२२ असार २०७७ सोमबार
स्वास्थ्य

‘कोरोना निको पार्ने औषधि’ बनाएको आरोपमा रामदेवविरुद्ध उजुरी

फाइल तस्बिर : रामदेव र आचार्य बालकृष्ण

कोरोना निको पार्ने औषधि बनाएको भनेर जनमानसमा भ्रम फैलाएको आरोपमा भारतका योग गुरु रामदेवसहित पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।  

भातरीय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमितको उपचारमा प्रभावकारी भएको दाबी गर्दै केही दिनअघि ‘कोरोनिल’ नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका रामदेव र त्यसमा संलग्न अन्य चार जनाविरुद्ध जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा उजुरी हालिएको हो ।  

 

यो पनि पढ्नुहोस्

कोरोना निको पार्ने औषधि बनाएको बाबा रामदेवको दाबी

 

केन्द्रीय आयुष मन्त्रालयको स्वीकृतिबिनै कोरोना निको पार्ने भन्दै आयुर्वेदिक औषधि बेच्ने षड्यन्त्र गरेको आरोपमा रामदेव तथा उनको कम्पनी पतञ्जलि आयुर्वेद लिमिटेडका कार्यकारी अधिकृत आचार्य बालकृष्ण र कर्मचारी अनुराग वार्ष्णेय तथा यसमा संलग्न नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस)का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध कारबाही माग गर्दै प्रहरी कार्यालयमा उजुरी परेको समाचार द हिन्दुले लेखेको छ ।  

पतञ्जलि कम्पनीले जयपुरस्थित एनआईएमएससँग मिलेर बिरामीमा औषधि परीक्षण गरिएको र त्यसले सय प्रतिशत काम गरेको दाबी गरेको थियो ।  

तर बिनाप्रमाण र परीक्षण कोरोना निको पार्ने भनेर जनस्वास्थ्यमा गम्भीर खेलबाड गरेको आरोप उजुरीमा लगाइएको छ । वकिल बलवीर जाखडले शनिबार उनीहरूविरुद्ध उजुरी दर्ता गरेको प्रहरीका एडिसनल कमिसनर अशोक गुप्ताले आइतबार जानकारी दिएका छन् । तर अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले बताएका छन् ।  

 

यो पनि पढ्नुहोस्

रामदेवलाई मन्त्रालयको चेतावनी : कोरोनाको औषधि बनाएको भनेर प्रचार गर्न बन्द गर

 

प्रकाशित: १५ असार २०७७ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App