coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

८ महिनादेखि डाक्टरबिहिन रोल्पाको होलेरी

होलेरी प्राथमिक स्वास्थ्य केन्द्र रोल्पा। तस्बिरः दिनेश नागरिक

पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामीलाई समस्या परेको छ। कोरोना महामारीको त्रासका समयमा लामो समयदेखि गाउँमा चिकित्सक नहुँदा यो क्षेत्रका स्थानीयहरु मारमा परेका हुन्। मौलिक हकका रुपमा लिइएको स्वास्थ्य नै अस्तब्यस्त हुँदा पनि राज्यको आँखा पुगेको छैन। समायोजन भएका कारण यहाँ कार्यरत डा. आकाश बेलवासे गत असोज जिल्ला छोडेर गए पछि ८ महिना यता होलेरी डाक्टर बिहिन बनेको हो।  

पश्चिम रोल्पाको एक मात्र गतिलो स्वास्थ्य संस्थाका रुपमा चिनिएको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा डाक्टर नभएको गुनासो पटक पटक उठ्ने गरेपनि कसैले गम्भिरताका साथ लिएको पाइदैन। स्वास्थ्य सस्थामा डाक्टर नभएपछि बिरामीहरु उपचारको खोजीमा दाङ वा अन्यत्र झर्ने गरेका छन्। जिल्लामा निकै काम गरेको भनेर पटक पटकका भाषण गर्ने जिल्लाका राजनीतिक नेतृत्वले स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा ध्यान नदिदा स्थानीयहरुलाई समस्या परेका छन्।

‘डाक्टर नहुदा सेवामा समस्या भएको छ। यहाँ स्टाफ नर्स पनि छैनन्। ३ अनमी र ३ अहेबको भरमा संस्था चलिरहेको छ।’ होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब बुद्धिजिवी सेजवालले भने ‘अहिले पनि दैनिक करिब २०÷२५ जना बिरामी आउछन्। धेरै केसहरु दाङ रिफर गर्छौ।’ कतिपय बिरामी त डाक्टर छैनन् भन्ने सुनेकाले सुरुमै दाङ जाने गरेका छन्। अहिले यो क्षेत्रका बिरामी त सकसमा छन नै बिभिन्न कारण र घटनाले हुने अस्वभाबिक मृत्युका लागि गर्नु पर्ने पोष्टमार्टमका लागि कि त सदरमुकाम वा दाङ सम्म पुग्नु पर्ने बाध्यता छ।  

डाक्टर नभएपछि बिरामी अफ्ठ्यारोमा परेका हुन। सेजवाल भन्छन् ‘यो क्षेत्रका बिरामीलाई उपचार लिन निकै आर्थिक भार पर्ने गरेको छ। यहाँ पोष्टमार्टम पनि हँुदैन। भिडियो एक्सरे पनि बन्द भएको छ।’ त्यसो त यहाँ एक्सरे गर्ने कर्मचारी नहँुदा सादा एक्सरे सेवा पनि रोकिएको छ। पश्चिम रोल्पाको ठूलो भुभागका जनताले सेवा लिइरहेको सरकारी सस्थामा चिकित्सक नहुँदा स्थानीयले समस्या झेलिरहेको भए पनि सरोकारवालाले चासो दिएका छैनन्।

कोरोना संकटका समयमा छेउँको स्वास्थ्य सस्थामा डाक्टर नभएपछि जनप्रतिनिधि पनि दिक्क बनेका छन्। ‘डाक्टर नहँुदा समस्या सुरु भएको छ। मन्त्रालय तिर कुरो गरेको छु। प्रदेश र संघ तिर अनुरोध गरेको छु।’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने ‘स्थानीय सरकारले डाक्टर नियुक्ति गर्न सक्दैन माथिबाट छिटो पठाइदिए हुन्थ्यो।’ स्थानीयहरुका अनुसार यहाँ डाक्टर नहुदा बिरामीले सेवा नपाउनु त छदै छ स्वास्थ्य सस्था पनि लथालिङ्ग बन्दै गएको छ। ८ महिना अगाडि समायोजन भएर डाक्टर गएपछि होलेरी डाक्टर बिहिन बनेको हो।

कोरोना त्रासले बिश्व नै तर्सिरहेका समयमा दुर्गमका स्वास्थ्य संस्थामा चिकित्सक पठाउने बारे राज्यले बेलैमा चासो दिनुपर्ने देखिन्छ। होलेरी र यस आसपासका गाउँमा भारतबाट आउनेहरुको लर्को छ। यो असहज अबस्थामा चिकित्सकको आबस्यकताको महसुस गर्दै होलेरीमा चिकित्सकको ब्यबस्था गरिदिन स्थानीय लगायत जनप्रतिनिधिले पनि सरकारसंग माग गरिरहेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App