coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

राप्तीसोनारीमा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिको भएन स्वाब संकलन

केही दिनअघि भारतबाट फर्केका नेपालीलाई राप्तीसोनारीको क्वारेन्टिनमा ब्यवस्थापन गरिदै । फाइल तस्बिर : नागरिक

बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई तीन दिनअघि कोरोना पोजेटिभ देखियो । कोरोना त्रासका कारण वडाअध्यक्षको सम्पर्कमा रहेका सिंगो जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन् । जनप्रतिनिधि मै कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालयको कामकाज बन्द छ । महामारीको समयमा जनताको सेवामा खटिरहेका यहाँका जनप्रतिनिधि आफै त्रसित र आतंकित हुनु परेको छ ।  

वडाअध्यक्षमा कोरोना संक्रमण देखिएको तीन दिन बितिसक्दा पनि अहिलेसम्म कसैको पनि कन्ट्रयाक्ट टे«सिङ गरी स्वाब संकलन गरिएको छैन । वडाअध्यक्षमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी आतंकित भइरहेका छन् । कतिपयले जनप्रतिनिधि र कर्मचारीले घर छाडेका छैनन् भने कतिपय क्वारेन्टिनमै बसिरहेका छन् । गाउँपालिका अध्यक्ष लाहुराम थारु समयमै स्वाब संकलन भएर रिपोर्ट आएको भए जनप्रतिनिधि र कर्मचारीले नियमित काम गर्न पाउने बताउँछन् । स्वाब संकलनका लागि पहल गरिदिन आफूलाई दिनहुँ फोन आउने गरेको उनले सुनाए । ‘स्वाब संकलनको काम ७ दिनभित्र गरिदों रहेछ,’ अध्यक्ष थारुले भने ‘वडाअध्यक्षहरुले छिटो स्वाब संकलन गरिदिनु पर्‍यो भनेर मलाई फोन गर्नु हुन्छ ।’  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले प्रयोगशालामा चाप धेरै भएकाले स्वाब संकलनमा ढिलाई भएको हुन सक्ने बताए । ‘प्रयोगशालामा धेरै नै चाप छ रे, त्यसकारण स्वाब संकलनको काम हुन नसकेको बुझिएको छ,’ उनले भने । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले संक्रमित वडाअध्यक्षको कन्ट्रयाक्ट टे«सिङ गरेर नाम लिष्ट तयार गरेपनि स्वाब संकलनको काम सुरु नभएको बताए । ‘वडाअध्यक्ष ज्युको कन्ट्रयाक्ट टे«सिङमार्फत ७२ जना जतिको लिष्ट बनेको छ,’ उनले भने ‘सम्भव त आज(शनिबार) बेलुकीसम्म स्वाब संकलन हुन सक्छ ।’  

स्वाब संकलन गरेर पनि प्रयोगशालामा बढेको चापका कारण ४८ घण्टाभित्र रिपोर्ट आउन कठिन भएका कारण ढिलाई भएको प्रमुख चुडालीले बताए । ‘भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालाले थेग्न नसकेको स्थिती छ, स्वाब संकलन गरेपनि धेरै दिन राख्न मिल्दैन,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले राप्तीसोनारीका संक्रमित ब्यक्तिको कन्ट्रयाक्टमा आएका ब्यक्तिको नाम लिष्ट जिल्लामा आइसकेको बताए । ‘संक्रमित ब्यक्तिसँग सम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन नियम अनुसार सात दिनभित्रमा गर्नुपर्छ, हामीहरु त्यहाँका गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधी र कर्मचारीसँग कुरा गरेर आइसकेका छौं, उहाँहरु धेरै आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ राप्तीसोनारीमा जनप्रतिनिधीलाई कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट टे«सिङ गरेर स्वाब संकलनको काम सुरु गरिने बताए । ‘कन्ट्रयाक्ट टे«सिङ गरेर नामको सूची तयार भइसकेको छ, सम्भव त आज(शनिबार) स्वाब संकलन हुन सक्छ ।’ राप्तीसोनारीको अवस्था बुझ्न प्रजिअ कुरुङवाङसहितको एक टोली शुक्रबार राप्तीसोनारीको सम्शेरगन्ज पुगेको थियो । त्यहाँ पुगेर उक्त टोलीले क्वारिन्टिन र आइसोलेसन कक्षको अनुगमन गरेको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका वडाअध्यक्षसहित पाँच जना ब्यक्ति राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित आइसोलेसनमा बसिरहेका छन् ।  

ती वडाअध्यक्षले जनताको सेवा गर्दा गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन् । ‘जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दा गर्दै कर्तव्य भुमिमै ढलिएछ भने पनि रतीभर पीर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवानसँग प्राथना गर्दछु, कसैलाई पनि केही नहोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App