७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कोरोनाका गम्भीर रोगीलाई डेक्सामेथासोन उपयोगी: बेलायती अध्ययन

भेन्टिलेटरमा रहेका बिरामीमध्ये २८ देखि ४० प्रतिशतसम्मलाई मृत्युबाट जोगाउन र अक्सिजन लिइरहेका बिरामीको मृत्युदर २० देखि २५ प्रतिशतसम्म कम गर्न डेक्सामेथासोन सफल भएको अध्ययनको निष्कर्ष ।

कोरोना भाइरसका गम्भीर बिरामीको उपचारमा सस्तो र जताततै पाइने डेक्सामेथासोन उपयोगी साबित भएको बेलायती विशेषज्ञको एक अध्ययनले देखाएको छ । कम डोजमा गरिने यो स्टेरोइड उपचारले भेन्टिलेटरमा रहेका एकतिहाइ बिरामीलाई मृत्युबाट जोगाउन सक्ने र अक्सिजन लिइरहेका पाँच बिरामीमध्ये एकजनालाई जोगाउन सक्ने बेलायती विशेषज्ञले मंगलबार बताएका हुन् ।

कोरोना भाइरसको उपचारमा विभिन्न औषधिको विश्वव्यापी परीक्षण भइरहेको छ । अनुसन्धानकर्ताले बेलायतमा सुरुदेखि नै यो औषधि प्रयोग गरिएको भए पाँच हजारजनाको मृत्यु रोक्न सकिने दाबी गरेका छन् । सस्तो र सर्वसुलभ भएकाले यो औषधि प्रयोग गरेर कोरोना भाइरसको संक्रमणबाट अत्यधिक प्रभावित विपन्न देशले फाइदा लिनसक्ने बताइएको छ ।

सामान्यतया कोरोना भाइरसका २० जना बिरामीमध्ये १९ जनाको उपचार अस्पताल भर्ना नगरी सम्भव हुन्छ भने भर्ना भएका पनि अधिकांश निको हुन्छन् । तर केहीलाई अक्सिजन र भेन्टिलेटर आवश्यक पर्छ । यस्ता खाले गम्भीर बिरामीका लागि डेक्सामेथासोन उपयोगी देखिएको हो । डेक्सामेथासोन सन् १९६० देखि प्रयोग हँुदै आएको औषधि हो । यो औषधि शरीर सुन्निने, दम र बाथरोगको उपचारमा प्रयोग हुँदै आएको छ ।

यसले भाइरसका कारण प्रतिरक्षा प्रणाली कमजोर हुँदा शरीरमा हुन जाने असर रोक्न सहयोग पु¥याउने विशेषज्ञको दाबी छ ।

अध्ययनका क्रममा अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धान टोलीले दुई हजार बिरामीलाई यो औषधि दिएको थियो र यो औषधि नदिएका अरु चार हजार बिरामीसँग तुलना गरिएको थियो । भेन्टिलेटरमा रहेका बिरामीलाई २८ देखि ४० प्रतिशतसम्म मृत्युबाट जोगाउन र अक्सिजन लिइरहेका बिरामीको मृत्युदर २० देखि २५ प्रतिशतसम्म कम गर्न यो औषधि सफल भएको बताइएको छ । अध्ययनका प्रमुख शोधकर्ता प्रा. हरबीले मृत्युदर घटाउन यो औषधि सफल रहेको र यो महŒवपूर्ण उपलब्धि भएको बताए । अर्का अनुसन्धानकर्ता प्रा. मार्टिन लानड्रेले कुनै विलम्ब नगरी अस्पतालमा रहेका गम्भीर बिरामीलाई यो औषधि दिनुपर्ने तर मानिसले आफैंले बजारमा गएर किनेर घर लग्न नहुने बताए । 

१० दिनसम्म बिरामीलाई यो औषधि दिन सकिने र बिरामीको जीवन रक्षाका लागि मात्र ३५ पाउन्ड पर्याप्त रहेको बताइएको छ  । यो औषधि विश्वभर पाइन्छ । डेक्सामेथासोन सामान्य लक्षण भएका र श्वासप्रश्वासमा समस्या नभएका बिरामीलाई भने त्यति उपयोगी नभएको पनि अध्ययनले देखाएको छ । यसअघि कोरोना भाइरसको उपचारमा मलेरियाको उपचारमा प्रयोग गरिने हाइड्रोक्लोरोक्विन औषधि प्रयोग गर्न सकिने चर्चा भए पनि यसले मुटुको समस्या बढाउने र मृत्युसमेत हुन सक्ने पाइएकाले यसलाई प्रयोग गर्न निषेध गरिएको छ । यसबाहेक रेमडेसिभिर नाम गरेको अर्काे औषधिले निको हुन लाग्ने समयावधि घटाउन सहयोग पु¥याउने गरेको बेलायतको नेसनल हेल्थ सर्भिसले जनाएको छ ।

भेन्टिलेरमा उपचार गरिने कोभिड बिरामीमध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको पृष्ठभूमिमा डेक्सामेथासोनले त्यस्ता बिरामीमध्ये एकतिहाइलाई बचाउने भएकाले यसको महŒव धेरै रहेको अनुसन्धानकर्ताको तर्क छ ।बिबिसी  

प्रकाशित: २ असार २०७७ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App