८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पीसीआर परीक्षणका लागि जनशक्ति उत्पादन

खोटाङमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र आरडिटी परीक्षण गर्ने जनशक्ति उत्पादन गरिएको छ । हालसम्म जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठ र तालिम प्राप्त ल्याव असिस्टेण्ट शेखर अधिकारीले पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र आरडिटी परीक्षण गर्दै आएकामा स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले थप ३० जना जनशक्ति तयार पारेको हो ।

 जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीका डाक्टर, १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, ल्याव असिस्टेण्ट, ल्याव टेक्नेसियन र हेल्थ असिस्टेण्टलाई पीसीआर परीक्षणका लागि स्वाब संकलन र आरडिटी परीक्षण सम्बन्धी तालिम दिइएको हो ।  

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा सो कार्य गर्ने जनशक्तिकै अभाव भएपछि जनशक्ति तयार पारिएको स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । ‘हालसम्म एक जना डाक्टर र ल्याव असिस्टेण्टकै भरमा पीसीआर परीक्षणका लागि स्वब संकलन गर्ने र आरडिटी परीक्षण गर्ने काम गरिरहेका थियौँ,’ स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले भने, ‘अव जिल्लामा थप ३० जना जनशक्ति तयार पारिएको छ । अव तालिम प्राप्त जनशक्तीले सम्वन्धित स्थानीय तहमा कोरोना परिक्षण सबै काम गर्ने छन् ।’ पहिलो सत्रमा १७ जना र दोश्रो सत्रमा १३ जना स्वास्थ्यकर्मीलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

तालिम प्राप्त स्वास्थ्यकर्मी आफैले सम्बन्धित स्थानीय तहबाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र परीक्षणमा पठाउने, आरडिटी परीक्षण गर्ने लगायतका काम गर्ने छन् । तालिम प्राप्त जनशक्ति अभावमा यी कामका लागि स्थानीय तह जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयसँग निर्भर रहन बाध्य थिए । तालिम प्राप्त जनशक्ति तयार पारेसँगै पीसीआरको दायरा फराकिलो बन्ने अपेक्षा गरिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्वास्थ्यकर्मीले त जिल्ला अस्पतालसँगको परामर्शमा आफैले आरडिटी परीक्षण गरिसकेका छन् ।  

सिआइसिटि गठन गरिँदै

यस्तै, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हरेक स्थानीय तहमा केस इन्भेष्टीगेसन एण्ड कन्ट्याक्ट ट्रेसिङ टिम (सिआइसिटि) गठनको तयारी गरिएको छ । कोरोना सम्बन्धी केस इन्भेष्टीगेसन गर्ने र कन्ट्याक्ट ट्रेसिङको काममा सहयोग गर्नेगरी हरेक स्थानीय तहमा स्वास्थ्यकर्मी, ल्याव टेक्नेसियन, स्टाफनर्स वा अनमी सम्मिलित तीन जना वा आवश्यकताका आधारमा सोभन्दा बढि सदस्य रहने सिआइसिटि गठनको तयारी गरिएको हो । 

सिआइसिटि गठन प्रकृया, काम, कर्तव्य लगायतका विषयमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले बताए । हालसम्म साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मात्र सिआइसिटि गठन गरेको पाइएको छ । 

प्रकाशित: १५ जेष्ठ २०७७ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App