८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

ल्याव नहुँदा परीक्षण गर्न सकस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रयोगशाला नहुँदा कोरोना परीक्षण गर्न समस्या हुने गरेको छ । स्वाब संकलन गरी प्रदेशकै एक मात्र प्रयोगशाला धनगढी लैजान समस्या हुने गरेको छ । प्रदेशमा एउटै मात्र प्रयोगशाला भएपछि समयमै रिपोर्टसमेत आउन सकेको छैन ।

 संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको पनि परीक्षण गर्नुपर्ने बाध्यता छ । ‘रिपोर्ट आउँन १ हप्ता लाग्ने गरेको छ,’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले भने, ‘संकलित नमूनालाई ७२ घण्टा भित्र परीक्षण गर्न सकेमा विश्वसनीय र सही रिपोर्ट आउने सम्भावना धेरै हुने गर्दछ ।’ प्रदेशको प्रयोगशालामा चाप हुँदा समयमै रिपोर्ट नआउँदा सास्ती भोग्न परेको स्थानीय बताउँछन् ।

प्रदेश सरकारले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने भने पनि अहिलेसम्म कुनै पहल हुन सकेको छैन । चैत १५ गते मन्त्रीपरिषदले निर्णयले धनगढीसहित बैतडी र डोटीमा पनि प्रयोगशाला स्थापना गर्ने निर्णय गर्‍यो । तर धनगढीमा प्रयोगशाला स्थापना  भए पनि बैतडी र डोटीमा भने प्रयोगशाला स्थापना हुन सकेको छैन । जिल्लामा थुप्रै शंकास्पद व्यक्तिको नमूना परीक्षणका लागि पठाउने गरेको भए पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा चुनौती थपिएको छ । क्वारेन्टिन अवधि पूरा गरेकाहरुको आरडिटी नेगेटिभ आए एक हप्ता होम क्वारेन्टिनमा बस्न आग्रह गरिँदै आएको छ भने पोजिटिभ रिपोर्ट आएकाहरुको पिसिआरको लागि स्वाब संकलन गरी रिपोर्ट नआउँदासम्म क्वारेन्टिनमा राख्ने गरिएको छ । समयमै स्वाब संकलन गरी रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापन गर्न समस्या आएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक दर्गादत्त जोशीले बताए ।

बैतडीमा ल्याव स्थापनाको लागि सम्भाव्यता अध्ययनको काम सम्पन्न भएको पनि एक महिना बढी भइसक्दा समेत प्रदेश सरकारले कुनै चासो दिएको छैन् । जिल्लामै प्रयोगशाला स्थापना भए परीक्षणको दायरा  समेत बढाउन सकिने स्वास्थ्यकर्मि बताउँछन् । ‘स्वाब संकलन गरी धनगढी पठाउन दुई दिन लाग्छ,’ हाट स्वास्थ्यचौकीका ल्याव इन्चार्ज डम्बर कुवँरले भने, बैतडी वा नजिकको छिमेकी जिल्लामा प््रयोगशाला भए सहज हुन्थ्यो ।’ भारतका प्रभावित क्षेत्रबाट दिनप्रतिदिन भित्रिनेको संख्या बढ्दै गएको छ । दुई हप्ता क्वारेन्टिनमा बसेका धेरैको आरडिटी रिपोर्ट पोजिटिभ आएको छ । पिसिआर रिपोर्ट नआउँदासम्म उनीहरुको क्वारेन्टिन बसाइँ लम्बिने गरेको छ ।

समयमै रिपोर्ट नआउँदा स्वाब लिएकाहरु मानसिक तनावमा हुनेगरेका छन् । रिपोर्ट कस्तो आउला भन्ने तनाबले समस्या आउने गरेको बार एसोसिएसन बैतडीका कोषाध्यक्ष अधिवक्ता लक्ष्मीदत्त पाण्डेय बताउँछन् ।

बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन समेत गरेको थियो । ल्याव स्थापनाका लागि सम्भाव्यता अध्ययन भएको एक महिना बित्दासमेत कसनै सुरसार देखिएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रको टोलीले बैतडीमा गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछि प्रयोगशाला स्थापनाका विषयमा प्रदेश सरकारबाट कुनै निर्देशन प्राप्त नभएको जिल्ला अस्पतालका प्रमुख डा. जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि थ्रोट स्वाब संकलनको काम बन्द रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले  प्रदेशका सबै जिल्लालाई परिपत्र गर्दै प्रयोगशालामा चाप बढी भएकाले ५ दिनसम्म स्वाब संकलन नगर्न निर्देशन दिएको छ । स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीद्वारा हस्ताक्षरित सूचनामा धनगढीस्थित प्रयोगशालामा ल्यावको क्षमता कम हुँदा १ हजार जनाको स्वाब परीक्षण गर्न बाँकी रहेकाले केही दिन स्वाब संकलन नर्गन भनेको हो ।

भारतबाट फर्किएका ६० हजार बढी नागरिक यस प्रदेशका स्थानीय तहका क्वारेन्टाइनमा बसिरहेका छन् । कोरोना प्रभावित क्षेत्रबाट आएका नागरिक क्वारेन्टिनमा बसिरहेका छन् । पिसिआर परीक्षण बढाउनु पर्ने बेलामा बन्द गरिँदा झनै संक्रमण फैलने चिन्ता बढेको नागरिक समाज बैतडीका सचिव करन दयालले बताए ।

प्रकाशित: २४ जेष्ठ २०७७ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App