७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाविरुद्धको खोप साउनभित्रै बजारमा ल्याउँछौं : आइसिएमआर

प्रतिकात्मक तस्बिर

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसिएमआर) ले आउने साउन महिना अर्थात् अगस्ट १५ तारिखभित्र कोरोनाविरुद्धको खोप आम मानिसका लागि बजारमा ल्याउने तयारी भइरहेको दाबी गरेको छ।  

उसले खोप परीक्षणका लागि सम्बन्धित संस्थाहरूलाई लेखेको पत्रमा यसैका लागि द्रुत गतिमा काम सक्न भनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

यो खोप आइसिएमआर र भारत बायोटेक कम्पनी मिलेर बनाएका हुन्। जसकाे नाम कोभ्याक्सिन राखिएको छ। 

आईसीएमआरले भनेको छ– अब एकचोटि क्लिनिक ट्रायल पूरा भएपछि अगस्ट १५ तारिख अर्थात् भारतको स्वतन्त्रता दिवसका दिन खोप आम प्रयोगका लागि सार्वजनिक गर्न सकिनेछ।’

खोप परीक्षणका लागि लागि भारतका १२ संस्थालाई जिम्मेवारी दिइने भएको छ। आईसीएमआरका निर्देशक डाक्टर बलराम भार्गवका अनुसार त्यसका लागि ती १२ संस्थालाई यही जुलाई ७ भित्र अनुमति लिन भनिएको छ।  

उनले पत्रमा लेखेका छन्, ‘कोरोना भाइरसको संक्रमण रोक्न आईसीएमआरमार्फत बनाइएको खोप फास्ट ट्र्याकबाट परीक्षण सक्न भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ।’

परीक्षण सकेर आगामी अगस्ट १५ सम्म आम प्रयोगका लागि खोप उपलब्ध गराउने गरी युद्धस्तरमा काम भइरहेको उनले बताए। तर यो काम सफल पार्न परीक्षणको जिम्मा लिएका संस्थाको सहयोगमा निर्भर हुने पनि उनले उल्लेख गरेका छन्।  

तर अन्य चिकित्सकले भने यति चाँडै खोप तयार हुन असम्भव रहेको टिप्पणी गरेका छन्।  महाराष्ट्र सरकारको कोरोना टास्क फोर्सका सदस्य डाक्टर शशांक जोशीले यति छोटो समयमा खोप बनाइसक्न करिब करिब असम्भव भएको बताएका हुन्।  

उनले भनेका छन्, ‘सामान्यतया एउटा खोप बनाइसक्न २ वर्ष लाग्छ। फास्ट ट्र्याकबाटै काम गरिए पनि कम्तीमा १२ देखि १८ महिनासम्म त लाग्छ। तर योभन्दा पनि कम समयमा खोप तयार भइसक्न असम्भव छ।’  

इन्डियन कलेज अफ फिजिसियनसँग सम्बद्ध डा. जोशीले आईसीएमआरले अगस्ट १५ भित्रै खोप सार्वजनिक गर्ने गरी संस्थाहरूलाई पठाएको पत्रप्रति आश्चर्य प्रकट गरे।  

स्वास्थ्य विशेषज्ञ एवं इन्टरनेसनल एसोसिएसन अफ बायोइथिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि आइसिएमआरको योजनाले आफू अचम्मित भएको बताएका छन्।  

उनले प्रश्न गरेका छन्, ‘आइसिएमआरले ती संस्था (परीक्षण गर्ने जिम्मा लिएका) लाई जुलाई २ मा पत्र लेखेको छ कि यही जुलाई ७ भित्र सबै औपचारिकता पूरा गर । यसको अर्थ हो मात्र ५ दिनभित्र! पाँच दिनमै परीक्षण खोप लिन मानिस तयार होलान्? इथिक्स कमिटीले अनुमति देला?’ बिबिसी हिन्दी

प्रकाशित: २० असार २०७७ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App