१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

क्वारेन्टिनभन्दा खत्तम आइसोलेसन

कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसन बेडमा भोकैै संक्रमित। तस्बिरःनागरिक

कोरोना भाइरस पोजेटिभ पुष्टि भएका १७ जनालाई मंगलबार साँझ कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसन वार्डमा भर्ना गरियो। सुरुमा आइसोलेसनमा भर्ना गर्ने क्रममा उनीहरूलाई झुल, साबुन–पानीको बोतल, चाउचाउ र बिस्कुटको एक–एक प्याकेट दिइएको थियो। आइसोलेसन त क्वारेन्टिनभन्दा सुविधायुक्त होला भन्ने उनीहरूको सोचाइ थियो।

‘आइसोलेसन सुविधायुक्त होला भन्ने लागेको थियो तर कोठामा पुग्दा त शौचालय छ, पानी छैन,’ आइसोलेसन कक्षबाट एक युवकले फोनमा भने, ‘यहाँ आएपछि कोरोना भाइरसभन्दा पहिला भोकले मरिएलाजस्तो लाग्न थालेको छ। मंगलबार १२ बजेदेखि अहिलेसम्म भोकभोकै छौं। हामीलाई क्वारेन्टिनमै पठाइदिए बरु बाँच्ने थियौं।’

रातभर आइसोलेसनमा भोकले छटपाउँदा पनि कोही खाना दिन आएनन्। ‘दिसा रोकेर बस्दा पेट दुखेर हैरान छौं,’ आइसोलेसन वार्डबाट ती युवकले भने, ‘शौचालयमा पानी छैन, ढोकामा ताल्चा लगाइदिएको छ। हामी थुनिएका छौं। कसलाई कसरी गुहार्ने ?’

ती संक्रमित युवकका अनुसार उनलाई न ज्वरो आएको छ, न सास फेर्न गाह्रो भएको छ। कोरना भाइरस पोजेटिभ भन्दै अस्पतालमा ल्याएर थुनिएको छ।  

कोभिड विशेष अस्पताल सिरहाको आइसोलेसन बेडबाट नागरिकसँग फोनमा भक्कानिँदै ती युवकले भने, ‘परिवारमा रुवाबासी चलेको छ। के हुने हो ठेगान छैन। यहाँ शौचालय छ तर पानी छैन। हात धुने ठाउँमा पनि फोहोरैफोहोर छ। कोठाभरी लामखुट्टेको बिगबिगी छ। कोरोनाले भन्दा पनि भोक, अनिद्रा र अभावले मरिन्छ होला।’  

उनका अनुसार आइसोलेसन कक्ष भनिएको कोठाको झ्याल पनि बन्द छ, हावा ओहोरदोहर हुँदैन। ढोका पनि बन्द छ। डाक्टर हेर्न आउँदैनन्। त्यहाँ लगिएदेखि डर बढेको छ। सबै जना रोएर बसेका छन्।

भारतको चन्डीगढमा मजदुरीको काम गर्दै आएका सिरहाका उनीहरू भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगार गुमाउन पुगे। रोजगार गुमेपछि लकडाउन सुरु भयो। मजदुरीबाट कमाएको पैसाले जसोतसो दुई महिना गुजारा चलाएका उनी जेठ २ गते गाउँ (माडर) आइपुगे। ‘भारतका चार जना र हामी दुई जना जिप रिजर्भ गरेर माडरसम्म आयौं,’ उनले भने, ‘भारतका साथीहरू घर पुगिसके। म क्वारेन्टिनबाट आइसोलेसन भन्दै यो फोहोर ठाउँमा आइपुगेको छु।’  

संक्रमित युवकका अनुसार उनलाई न ज्वरो आएको छ, न सास फेर्न गाह्रो भएको छ। कोरना भाइरस पोजेटिभ भन्दै अस्पतालमा ल्याएर थुनिएको छ।  

उनीसँग चन्डीगढबाट आएर सँगै क्वारेन्टिनमा बसेका अर्का एक जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। ती युवा अहिले सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पसको क्वारेन्टिनमै छन्।

युवकलाई आफू कोरोना संक्रमित भएको पत्याउन गाह्रो भइरहेको छ। रुघाखोकी, ज्वरो सास फेर्न गाह्रो हुनेलगायत लक्षण नदेखिएका उनी आफू संक्रमित र १८ दिन सँगै बसेको साथी नेगेटिभ कसरी भयो ? भनी प्रश्न गर्छन्। यस्तो प्रश्नले अत्याएका उनलाई मनोबल बढाउने परमर्श कसैले दिएको छैन। हिजोबाट कोही भेट्न पनि आएका छैनन्।

‘डाक्टर, जनप्रतिनिधि, क्वारेन्टिनका कर्मचारी कसैले पनि हाम्रो डर हटाउने वचन दिएका छैनन्,’ उनले भने, ‘हामी सबै जना डराएका छौं, हाम्रो परिवारका सदस्य अतालिएका छन्। हामीजस्ता संक्रमितले डाक्टरको अनुहार पनि हेर्न नपाइने भयो।’

बुधबार दिउँसो २ बजे कालो प्लास्टिकमा दालभात हालेर हामी बसेको कोठाको झ्याल खोलेर फालिदिएको उल्लेख गर्दै ती संक्रमित युवकले भने, ‘खोलेर हेर्दा दालभात गन्हाइसकेको थियो। हामी खाएनौं। फोहोर राख्ने भाँडोमा फालिदियौं।’ उनका अनुसार क्वारेन्टिनमा कमसे कम त्यस्तो व्यवहार गरिएको थिएन। उनीहरूको मनोबल उच्च थियो। अस्पतालको व्यवहार निकै तुच्छ छ। 

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App