१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

सुरक्षाको माग गर्दै चिकित्सक प्रदर्शनमा

सुरक्षाको ग्यारेन्टी माग गर्दै धरानको बिपी प्रतिष्ठानमा प्रदर्शन गर्दै चिकित्सकहरू। तस्बिर: रोहित राई/नागरिक

कोरोना संक्रमण (कोभिड–१९) महामारीको परवाह नगरी उपचारमा खटिएका चिकित्सकलाई कुटपिट भएको विरोधमा प्रदेश १ का चिकित्सकले मंगलबार धरानमा प्रदर्शन गरेका छन्। युवा चिकित्सक संघ प्रदेश १ को संयोजकत्वमा नेपाल चिकित्सक संघ र संघको जुनियर डाक्टर कमिटीका प्रतिनिधिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक भवनपरिसरमा प्रदर्शन गरेका हुन्।  

महामारीको बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी असुरक्षित भएकाले विरोधमा उत्रनुपरेको उनीहरूको भनाइ छ। पछिल्लो पटक झापाको विर्तामोडस्थित एक अस्पतालमा डा. सुधाकर झामाथि कुटपिट भएको थियो। एक बिरामीका आफन्तलाई मास्क लगाएर मात्र आउन भनेपछि डाक्टरमाथि कुटपिट भएको बताइएको छ। डाक्टर झालाई कुटपिट गर्ने दुईजना पक्राउ परे पनि छुटिसकेको प्रदर्शनमा सहभागी चिकित्सकले बताए।

नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. दीपेश आचार्यले उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीमा रिहाई गर्न नहुने कानुनी व्यवस्था हुनुपर्ने माग गरे। उनले चिकित्सकको सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्ने पनि बताए। ‘घटना हुनेबित्तिकै कानुनी कारबाही हुनुपर्छ र आक्रमण गर्नेलाई धरौटीमा रिहाई गर्ने होइन, जेल हुनुपर्छ,’ उनले भने, ‘डाक्टरहरूले पनि समाज कता जाँदै छ ? संयमता अपनाएर काम गर्नुपर्छ।’

युवा चिकित्सक संघका केन्द्रीय सचिव डा. रविन बस्नेतले थोरै तलबमा काम गरिरहेका डाक्टर कार्यक्षेत्रमा असुरक्षित हुन थालेपछि पलायन हुने खतरा बढेको बताए। उनका अनुसार विदेशमा राम्रो तलब पाउने र सुरक्षाको ग्यारेन्टी पनि हुने भएकाले डाक्टरहरू पलायन हुनसक्छन्। ‘डाक्टर सुधाकर पनि विर्तामोडबाट काम छोडेर घर फर्किसके। त्यहाँ काम नै नगर्ने भनेर उनी गएका हुन्,’ डाक्टर बस्नेतले भने, ‘सुरक्षाको ग्यारेन्टी नभएपछि डाक्टरहरू बिस्तारै विदेशतिर लाग्छन्, यसले भविष्यमा ठुलो समस्या आउनसक्छ। त्यसैले राज्य गम्भीर हुनुपर्छ।’

आयोजक संघका प्रदेश १ अध्यक्ष डा. राजदीप खतिवडाले अब फेरि पनि कुनै डाक्टरले सुधाकरको जस्तो अवस्था भोग्न नपरोस् भन्ने माग गरिएको बताए। ‘बिरामीको उपचारमा खटिएका डाक्टर नै असुरक्षित छन्, त्यसैले सुरक्षाको ग्यारेन्टी गर्ने र आक्रमण गर्ने व्यक्तिलाई कडा कारबाहीको व्यवस्था हुनुपर्छ,’ उनले भने। अर्का डाक्टर देवराज घिमिरेले बिरामीका आफन्त तथा कुरुवाबाट सुरक्षित हुन डाक्टरले साथमा हतियार बोक्नुपर्ने अवस्था आएको धारणा राखे। ‘इमरजेन्सीमा डाक्टरले बिरामी हेरिसकेको हुन्छ। बिचमा को मान्छे आउँछन् र डाक्टरले किन बिरामी हेरेन भनेर कराउन थाल्छन्। हामीले केही बोल्यो कि उल्टै धम्क्याउने, कुट्ने गर्छन्,’ डा.घिमिरेले भने, ‘हामीले पनि साथमा हतियार बोकेर उपचार गर्नुपर्ने अवस्था आइसक्यो।’

प्रकाशित: २४ असार २०७७ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App