दुईछोरीलाई एकैपटक झाडापखालाले सताउँदा बुुवाआमालाई छोरी बचाउन हम्मेहम्मे प¥यो। गाउँकै झाँक्रीको झारफुक अनि नजीकैको हेल्थपोष्टको औषधिको भर। छोरीलाई झाडापखालाबाट बचाउन नसकेपछि वर्षदिनसम्म आमाका आँखा कहिल्यै ओभाएनन्। एक छोरीको मृत्यु भएको केही वर्षअघि एकछोराको पनि सानै उमेरमा मृत्यु भएको थियो। हुर्कँदै गरेका दुई सन्तान गुमाउँदाको पीडा बाबुआमालाई थाहा हुन्छ। दाजु र बहिनीको मृत्युले उनको बालमस्तिष्कमा चिकित्सक नै बन्ने निर्णयले घर ग¥यो।
अहिले त्रिवेणी गाउँपालिका –२ की धनमाया घर्ती सानै उमेरको उद्देश्य पूरा भई अहिले आफ्नै जिल्लावासीको सेवा गर्न पाउँदा मख्ख छिन्। छोरीले पढेर के हुन्छ र भन्ने मान्यता रहेको समाजमा ग्रामीण क्षेत्रकी एक छोरीले चिकित्सक पढ्ने चाहना राख्नु चानचुने कुरा थिएन। बाबुआमा पाल्ने छोरो नपढेर कमाउन हिँड्यो, अर्काको घर जाने छोरीलाई पढाएर के फाइदा, यस्तै प्रश्नको सामना उनका बाबुआमाले गर्नुपथ्र्यो। यस्तै परिवेशलाई चिर्दै धनमायाले नुवागाउँस्थित अरनिको माविमा आफ्नो अध्ययनलाई अगाडि बढाइन्।
बुवाआमा सामान्य किसान। तरकारी खेतीका साथै अन्य किसान झैँ निर्वाहमुखी खेती गरेर घर्ती परिवारको दिनचर्या बित्थो। विद्यालय जानुअघि एक भारी दाउरा वा घाँस ल्याउनु उनको नियमित काम हुन्थ्यो। दाउरा र घाँसको भारी कुनै दिन सानो भयो कि हजुर आमाको कुटाइ खानुपथ्र्यो । विद्यालय ढिला जाँदा पढाइ छुट्थ्यो। कक्षा ८ सम्म पढ्दा घरको कामले पढाइलाई धेरै असर नगरे पनि कक्षा ९ मा पुगेपछि भने असर गर्न थाल्यो। राम्रो विषय पढ्नका लागि घर्तीले कक्षा ९ मा ऐच्छिक गणित रोजिन्। त्यसलाई सामान्य अभ्यासले नपुग्ने भयो। घरमा पढ्नका लागि समय र वातावरण थिएन। पढाइ बिग्रने डरले उनले घरका सबै काम सकेर बेलुकाको खानापछि राति अबेरसम्म पढ्ने र गृहकार्य गर्ने गर्थिन्। अधिकांश गृहकार्य विद्यालयमा सक्थिन्। परीक्षाका समयमा पनि पढ्न समय हुादैनथ्यो ।
एसएलसीपछि दाजु काठमाडौँ बसेर पढ्ने भएकाले उनको पढाइ पनि उतै हुने भयो। किसानी गरेर कमाएको पैसाले ६ छोराछोरी पढाउनु बुवाआमालाई कम्ती सकस थिएन। “ऋणधन गरेर पढाउने बुवाआमाको आँट कम्ती प्रशंसनीय छैन”, धनमाया सम्झन्छिन्। प्लस टुमा विज्ञान विषय लिएर चिकित्सक बन्ने धोको थियो। पढाइमा अब्बल घर्तीले राम्रो अंक लिएर प्लस टु पास गरिन्। प्लस टु पछि सरासर बिएस्सी पढ्ने कि एमबिबिएसको तयारी गर्ने भन्ने दोधार भयो। चिकित्साशास्त्र पढ्नका लागि पनि रु ४० लाख खर्च लाथ्यो। अन्योलका बीच उनी बिएस्सीमा भर्ना भइन्।
यहीबीच गाउँकै रामबहादुर घर्तीमगरसँग विवाह भयो। पढाइलाई निरन्तरता दिने शर्तमा उनको विवाह भयो। एमबिबिएस अध्ययनका लागि तयारीलाई निरन्तरता दिँदै गरिन्। एमबिबिएस पढ्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना खोलेको उनले थाहा पायन्। सूचनामा दुर्गम जिल्लाका रुपमा रोल्पाका लागि एक सिट छुट्याएको रहेछ । त्यसमा धनमायासहित २२ रोल्पालीले फाराम भरे। प्रवेश परीक्षामा उनको नाम निस्कियो। पाटनमै पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर जु¥यो । प्रतिष्ठानको नियमानुसार एमबिबिएस पूरापछि उनले कम्तीमा चार वर्ष रोल्पा गएर सेवा गर्नुपर्ने भयो। अहिले घर्तीको रोल्पा अस्पतालमा सेवा गर्न थालेको दुई वर्ष पूरा हुँदैछ। रोल्पा बसाइपछि उनले एमडी अध्ययनको सोच बनाएकी छन्।
“दुई वर्षकी छोरी डेरामै छाडेर दैनिक काममा निस्कनुपर्छ। छोरीको हेरचाह बहिनीले गर्छिन्। बिहानै छाडेको छोरीलाई रेखदेख गर्ने र दूध चुसाउने फुर्सद छैन, हुँदैन”, घर्तीले भनिन्। झिसमिसेमा डेराबाट निस्केको मान्छे फर्कँदा रात परिसकेको हुन्छ।
कोरोनाको कारण उनको अचेल झनै व्यस्तता बढेको छ । रोल्पा अस्पतालको निमित्त कार्यालय प्रमुख भएर जिम्मेवारी सम्हालेको पनि धेरै भइसक्यो। बिरामीको जाँच, अस्पतालको प्रशासनिक काम अनि कोरोना नियन्त्रणको जिम्मेवारी। कार्यबोझको हिसाबकिताब छैन तर पनि अस्पताल जाने जो कोही उनको सेवावाट असन्तुष्ट हुँदैन। अनुहार तथा हाउभाउमा थकान कहिल्यै प्रकट हुँदैन। मुस्कानसहितको सेवा यी चिकित्सकमा पनि लागु हुन्छ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आफ्नै जन्मभूमिका रोल्पाली बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीको सेवा गर्न पाएकामा आफूलाई सन्तुष्टि मिलेको घर्तीको भनाइ छ। थाइराइड र मधुमेहकी बिरामी पुष्पा श्रेष्ठले भनिन्, “मीठो बोलेर राम्रोसँग जाँच गर्ने उहाँको स्वभाव रहेछ, राम्रोसँग जाँच गर्नुहुन्छ, उहाँ रोल्पाकै लागि देवी जस्तो हुनुहुन्छ।” प्रायः सबै बिरामी उनलाई कुरेर स्वास्थ्य जाँच गराउन चाहन्छन्।रासस
प्रकाशित: २४ जेष्ठ २०७७ ०५:०७ शनिबार