१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती

रोल्पा अस्पताल । तस्बिर : दिनेश/नागरिक

कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।

अस्पताल आउने बिरामीको संख्या घटे जस्तै पछिल्लो समय गर्भ जाँच गर्न आउने गर्भवतीको संख्यामा समेत उल्लेख्य कमी आउको छ । मातृ मृत्युदर र शिशु मृत्युदर बिस्तारै घट्दै गएको अवस्थामा गर्भवतीहरु नियमित जाँच गर्न आउन छोडेपछि त्यसले पार्ने नकारात्मक असरका बारेमा समयमै चासो दिनु पर्ने देखिन्छ ।  

रोल्पा अस्पतालमा गत वर्षको तुलनामा यो वर्ष लकडाउन भएको समयमा गर्भ जाँच गर्न आउनेको संख्या निकै घटेको छ । पोहर चैतमा ८५ जनाले अस्पतालमा गर्भ जाँच गराएकोमा यो वर्ष २९ जनाले मात्र जाँच गराएका छन् । त्यसैगरि गत वर्षको बैसाखमा ६९ जनाले गर्भ जाँच गराएकोमा यस पटकको बैसाखमा ४१ जनाले मात्र जाँच गरेको तथ्यांक छ ।  

अस्पतालमा हुने सुत्केरीको संख्या त्यती धेरै नघटे पनि गर्भ जाँच गराउनेको संख्या धेरै घटेको पाइएको हो । त्यसो त अस्पतालमा मात्र नभएर गाउँ गाउँमा रहेका बिभिन्न स्वास्थ्य संस्थामा पनि गर्भ जाँच र संस्थागत सुत्केरीको संख्या घटेको छ । एक महिनाको खोप पूर्ण रुपमा अवरोध भएको यहाँ अन्य नियमित बिरामी पनि स्वास्थ्य संस्था आउन छाडेका हुन् ।  

गर्भ जाँच घटे जस्तै जिल्लामा सुरक्षित गर्भपतन गर्नेहरुको संख्या पनि घट्दै गएको छ । ‘गाडि बन्द छ । रित्तै हिँड्न त गाह्रो हुन्छ झन् भारी पेट पैदल हिँडेर अस्पताल आउन गर्भवतीहरुलाई समस्या हुन्छ ।’ रोल्पा अस्पतालकी स्टाफ नर्स मिना कुवर भन्छिन् ‘कतिपय गर्भवतीले गाउँमा रहेका स्वास्थ्य संस्थामा जचाउनु भएका होला भने कतिपयले नजचाएको पनि हुन सक्छ । हामिले पनि लकडाउनको सुरुमै सकेसम्म अस्पताल नआउन सुझाएका थियौ ।’

नियमित गर्भ जाँच नगर्दा सुत्केरीको समयमा वा अन्य कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै चिकित्सकहरु सकेसम्म सुरक्षित मातृत्वका सवालमा अलि उद्वार हुनु पर्ने बताउँछन् । ‘नियमित गर्भ जाँच नगर्दा गर्भावस्थामा देखिएका खतराका लक्षणहरु देख्न सकिदैन जसले गर्दा पछि आउन सक्ने जटिलताहरु थाहा हुदैन ।’ रोल्पा अस्पताल प्रमुख धनमायाँ घर्ती भन्छिन् ‘समय मै समस्या पत्ता नलागेका कारण आमा र बच्चालाई थपिन सक्छ ।’

देश लकडाउनमा गएपछि तीनै तहका सरकार र स्वास्थ्य क्षेत्रको जिम्मा पाएका सरकारी तथा गैर सरकारी निकाय सुरक्षित मातृत्वका सवालमा करिब करिब मौन जस्तै छन् । गर्भ जाँच प्रोत्साहन गर्न भन्दै रकम समेत उपलब्ध गराउने गरेको सरकार यतिबेला आमा र बच्चाको स्वास्थ्यका मुद्धामा बोलेको छैन ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App