५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

सिदिङ्वाले ३५ प्रकारका औषधि चौबिसै घण्टा उपलब्ध गराउने

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले नेपाल सरकारले निःशुल्क रुपमा प्रदान गरेका ३५ प्रकारका औषधि गाउँपालिका भित्रका नागरिकलाई बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने घोषणा गरेको छ ।  

आर्थिक वर्ष २०७७।०७८ को बार्षिक बजेट तथा नीति र कार्यक्रममार्फत सिदिङ्वाले उक्त घोषणा गरेको हो । गाउँपालिका उपाध्यक्ष जीवनकुमार ताम्लिङका अनुसार स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई बिशेष आधार मानेर ल्याईएको बजेटमा कोभिड–१९ को प्रभाव र असर बिरुद्धको अभियानमा अनुकुलित हुने अधिकाँश कार्यक्रम समेटिएका छन् । ‘गाउँपालिका भित्रका नागरिकलाईसरकारले निःशुल्क उपलब्ध गराउने औषधि बाह्रै महिना चौबिसै घण्टा उपलब्ध गराउने छौं’उपाध्यक्ष ताम्लिङले भने‘यसका लागि जनशक्ति र औषधिको व्यवस्थापनमा गाउँपालिकाले जस्तोसुकै योगदान समेत गर्नेछ’ । गाउँपालिकाले साब्लाखु स्वास्थ्य चौकीलाई प्राथमिक स्वास्थ्य केन्द्र(पीएचसी)को रुपमा स्तरोन्नती गर्ने भनेको छ ।  

प्राथमिक स्वास्थ्य केन्द्र बन्नु अघि नै साब्लाखु स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा ल्याउने र ६५ बर्ष माथिका नागरिक,एकल महिला तथा पुरुष र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ल्याव सेवा दिने गाउँपालिकाको घोषणा छ । अहिले सम्म ताप्लेजुङमा मैवाखोलाको ढुङ्गेसाँघु र सिरिजङ्घाको तेल्लोकमा मात्र प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । गाउँपालिका भित्रका कोहि पनि नागरिकको अकालमा ज्यान नजाओस् भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरी पालिकाभित्रका रोगीहरुको उपचार पहुँच स्थापना गर्ने समेत घोषणा गरेको छ ।  

सो एम्बुलेन्समा ६० वर्ष माथिका नागरिक,बेपत्ता तथा शहीद परिवार र सुत्केरी महिलालाई ५० प्रतिशत सेवा शुल्क मिनाहा गर्ने गाउँपालिकाले घोषणा गरेको छ । गाउँपालिका भित्रका वडामध्ये कम्तिमा एउटा वडा छनौट गरी त्यहाँका ८० वर्ष भन्दा माथिका नागरिकहरुको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने कार्यक्रम समेत गाउँपालिकाले राखेको छ । गाउँपालिकाले बर्षमा कम्तिमा एकचोटी गाउँपालिकाको पायक पर्ने केन्द्रमा गाउँपालिका स्तरीय बृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ६० वर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयंसेविकालाई बिदा गर्ने नीति लिएको छ भने गर्भवती महिलाको सम्मानका लागि पोषण र स्वास्थ्यमा टेवा पुग्ने गरी प्रोत्साहन कार्यक्रम ल्याउने भएको छ ।  

गाउँपालिकाले प्रदेश र संघीय सरकारका सदस्यलाई झैं अध्यक्ष/उपाध्यक्ष निर्दिष्ट कार्यक्रम र कार्यपालिका सदस्य कार्यक्रम ल्याएको छ । अध्यक्ष/उपाध्यक्ष निर्दिष्ट कार्यक्रमका लागि २० लाख र कार्यपालिका सदस्य कार्यक्रमका लागि १५ लाख रुपैंया बिनियोजन गरिएको छ । साना–साना तत्काल नगरी नहुने योजना र कार्यक्रम जुन बेला आवश्यक पर्छ,त्यहिँ बेला सम्बोधन गर्ने गरी अध्यक्ष/उपाध्यक्ष निर्दिष्ट कार्यक्रम ल्याईएको छ भने कार्यपालिकाका सदस्यहरुलाई सबै वडामा सम्बोधन हुने गरी बजेटको परिधि भित्र रही योजना छान्ने अधिकार दिईएको छ । 

प्रकाशित: १४ असार २०७७ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App