८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

होम क्वारेन्टिनका नाममा पन्छिन खोज्दै सरकार

कोरोना संक्रमित थेग्न मुस्किल

फाइल तस्बिर

कोरोना भाइरसबाट संक्रमितको संख्या उकालो लाग्दा सरकारलाई व्यवस्थापनमा मुस्किल परेको छ। समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको छ। स्वास्थ्य मन्त्रालयले अब थपिएका संक्रमितलाई होम क्वारेन्टिन राख्नुको विकल्प नभएको बताउन थालेको छ।  

स्वास्थ्य मन्त्रालयले गरेको तयारीमा कोरोना संक्रमितका लागि छुट्याइएको आइसोलेसन बेडको संख्या दुई हजारभन्दा कम छ। अहिले दैनिक डेढ सयभन्दा बढी संक्रमित थपिन थालेपछि सरकारको पूर्वतयारी अपर्याप्त देखिएको छ। सरकारले सुरुमा १५ सय बिरामी कोरोनाबाट संक्रमित हुन सक्ने आकलनका साथ तयारी गरेको देखिन्छ। तर संक्रमितको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि सरकारको अनुमान गलत साबित भएको छ।

स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा दुई सय ८२, प्रदेश २ मा एक सय ४० रवाग्मती प्रदेशमा ५ सय बेडसंक्रमितलाई आइसोलेसनका लागि छुट्याएकोे छ। गण्डकी प्रदेशमा एक सय १९, प्रदेश पाँचमा दुई सय ६१,कर्णाली प्रदेशमा २ सय ३० र सुदूरपश्चिम प्रदेशमा १ सय ३९ आइसोलेसन बेड छुट्याइएको छ। यो बेडको संख्या लेभल वान, लेभल टु, लेभल थ्री र जिल्ला अस्पतालसमेतको हो।  

प्रदेश १ को लेभल वान अस्पतालमा कोरोना अस्थायी अस्पताल (कोसी अस्पताल) लाई तोकिएको छ। उक्त अस्पतालमा ६० बेड आइसोलेसन, १० बेड आइसियू र १० वटा भेन्टिलेटर छन्। त्यस्तै लेभल टुतोकिएको कोसी अस्पतालमा १० बेड आइसोलेसन, ६ वटा आइसियू र दुई वटा भेन्टिलेटर छन्। लेभल थ्री तोकिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक सय बेड आइसोलेसन,७२ बेड आइसियू छन्। प्रदेश १ का जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले संक्रमितको संख्या बढ्न थालेकाले बराह क्षेत्रमा डेढ सय र गोठ गाउँमा दुई सय बेडको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी सुरु गरेको बताए।

प्रदेश २ को लेभल वानका रुपमा छुट्याइएको जानकी मेडिकल कलेजमा ५० बेड आइसोलेसन, १० बेड आइसियू र पाँचवटा भेन्टिलेटरछन्। लेभल टु तोकिएको जनकपुर अस्पतालमा आइसोलेसन १२ बेड, आइसियू १० बेड र तीनवटा भेन्टिलेटर छन्। नारायणी अस्पताल वीरगन्जमा २७ बेड आइसोलेसन, ६ बेड आइसियू र २ वटा भेन्टिलेटरको व्यवस्थापन गरिएको छ।

समय छँदै कोरोनासंक्रमण नियन्त्रणका लागि पर्याप्त पूर्वाधार व्यवस्थापन गर्न चुकेको सरकार अहिले आएर थपिएका कोरोना संक्रमितलाई व्यवस्थापन गर्न नसक्ने भन्दै पन्छिन खोजेको छ।

वाग्मतीको लेभल वान आयुर्वेद रिसर्च एन्ड टे«निङ सेन्टर कीर्तिपुरमा २४ वटा आइसोलेसन बेड छुट्याइएको छ। दुवाकोटको काठमाडौं मेडिकल कलेजमा २४ आइसोलेसन, ९ बेड आइसियू र २ वटा भेन्टिलेटर छन्। त्यस्तै लेभल वानकै कोरोना अस्थायी अस्पताल भरतपुरमा ५० आइसोलेसन बेड र १० आइसियू व्यवस्थापन गरिएको छ। लेभल टु अस्पतालमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३० बेड आइसोलेसन, २० बेड आइसियू र ८ वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ बेड आइसोलेसन, १५ बेड संक्रमित उपचार कक्ष, २१ बेड आइसियू र १५ वटा भेन्टिलेटर छन्। त्यस्तै सशस्त्र प्रहरीको अस्पतालमा १ सय २० आइसोलेसन, २० आइसियू बेड र २ वटा भेन्टिलेटर तथा भरतपुर अस्पतालमा १ सय  ३५ आइसोलेसन बेड, ३० आइसियू र २ वटा भेन्टिलेटर छन्। लेभल थ्री तोकिएको त्रिवि शिक्षण अस्पतालमा कोभिडका लागि ८ बेड आइसोलेसन व्यवस्थापन गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा ५२ वटा आइसियू र २० वटा भेन्टिलेटर छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको व्यवस्थापन गर्न समस्या पर्न थाले होम क्वारेन्टिनको व्यवस्था गरिने बताए। उनले पहिलो चरणमा अस्पतालमा रहेका बेडलाई व्यवस्थित गरेर आइसोलेसन बेडमा परिणत गर्ने बताउँदै त्यसले पनि नपुगे सञ्चालनमा रहेका सुविधासम्पन्न क्वारेन्टिनलाई आइसोलेसन बेडमा रुपान्तरण गर्नुको विकल्प नरहेको स्पष्ट पारे। ‘अन्तिम विकल्प भनेकै होम क्वारेन्टिन हो’, उनले भने।  

