२४ श्रावण २०७७ शनिबार
स्वास्थ्य

यसरी गरौं तनाव व्यवस्थापन...

सुनिता खड्का

सुनिता खड्का  

निर्देशक तथा मनोविमर्शकर्ता, सुनगाभा वाटिका नेपाल

आज कोभिड–१९ का कारण लाखौंको ज्यान गुमिसकेको छ । ठूलो संख्यामा कोरोना संक्रमित छन् । यस महामारीले विश्वलाई रुवाइरहेको छ । यसबाट मनमा त्रास उत्पन्न हुनु स्वाभाविक हो ।  

लकडाउनले मान्छेको दिनचर्या बदलिदिएको छ । हामीले आन्तरिक तथा बाह्य कारणले विभिन्न समस्या सामना गर्नुपरेको छ । संकटका बेला आराम गरेर बसेता पनि हामी मानसिक रुपमा व्यस्त भइरहेका हुन्छौं । मनमा अनायासै हजारौं कुराले बहस गर्छन् । मिडियाबाट अकल्पनीय घटना वा समाचार सुन्दा र हेर्दा हाम्रो मानसिक स्वास्थ्यमा असर पुगिरहेको हुन्छ ।  

हामीले डरलाग्दा, त्रासपूर्ण र हिंस्रक खालका समाचार सुन्यौं भने र त्यसैको बारेमा कुरा ग¥यौं भने व्यवहारमा त्यही कुरा झल्किन्छ । फलस्वरुप हामी आत्तिने, डराउने, हतास हुने, चिच्याउने गर्छौं भने डरलाग्दा सपना पनि देख्छौं ।  

अरु समयमा भन्दा संकटमा मनमा धेरै कुरा खेल्ने, सकारात्मक भन्दा नकारात्मक कुरा बढी आउने गर्छन् । यस्तो अवस्थामा आत्महत्या गर्नेहरूको संख्या पनि बढिरहेको छ ।  

सुनिता खड्का  

हामी अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्दैनौ तर आफ्नो सोचलाई परिवर्तन गर्न त सक्छौ नि । यस्तो अवस्थामा हामीले मानसिक स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । मनलाई शान्त राख्न अनावश्यक कुरा दिमागमा नराख्ने । जसरी डिभाइसहरू हयाङ हुँदा हामी नचाहिने एप्स र फाइल मेटाएर सफा गछौ त्यस्तै दिनहुँ मनबाट नचाहिने कुरा डिलिट गर्नुपर्छ । दिमागलाई पनि आराम चाहिन्छ किनभने शान्त र स्वस्थ्य मस्तिष्कले मात्र सिर्जनशील काम गर्न सक्छ ।  

घरमै बसेर योग गर्दा मन र मस्तिष्कलाई आराम मिल्छ । कस्ता कुरा हेर्ने, सुन्ने र भन्ने नितान्त व्यक्तिगत रोजाइमा भरपर्छ । त्यसैले मानसिक स्वास्थ्यमा असर पर्ने खालका समाचारको मतलब नगरौं । सकारात्मक सोच बोकेर सिर्जनशील काममा व्यस्त भएमा हाम्रो व्यवहार पनि सकारात्मक हुन्छ ।  

जीवनमा आईपर्ने सबै खालका उतारचढावमा आफूमाथि आफैंले नियन्त्रण गर्नुपर्छ । यस्तो बेलामा आफूलाई सम्हाल्ने र संयमता अपनाउने । केही समयका लागि शान्त भएर बस्ने ।

कतिपय अवस्थामा हामी तनावमा भएको कसैलाई भन्न सक्दैनौ र कहिलेकाहीं भन्न पनि चाहँदैनौं । हाम्रो समाज र हामी हुर्किएको वातावरणले यसमा महत्वपूर्ण भूमिका खेल्छ । विशेषतः संकटको अवस्थामा हामीलाई तनाव हुन्छ । सकारात्मक तनावले मानिसलाई सबल र प्रगतिको बाटोतिर लैजान्छ भनें नकारात्मक तनावले विभिन्न प्रकारका समस्या जन्माउँछ । तनावलाई बेलैमा सुल्झायौ भने कुनै असर गर्दैन तर यो बढदै गयो भने मानसिक रुपमा विकाराल रुप लिन सक्छ । त्यसैले सबैभन्दा राम्रो उपाय तनाव नलिनु नै हो । कहिलेकाहीँ यसै तनाव भइदिन्छ । तनावको मात्रा कति छ भन्ने कुराले यसको व्यवस्थापन पक्षलाई केन्दित गर्दछ ।  

