८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

दिक्तेलमा १० बेडको ‘होल्डिङ’ सेन्टर

पञ्च मावि दिक्तेलमा निर्माण गरिएको ‘होल्डिङ’ सेन्टर । तस्बिर : दमन/नागरिक

स्वदेश तथा विदेशबाट खोटाङ भित्रिने स्थानीयलाई पिसिआर परीक्षण अवधिसम्मका लागि राख्न ‘होल्डिङ’ सेन्टर बनाइएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माबिमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाइएको हो ।  

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले आवश्यक सामग्री उपलव्ध गराएपछि गोरखनाथ गण मुढे व्यारेकका सेना र रेडक्रसका कर्मचारीले संयुक्तरुपमा ‘होल्डिङ’ सेन्टर तयार पारेका हुन् । जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले उनीहरुको पिसिआर परीक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाइएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए । निर्माण गरिएको ‘होल्डिङ’ सेन्टर रेडक्रसका सभापति कुमारसिं बस्नेतले शुक्रबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति खोटाङकी उपप्रमुख गोमादेवी खत्रीलाई हस्तान्तरण गरेका छन् । क्वारेन्टिनकै रुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टरमा जयराम नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीयलाई मात्र राखिने छ ।  

पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई घर पठाइने छ भने पोजिटिभ रिपोर्ट आएका स्थानीयलाई उपचारमा पठाइने छ । ‘दिक्तेल आएर घर पुग्ने स्थानीयले ठाउँ–ठाउँमा बास बस्दै गाउँ पुग्नुपर्ने हुन्छ । त्यसबीचमा अन्य व्यक्तिसँग संसर्ग हुनेहुँदा संक्रमणको जोखिम बढेको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘त्यस कारण अन्यत्रबाट दिक्तेल आइपुगेका व्यक्तिको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाउने र त्यो रिपोर्ट नआएसम्मका लागि अलग्गै राख्ने व्यवस्थाका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको हो ।’ ‘होल्डिङ’ सेन्टरमा बस्ने व्यक्तिको खानाको व्यवस्थापनका लागि खोटाङ उद्योग वाणिज्य संघले २० हजार रुपैयाँ सहयोग गर्ने रेडक्रसले जनाएको छ ।  

 

 

प्रकाशित: २१ असार २०७७ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App