coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिम प्रदेश, प्रयोगशालाले नथेग्दा रोकियो नमुना संकलन

सुदूरपश्चिममा जेठमा मात्र भारतका विभिन्न ठाउँबाट ७० हजार नेपाली भित्रिएका छन् । उनीहरूलाई विभिन्न स्थानीय तहका क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा रहेका केही घर पनि गइसकेका छन् । करिब ६० हजारको संख्यामा अझै क्वारेन्टिनमै छन् ।

संक्रमण देखिएकाको, कन्ट्र्याक्ट ट्रेसिङमा रहेकाको, सम्भावित लक्षण भएकाको र आरडिटी जाँचमा पोजेटिभ देखिएकाको नमुनाको पिसिआर जाँच गर्न सुदूरपश्चिममा प्रयोगशालाको क्षमता अपुग हुन पुगेको छ । वैशाखको अन्तिमदेखि नै परीक्षणको तुलनामा संकलित नमुनाको चाप बढ्न थालेकोमा पछिल्ला दिनमा भारतबाट हजारौं भित्रिएपछि सुदूरपश्चिममा प्रयोगशालाले थेग्न नसकेर नुमना संकलन नै बन्द गरिएको छ । पाँच दिनसम्म थ्रोट स्वाब संकलन नगर्न प्रदेश स्वास्थ्य निर्देशानलयले लिखित रूपमै नौ जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेका छन् ।

प्रयोगशालाको क्षमताले धान्नेभन्दा अत्यधिक बढी नमुना संकलन हुन थालेपछि नमुना संकलन नै रोकिएको जनाइएको छ । नौ जिल्लामा नमुना संकलन गर्दा धनगढीमा रहेको एक मात्र प्रयोगशालाको क्षमता, जनशक्ति र अन्य सामग्री अपुग भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

‘हिजोसम्म मात्र एक हजार ८३ स्टक थिए, आज गरेर करिब १३ जति नमुना पुग्छ,’ उनले भने, ‘एउटा मेसिनले १८ घन्टा काम गरेर दुई सय ५० मात्र जाँच्ने क्षमता छ, विभिन्न जिल्लाबाट संकलन गरेर ल्याएका नमुना धेरै दिन जाँच गर्न नसकेर खेर जाने भएकाले संकलन रोक्ने भनिएको हो,’ उनले भने । अहिले स्टक रहेका नमुना जाँच गर्न पाँच दिन लाग्ने भएकाले त्यति दिन नमुना संकलन पनि रोक्न लागिएको उनको भनाइ छ ।

नमुनालाई बढी दिन राख्न माइनस ८० डिग्री आवश्यक पर्ने भएकाले त्यो राख्ने फ्रिजलगायत सामग्री र जनशक्तिको पनि अभाव रहेको उनले बताए । ‘सुर्खेतमा, राष्ट्रिय जवस्वास्थ्य प्रयोगशाला सबैतिर स्टक रहेका नमुना जाँच गरिदिन अनुरोध गर्दा उनीहरूले पनि आफूकहाँ स्टक भएकाले नसक्ने भनेकाले हामीसँग नमुना संकलन रोक्नुको विकल्प भएन,’ उनले भने, ‘नमुना संकलन गरेर मात्र के गर्ने जाँच पनि गर्न सक्नुपर्यो ।’

पछिल्लो दिनमा बढ्दो संक्रमण र कन्ट्रयाक्ट ट्रेसिङ हेर्दा दिनमा हजारभन्दा बढी नमुना जाँच गर्ने मेसिन आवश्यक भएको उनले बताए । दिनमा हजारभन्दा बढी जाँच गर्ने क्षमताको अटोमेटिक सिस्टम मेसिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायमा पत्र पठाएको उनले बताए ।

मन्त्रालयले पठाएको मेसिनले काम गरेन

सुरुमा कोरोना संक्रमण फैलिएसँगै मन्त्रालयले विभिन्न प्रदेशसँगै सेती प्रादेशिक अस्पतालमा पिसिआर मेसिन पठाएको थियो । तर उक्त मेसिनले चार घन्टामा एक मात्र नमुना जाँच गर्ने, त्यसको रिपोर्ट पनि भरपर्दो नभएपछि केन्द्रीय पशुरोग अन्वेषण कार्यालयमा रहेको रहेको रियल टाइम मेसिन ल्याएर धनगढीको क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालामा जडान भएको थियो ।

‘दिनभरि आठ–नौजनाको मात्र नमुना जाँच गर्न सकिने, अन्य बाहिरी खर्च धेरै लाग्ने र त्यो नमुना जाँचको रिपोर्ट पनि भरपर्दो नहुने भएपछि त्यसको काम छैन भनेर फिर्ता पठाउन भनिसकिएको छ,’ प्रयोगशालामा काम गर्ने एक प्राविधिकले भने, ‘त्यसको कुनै काम नै छैन, त्यो आँखामा छारो हालेजस्तै हो ।’ त्यो मेसिन विवादित ओम्नी समूहले खरिद गरेर पठाएको हो ।

अवस्था जटिल बन्ने डर

क्वारेन्टिनमा बसेका धेरैजनामा आरडिटी जाँचबाट पोजेटिभ देखिएको र संक्रमितको सम्पर्कमा रहेकाको धेरै जनाको नमुना संकलन बाँकी भएकाले नमुना संकलन नै पाँच दिन रोकिएपछि सुदूरपश्चिममा अवस्था जटिल बन्ने चिन्ता गरिएको छ । ‘भारतको रेडजोनबाट आएका हजारौं भएकाले तिनीहरूमा संक्रमित हुन सक्छन्, संक्रमितलाई छिटो पत्ता लगाएर आइसोलेसन गर्ने बेला नमुना संकलन नै रोकिँदा कोरोना संक्रमण फैलिने धेरै जोखिम बढ्यो,’ वरिष्ठ फिजिसियन शुभेशराज कायस्थले भने, ‘सकेसम्म छिटोभन्दा छिटो भारतबाट आएका सबैको पिसिआर जाँच गरेर संक्रमित छुट्ट्याएर समुदायमा महामारी फैलिन रोक्नुपथ्र्यो ।’

प्रकाशित: २४ जेष्ठ २०७७ ००:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App