आज हामी सामान्य रुपमा हाम्रो दैनिक जीवनमा कसरी तनाव आउँछ र सामान्य तनावलाई कसरी लिने र यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा गर्दैछौं । हामीले दैनिक क्रियाकलापमा ध्यान दिएमा तनावमुक्त हुन सकिन्छ । यसलाई प्राकृतिक रुपमा लिने र व्यवस्थापन गर्ने । हामी शरीर स्वस्थ राख्न पौष्टिक खाना खान्छौं भने मानसिक स्वास्थ्यलाई पनि स्वास्थ राख्न सकारात्मक सोच्ने, कुरा गर्ने, सृजनात्मक काम गर्ने, सहयोग गर्ने, के गर्ने, के हेर्ने, के सुन्ने, के कुरा गर्ने भन्नेमा प्रस्ट हुनुपर्छ ।      

अब हामी सामान्य तनाव कसरी व्यवस्थापन गर्ने भन्ने कुरा गर्दैछौं ।

खुसी रहने– सक्रिय रहने र योग अभ्यासलाई दैनिकी बनाउने । दैनिक शारिरीक व्यायाम गर्ने, योग अभ्यास गर्ने । संकटको समयमा आफन्त, साथीभाइसँग भेटघाट गर्न नसके पनि भिडियो कल गरेर एक अर्कालाई हेरेर कुरा गर्ने । सूचना आदानप्रदान गर्ने, आफूले विश्वास गरेका साथीसँग मनका भावना साटासाट गर्ने, असम्बन्धित निकायले दिएका समाचार नसुन्ने, डरलाग्दा र अप्राकृतिक भिडियो नहेर्ने । यस्ता भिडियो हेर्दा राति निद्रा नपर्ने, डरलाग्दो सपना देख्ने आदि समस्या आउन सक्छन् । त्यसैले सुत्नुभन्दा केही समयअघि नै सामाजिक संजाल, टिभी आदि बन्द गर्ने र ध्यानमा बस्ने । सुत्नुअघि आफूले  दिनभर गरेका सकारात्मक, सिर्जनात्मक काम र खुसीका क्षण सम्झने । अथवा किताब पढ्ने ।  

आफ्नो लागि समय– जति नै व्यस्त भए पनि आफ्नो लागि पनि समय छुट्टयाउनुहोस् र त्यस समयमा आफूलाई मन पर्ने र खुसी बनाउने काम गर्नुहोस् । यसले गर्दा तपाईंलाई कसैप्रति गुनासो हुनेछैन । अर्को कुरा, मैले यो इच्छा पुरा गर्न पाइनँ भन्ने दुखेसो पनि रहँदैन । बरु आत्मसंतुष्टि मिल्छ ।  

मनलाई शान्त राख्न अनावश्यक कुरा दिमागमा नराख्ने । जसरी डिभाइसहरू हयाङ् हुँदा हामी नचाहिने एप्स र फाइल मेटाएर सफा गछौ त्यस्तै दिनहुँ मनबाट नचाहिने कुरा डिलिट गर्नुपर्छ ।

आत्मनियन्त्रण– मानिसको मनमा सकारात्मक र नकारात्मक सोच आउँछन् । कहिलेकाहीँ तपाई यत्तिकै सानोसानो कुरामा पनि आत्तिने, रिसाउने र चिच्याउने गर्नु हुन्छ ! यस्ता गतिविधि स्वस्तफूर्तः रुपमा हावी भइदिन्छन् । यसको व्यवस्थापन गर्न गाह्रो भई गलत ठाउँ र मानिसलाई पोख्ने सम्भावना पनि हुन्छ । जसले गर्दा सुमधुर सम्बन्ध बिग्रिन्छ र घटनाले थप तनाव दिन्छ । त्यसैले जीवनमा आइपर्ने सबै खालका उतारचढावमा आफूमाथि आफैंले नियन्त्रण गर्नुपर्छ । यस्तो बेलामा आफूलाई सम्हाल्ने र संयमता अपनाउने । केही समयका लागि शान्त भएर बस्ने । लामोलामो श्वास लिने जसले गर्दा आत्मबल बढ्छ ।  

