८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

चिकित्सकमाथि आक्रमण रोकिएन

जनताको स्वास्थ्य उपचारका लागि खटिएका चिकित्सकमाथि आक्रमणका घटना बढ्दै जान थालेका छन् । पछिल्लो समय कोरोना संक्रमणका बेला जोखिम मोेलेर आफ्नो स्वास्थ्यको प्रवाह नै नगरी अग्रभागमा काम गरिरहेका चिकित्सक पनि हातपात र दुव्र्यवहारमा परेका छन् । तर ती चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेको सुरक्षा निकाय भने मुकदर्शक बनेको छ ।  

नेपालं मेडिकल कलेज(एनएमसी) मा ड्युटीमा खटिएका चिकित्सकलाई हातपात गर्दा सुरक्षाकर्मीले कुनै कारबाही नगरी घटनाको रमिते बन्नुले पनि सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठेको छ । बिरामीको उपचारको मुत्यु भएको घटनामा एनएमसीका कार्यरत चिकित्सकलाई हातपात गरेको विषयमा दोषीलाई कारबाही गर्नका लागि पीडित चिकित्सकले निरन्तर आवाज उठाए पनि एनएमसी र प्रशासनले चासो देखाएको छैन ।  

चिकित्सकहरुले बिहीबारदेखि हातपातको छानबिन गरेर दोषीमाथि कारबाही गर्न आग्रह गर्दा पनि अस्पताल प्रशासन र प्रहरी प्रशासनले बेवास्ता गर्दै आएको आरोप लगाए । आफूहरुले जोखिम उठाएर बिरामीको सेवामा खट्दा पनि आक्रमण हुनुले काम गर्न कठिनाइ भइरहेको पीडित चिकित्सकको भनाइ छ । ‘बिरामीको मृत्युको कारण पत्ता लगाउन अटोप्सी र पोस्टमार्टम गर्न सुझाव दिँदा दिँदै आफन्तले आफूहरुमाथि एक्कासी आक्रमण गरे । अस्पताल प्रशासनले उल्टै सिसिटिभी फुटेज नै गायब बनाएर प्रमाण नस्ट गर्न लागेकाले आन्दोलनमा उत्रन बाध्य भएका हौं,’ डा. गुञ्जन खड्काले भने ।

आन्दोलनरत चिकित्सकले अस्पताल प्रशासनमा तालासमेत लगाइदिएका छन् । आफूहरुलाई सुरक्षाको प्रत्याभूति नगरी काममा नफर्कने र अस्पतालमा लगाएको ताला पनि नखोल्ने उनले बताए । अस्पतालले दोषीलाई कारबाही गर्न पहल गर्नुपर्नेमा उल्टै प्रमाण नष्ट गर्न लागेको पाइएपछि अस्पताल प्रशासनका ताला लगाइएको आन्दोलनरत चिकित्सक खड्काको भनाइ छ ।  

नेपाल चिकित्सक संघका सदस्य डा. रितेश थापाले बिरामीको आफन्तले चिकित्सकमाथि हातपात गरेको विषयमा नेपाल चिकित्सक संघले स्थलगल अनुगमन गरेको बताए । ड्युटीमा खटिएका चिकित्सकमाथि निरन्तर हातपात हुन थालेपछि आफूहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराइएको बताए । 

उनले स्वास्थ्यमन्त्री ढकाल र प्रहरी प्रशासनलाई भेटेर चिकित्सकको  सुरक्षामा संवेदनशील बन्न आग्रह गरिएको जनाए । स्वास्थ्यमन्त्री ढकालले ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही गर्न र स्वास्थ्यकर्मीको सुरक्षाका  लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जवाफ दिएको डा .थापाले बताए ।  

थापाका अनुसार पीडित चिकित्सकले बिरामीको ट्राभल हिस्ट्री, सोध्ने र स्वास्थ्य परीक्षण गर्नका लागि तयारी गर्दा गर्दै एक्कासी आक्रमण गरेको, प्रहरी मुकदर्शक बनेको र अस्पताल प्रशासनले सिसिटिभी फुटेज गायव  बनाएको विषयमा छानबिन गर्न माग गरेका छन् ।  

नेपाल चिकित्सकको संघले दबाब दिएपछि नेपाल प्रहरीले अहिले उक्त घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको छ । नेपाल चिकित्स संघका महासचिव बद्री रिजालले स्वास्थ्य मन्त्रालयमा बारम्बार कुरागरी चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन र जोरपाटी घटनामा संलग्नलाई तुरुन्त कारबाही गर्न स्वास्थ्यमन्त्री र गृहसचिवसँग कुरा गरेपछि प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी प्राप्त भएको बताए । 

नेपाल चिकित्सक संघको दोषीलाई हिरासतमा लिई तुरुन्त कारबाही गर्नुपर्ने अडान रहेको बताउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणबिरुद्ध चिकित्स संघले कठोर कदम चाल्ने उनले स्पष्ट पारे । प्रहरी मुख्यालयको फरेन्सिक ल्याबमा सिसिटिभी फुटेज रिट्रिभ गर्ने काम भइरहेको डा. रिजालले जनाए ।  

एनएमसी जोरपाटीमा मात्र होइन हेटौडास्थित जनस्वास्थ्य प्रयोगशाला प्रमुख नारायण कार्कीमाथि प्रहरीको उपस्थितिमा काठमाडौंको नागढुंगामा दुव्र्यवहार भएको थियो । प्रहरीकै उपस्थितिमा दुव्र्यवहार गर्ने उत्तम कार्कीलाई प्रहरीले नियन्त्रण लिए पनि उनीमाथि दुव्र्यवहार गर्दा मुकदर्शक बन्ने प्रहरीमाथि भने कुनै कारबाही हुन सकेको छैन । त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सहरुलाई प्रहरी आफैंले हातपात गरेको घटनामा पनि कुनै कारबाही नगरी मिलापत्र गरेर छाडिएको थियो । त्यसयता लगातार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढिरहेको छ ।  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका हुने क्रम बढेपछि नेपाल चिकित्सक संघ, स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिल र गृह मन्त्रालयको प्रतिनिधिसहित र्यापिड रेस्पोन्स टिम गठन गर्न पहल भइरहेको बताए । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यंवहार गर्नेलाई तत्काल हिरासतमा लिएर कारबाही गर्न नेपाल चिकित्सक संघले दबाब दिइरहेको भन्दै ड्युटीमा खटिएको प्रहरीमाथि दुव्र्यवहार गर्नेलाई सरह कारबाही हुनुपर्ने उनको भनाइ छ ।  

सरकारले उपचारको कार्यमा संलग्न स्वास्थ्यकर्मीको कार्यमा बाधा अबरोध गर्नेलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा बिरोध गर्नेलाई हुने सरहको प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरको थियो । मन्त्रिपरिषद्ले चैतमा नै गरेको उक्त निर्णय अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । निर्णय कार्यान्वयन गर्ने जिम्मा पाएका सुरक्षाकर्मी नै ड्युटीमा खटिएका चिकित्सकहरुमाथि हातपात हुँदा मुकदर्शन बन्न थालेकाले चिकित्सकहरु आक्रोशित छन् । 

प्रकाशित: १९ जेष्ठ २०७७ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App