना कोराना जितेर घर फर्किसकेका छन्। आइसोलेसनमा मनोेपरामर्श देखि सबैका प्रकारका परामर्श दिइरहेको छ । पछिल्लो समयमा भारत र स्वदेशबाट जिल्ला फर्किनेको संख्या निकै कम भएकोले पनि क्वारेन्टिन रित्तिदै गएको हो। जिल्ला विपद् व्यवस्थापन समितिले कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस, निर्माण व्यवसायी संघको भवन, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुँडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरेको थियो।  

जिल्ला प्रशासन कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा ५ जना क्वारेन्टिनमा छन्। हिमा गाउँपालिकामा ४ जना, गुठिचौरमा ६ जना, तिलामा ११ जना,तातोपानीमा ३९ जना र सिँजा गाउँपालिकामा २५ जना क्वारेन्टिनमा बसेका छन्। पातारासी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा क्वारेन्टिन खाली नै छन्। जुम्लाका ८ स्थानमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरेर स्वास्थ्य परीक्षण भइरहेको छ। हालसम्म १२ हजार १ सय २९ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ। २ हजार ६ सय १७ जना क्वारेन्टिनबाट घर फर्किएका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोभिड(१९) संक्रमण जोखिम बढ्दै गएकोले सरकारद्वारा जारी आदेशको पुर्ण पालना गर्न आग्रह गरेको छ।  घर बाहिर निस्कदा, सार्वजनिक रूपमा हिडडुल गर्दा न्यूनतम स्वास्थ्य तथा सुरक्षा मापदण्डअनुसार अनिवार्य मास्क प्रयोग गर्ने, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्दै सेनिटाइजर वा पटकपटक साबुनपानीले हातधुने, बढी भिड्भाड हुने कार्य नगर्न आग्रह गरेको हो। अन्यथा संक्रमण रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम पक्राउ गरि सजायसमेत हुने चेतावनी दिइएको छ। 

प्रकाशित: २४ असार २०७७ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App