गण्डकी प्रदेशको लेभल वान बाग्लुङ अस्पतालमा कोभिड आइसोलेसन ८ बेड र भेन्टिलेटर ३ वटा छन्। त्यस्तै अस्थायी कोरोना अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा १० बेड आइसोलेसन व्यवस्था गरिएको छ।  लेभल टु अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा१४ बेड आइसोलेसनका लागि छुट््याइएको छ। प्रतिष्ठान अस्पतालमा ११ वटा आइसियू र १० वटा भेन्टिलेटर छन्।

गण्डकी प्रदेशको चिकित्सा महाशाखा प्रमुख डा. रामबहादुर केसीले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्याङ्जा जिल्ला अस्पताल, मध्यविन्दु अस्पताल र तनहुँको श्वासप्रश्वास अस्पतालमासमेत बिरामी भर्ना गर्न थालिएको बताए। संक्रमित बढ्न थालेपछि  होम क्वारेन्टिनमा राख्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।  

यस्तै प्रदेश ५ अन्तर्गत लेभल वान अस्पताल, कोरोना अस्थायी अस्पताल (लुम्बिनी)मा ४९ बेड आइसोलेसन, १० आइसियू र ८ वटा भेन्टिलेटर छन्। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरानाका लागि १० बेड आइसोलेसन, १० बेड आइसियू र ४ वटा भेन्टिलेटर छन्। राप्ती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ९५ बेड आइसोलेसन छुट्याइएको छ। उक्त अस्पतालमा पाँच वटा आइसियू र तीनवटा भेन्टिलेटर छन्। लेभल वानकै भीम अस्पतालमा कोरोनाका लागि २२ बेड आइसोलेसन तोकिएको छ। उक्त अस्पतालमा पाँच वटा आइसियू र दुई वटा भेन्टिलेटर छन्। कोरोना लेभल टु तोकिएको लुम्बिनी अस्पतालमा आइसोलेसनका लागि ६ बेड, आइसियू ४ वटा र भेन्टिलेटर २ वटा छन्। लेभल थ्रीमा रहेको नेपालगन्ज मेडिकल कलेजमा कोरोना आइसोलेसनका लागि ६ बेड, आइसियू २५ र भेन्टिलेटर ७ वटा छन्।प्रदेश ५ का चिकित्सा महाशाखा प्रमुख उमाशंकर चौधरीले संक्रमितको संख्या थपिन थालेपछि अस्पतालको क्षमता बढाउने र अन्य विकल्प खोज्नेतर्फ लाग्नुपर्ने अवस्था आएको बताए।  

कर्णाली प्रदेशको कोराना लेभल वान अस्पतालका रुपमा रहेको अस्थायी कोरोना अस्पताल सुर्खेतमा ४० आइसोलेसन बेड छन्। लेभल टु तोकिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय १० बेड आइसोलेसन, १० बेड आइसियू र ५ वटा भेन्टिलेटर छन्। त्यस्तै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा ५० बेड आइसोलेसन, ४ बेड आइसियू र ४ वटा भेन्टिलेटर छन्। चौरजहारी अस्पताल रुकुममा पनि हालै थप २० बेडको कोरोना अस्पताल सञ्चालनमा आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशकोलेभल टु अस्पतालसेतीमा२४ आइसोलेसन बेड, १० बेड आइसियू र ६ वटा भेन्टिलेटर छन्। लेभल वान भनेर तोकिएको अछाम जिल्ला अस्पतालमा १७ बेडको आइसोलेसन व्यवस्थापन गरिएको मन्त्रालयबाट प्राप्त विवरणमा उल्लेख छ। सुदूरपश्चिमका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बिरामीको चाप बढेसँगै प्रदेश सरकारले धनगढीमा ५० बेडको कोरोना अस्पताल बनाउन थालेको बताए। उनले प्रदेशका जिल्ला अस्पतालमा पनि तत्काल कोरोना संक्रमितलाई आइसोलेसन राख्न निर्देशन दिइसकेको बताए।  

क्रिटिकल केयरका लागि तालिम प्राप्त कर्मचारीको अवस्था हेर्दा पनि संक्रमित थपिँदै गएमा धान्न मुस्किल पर्ने देखिन्छ। स्वास्थ्यको विवरणअनुसार क्रिटिकल केयरमा आवश्यक पर्ने जनशक्ति प्रदेश १ मा ५० जना छन्।  उच्च दरमा कोरोना संक्रमित फेला परिरहेको प्रदेश २ मा जम्मा २७ जना यस्ता जनशक्ति छन्। वाग्मतीमा एक सय ६६, गण्डकीमा ९ र प्रदेश ५ मा ८९ जना जनशक्ति रहेको स्वास्थ्यको रेकर्डले देखाउँछ। त्यसैगरी कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिम प्रदेशमा २६ जना तालिमप्राप्त जनशक्ति व्यवस्थापन गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०७७ ०१:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App