coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कर्णाली अस्पताल सील

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । 

प्रतिष्ठानको फरक फरक विभागमा काम गर्ने ४ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए । मध्यरातमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा समेत रिपोर्ट पोजेटिभ आएपछि उनिहरुलाई आइसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । एक सातादेखि १४ दिन निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।  

चार जना प्रतिष्ठानका स्वास्थ्यकर्मी र कर्मचारीसहित १ जना वुटवलका व्यक्तिमा समेत कोरोना पोजेटिभ आएको हो । समुदायबाट नै संक्रमण आएको हुन सक्ने निर्देशक डा. रावल बताउँछन् । फरक फरक विभागका कर्मचारीमा कसरी संक्रमण भयो । यसको अनुसन्धान भईरहेको छ ।

मध्यरातमा नतिजा अप्रत्यासित पोजेटिभ आएपछि एकाएक पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको थियो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावलसहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्च स्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको वैठकले ईमरजन्सी वाहेक सवै सेवा अनिश्चितिकालिन वन्द गर्ने निर्णय गरिएको हो । जस अनुसार सबै सेवा ठप्प छन् ।

अस्पतालमै काम गर्ने स्वास्थ्यकर्मीहरुमा कोरोना पाजेटिभ देखिएपछि प्रतिष्ठानमा ड्यूटिमा खटिएका सवैको स्वाब संकलन गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ । प्रतिष्ठानको अस्पताल विभागले एक विज्ञप्ती जारी गर्दै पोजेटिभ सवैको अवस्था सामान्य छ । जुम्लाका प्रत्येक नागरिकलाई धैर्यता गरेर कोभिड १९ को लागि पालना गर्नुपर्ने नियम पालना गर्न आग्रह गरिएको छ ।  

सरकारले पछिल्लो समयमा लकडाउनमा केही खुकुलो गर्ने भनेपछि जुम्लामा भिडभाड अत्याधिक बढेको थियो । स्थानीय प्रशासनले सामाजिक दुरीसहितका काममा ध्यान दिन अपिल निरन्तर गरिरहेपनि भिड घटेको थिएन । यसअघि जुम्लाका कोरोना संक्रमित मध्ये २५ जना निको भएर फिर्ता भइसकेका छन् । ३ जना अहिले पनि आइसोलेसनमा रहेका प्रतिष्ठानले जनाएको छ ।

स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

कर्णाली अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, र उनीहरुको सम्पर्कमा रहेका व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकाम खलंगामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा जारी निषेधाज्ञा मिति २०७७ असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा संक्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ ( ३) बमोजिम गरिएको हो ।  

चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदिसहितका चार किल्ला भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । कोभिड कमाण्ड नियन्त्रण समितिको वैठक र जिल्ला सुरक्षा समितिको वैठको निर्णय अनुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित: १० असार २०७७ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App