८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

संक्रमितको उपचारको नभई जोखिम भत्ता मागेका हौ; धौलागिरी अस्पताल

धौलागिरी अस्पताल बागलुङले कोरोना भाइरसका दुईजना संक्रमितको उपचारका लागि भत्ता माग नगरेको दावी गरेको छ। अस्पतालका बारेमा गण्डकी प्रदेशसभामा म्याग्दीका प्रदेश सांसद विनोद केसीले प्रस्तुत गरेको तथ्याङ्क नै गलत भएको बताउँदै  दुईजना कोरोना संक्रिमतको उपचारको लागि खटिएका नभई स्वास्थ्यकर्मीको चार महिनाको जोखिम भत्ता माग गरिएको अस्पतालले जनाएको छ।  

कोरोना भाइरस बिरुद्धको अभियानमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीको सम्मानभन्दा अपमान गर्ने शैलीले उठाइएको भन्दै अस्पताल ब्यवस्थापनले असन्तुष्टी जनाएको छ। कोरोना संक्रिमतको उपचारको लागि १ करोड ५३ लाख रुपैयाँ खर्च माग नभएको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेलले बताए।  

नियमानुसार चार महिनाको जोखिम भत्ताको फारम भरेर पठाउन भनेकाले प्रस्ताव गरी पठाइएको छ, ‘भत्ताका लागी यो सेवामा खटिएका होइनौ’ डा. पोखरेलले भने। उनले प्रदेश सरकारले सरकारले व्यवस्था गरेको अवस्थामा उक्त प्रस्ताव पठाइएको बताउँदै जोखिममा सक्रिय स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत अपिल गरेका छन्।

‘कोरोना संक्रमितको उपचारमा जोखिम मोलेर काम गरेका छौ,‘अस्पतालको प्रतिष्ठा जोगाउन सक्रिय छौ, भत्ताको लागी कुनै लोभ छैन’ डा. पोख्रेलले भने।  उनले संक्रमतिको संख्या नगेर भत्ता माग गरेको भन्ने आरोप अस्वीकार गरे। मन्त्रालयले चैत, वैशाख, जेठ र असारसम्मको विवरण पठाउन भनेर जानकारी आएपछि उक्त विवरण पठाइएको डा. पोखरेलको भनाई छ। डा.पोखरेलले निर्देशिकामा ब्यवस्था भएअनुसार १ सय ६९ जना कर्मचारीलाई चैत ९ गतेदेखि असार मसान्तसम्मको शतप्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत जोखिम भत्ता माग गरिएको बताए। ‘भत्ताको विषयले पेशाप्रति आक्रोश पोख्न काम भएको छ,‘फ्रन्टलाइनमा काम गर्नेको जोखिमलाई बुझ्नुहोस्’ डा. पोख्रेलले भने।  

फ्रण्टलाइनमा काम गर्ने डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी र अस्पतालका सरसफाई कर्मचारी गरी ११३ जना रहेकाले उनीहरुले शत प्रतिशत भत्ता पाउने बताए। दोस्रो प्राथमिकतामा रहेका २५ जनाले ७५ प्रतिशत र तेस्रो प्राथमिकता रहेका ३१ जनाले ५० प्रतिशत पाउने गरी वर्गीकरण गरेर पठाइएको अस्पतालले जनाएको छ। सरकारले ३ तहमा वर्गीकरण गरेर पठाउन भने अनुसार नै वर्गीकरण गर्दा उनीहरुलाई दिने ४ महिनाको जोखिम भत्ता वापत १ करोड ५३ लाख १८ हजार १ सय ५८ रुपैयाँ आएको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ। 

धौलागिरी अञ्चल अस्पताल गण्डकी प्रदेशमा कोरोना संक्रमणको उपचार गर्ने पहिलो अस्पताल हो। छिमेकी जिल्ला म्याग्दीमा १ जना संक्रमित भेटिएको अवस्थामा धौलागिरी अस्पतालले नै उक्त विरामीलाई समेत सेवा दिनुपर्छ। हाल धौलागिरी भित्रका चारजिल्लामा बागलुङका ८ जना संक्रमित मध्ये २ जना निको भइ घर फर्किएका छन् भने म्यादीमा १ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

प्रकाशित: १७ जेष्ठ २०७७ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App