सकारात्मक सोच–जीवन नै संघर्ष हो भन्ने बुझेर जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच लिएर अघि बढ्नुहोस् । सकारात्मक सोच विकास गर्न अभ्यस्त रहनु होस् किनभने यो लामो समयको अभ्यासपछि प्राप्त हुने सफलता हो । तपाईले आफ्ना भावनालाई  नियन्त्रणमा राख्न सक्नुभयो भने मात्र मन शान्त हुन्छ । फलस्वरुप तपाईंले गर्ने व्यवहारमा सही प्रतिक्रिया दिनु हुनेछ । त्यसैले मन र मस्तिस्कलाई स्वासप्रश्वास प्रक्रियाद्वारा दैनिक सफा गर्नुपर्छ । त्यस्तै खानपानमा ध्यान दिने, नकारात्मक कुरा वास्तै नगर्ने । जोसँग चित्त बुझेको छैन त्यसैसँग संवाद गरेर टुंगोमा पुग्ने ।  

हुन्न पनि भन्नुहोस्– तपाईँ आफूले गर्ने हरेक काम मेहनतसाथ समयमै सक्नुहोस् । समय बाँकी छ भनेर अरुले गर्नुपर्ने काम तपाईलाई गर्न लगाएको खण्डमा आफ्नो इच्छा विपरीत कहिल्यै नगर्नुस् । यसले तपाईलाई तनाव हुनसक्छ । आफ्नो योजनामा यसले असर गर्छ भने आफ्नो कुरा राख्नुहोस् । र तनाव लिने काम नगर्नुहोस् । सबै मिलेर कामको बाँडफाँड गर्नुहोस् र परिवारभित्र सहयोगीको भूमिका निर्वाह गर्दै स्वस्थ  वातावरण बनाउनुहोस् ।  

अस्वस्थ्य बानीे त्याग्ने– अस्वस्थ्य बानीले व्यावहारिक र दैनिक खानपानसँग प्रत्यक्ष रुपमा सम्बन्ध राख्छ । जस्तैः कसैकसैलाई तनाव भयो भने केही तोडफोड गर्ने, आफ्नो अघि जे छ त्यही टिपेर हान्ने, सिसा फुटाउने, बच्चाबच्चीलाई पिट्ने आदि गतिविधि पनि गरेको पाइन्छ । यसले गर्दा केहीछिनका लागि त आनन्द आउँछ होला । तर, यसले ल्याउन सक्ने खतरा भने भयावह हुनेछ । तनाव भयो भनेर मदिरा पिउने, चुरोट पिउने आदि गरेको पनि पाइन्छ । यस्ता गतिविधिबाट तनाव झन् बढ्छ । यस्ता गतिविधि बानीमा परिवर्तन भयो भने घातक हुन्छ । यसले परिवार र समाजमा पनि अशान्ति बढाउँछ । वाल मनोविज्ञानमा पनि प्रत्यक्ष रुपमा असर पु¥याउँछ । यस्तो बानी भएका आफैंल समाधान खोज्नुपर्छ नत्र परिवारले मद्दत गर्नुपर्छ ।  

सत्य स्विकार्नुस– तपाईको बसमा सबै कुरा हुन सक्दैन । समय र परिस्थितिले सधैं  तपाईलाई साथ नदिन सक्छ । कतिपय अवस्थालाई नचाहँदानचाहँदै झेल्नुपर्ने हुन्छ । तपाई समय र परिस्थितिभन्दा बलवान नहुन सक्नुहुन्छ । त्यसैले कतिपय अवस्थालाई आत्मसात गर्दै अघि बढ्नुपर्छ । जुन कुरा आफ्नो हातमा छैन र त्यसलाई बदल्न सकिँदैन भने एउटै उपाय हो सत्यलाई स्वस्फुर्त स्विकार गरी हाँसीखुसी अघि बढ्न सक्नुहुन्छ । यसबाट सकारात्मक सोच विकास हुन्छ । तनाव व्यवस्थापन गर्न सकिन्छ । आत्मबल बढ्छ । र, आफूलाई मानसिक, शारीरिक, भौतिक र आध्यात्मिक रुपमा फूर्तिलो राखी स्वावलम्बी बन्न सकिन्छ । जिन्दगी पनि सार्थक बन्छ ।  

प्रकाशित: १२ जेष्ठ २०७७ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App