१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

खोटाङमा एक सय ३७ जनाको आरडिटी रिपोर्ट नेगेटिभ

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ सय ३७ जनाको आरडिटि रिपोर्ट नेगेटिभ आएको छ । काठ्माण्डौं, उदयपुरको गाईघाट लगायतका ठाउँबाट आएका स्थानीयको आरडिटि टेष्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो । गाउँपालिका आफैले १ सय ५० थान टेष्ट किट ल्याएर आईतबार आरडिटि परिक्षण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

जिल्ला अस्पतालबाट डाक्टर तथा ल्यावका स्वास्थ्यकर्मी नआएपछि गाउँपालिकार्म कार्यरत स्वास्थ्यकर्मीमार्फत आरडिटि टेष्ट गरिएको हो । यसअघि गरिएको आरडिटि टेष्टमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ४४ जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो ।  

जिल्ला अस्पतालबाट आउने निश्चित गरिएका स्वास्थ्यकर्मी नआएपछि स्थानीय स्वास्थ्यकर्मीमार्फत आरडिटि टेष्ट गरिएको गाउँपालिकाले जनाएको छ । आरडिटिका लागि तीन दिन अगाडिका लागि तोकिएको मिति जिल्ला अस्पतालका स्वास्थ्यकर्मीकै कारण आईतबारका लागि सारिएकामा पुःन स्वास्थ्यकर्मी नआएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘तीन दिन अगाडि नै आरडिटि गर्ने निश्चित गरेका थियौँ, मान्छे चौंरभरी आए, त्यत्तिकै फर्काइदियौँ,’ अध्यक्ष राईले भने, ‘आईतकारबालागि निश्चित गरेका थियौँ, १० बजे त आउन सक्दैनौं भन्ने जानकारी आएपछि गाउँपालिकाकै स्वास्थ्यकर्मीलाई लगाएर टेष्ट गरेका हौँ ।’  

अस्पतालबाट डाक्टर र ल्यावका स्वास्थ्यकर्मी जाने तयारी गरिएको भए पनि वर्षाका कारण सडक बिग्रेर गाडी चल्न नसक्दा आरडिटि गर्न जान नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । गाडी खोजेर पठाउने प्रयत्न गरेको भए पनि वर्षाका गाडी हिँड्न नसकेपछि स्वास्थ्यकर्मी फर्किएको स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले मगाइएको गाडी दिक्तेलको हाटडाँडाबाट अस्पतालसम्मै झर्न नसकेको बताए । गाडीमार्फत दिप्रुङ जाने अवस्था नभएपछि गाउँपालिकाकै स्वास्थ्यकर्मीलाई आरडिटि गर्न भनिएको डा. श्रेष्ठले बताए ।  

हालसम्म जिल्लाका १० स्थानीय तहमा ५२० जनाको आरडिटि र १०५ जनाको पिसिआर परिक्षण भइसकेको छ । त्यसमध्ये साकेला गाउँपालिकाका दुई जनाको आरडिटि रिपोर्ट पोजिटिभ र हलेसी तुवाचुङ नगरपालिकाका एक जनाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको डा. श्रेष्ठले बताए । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ११३ जना, हलेसी तुवाचुङ नगरपालिकाका ५८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १८१ जना, साकेला गाउँपालिका ११८ जना, खोटेहाङ गाउँपालिकाका ६२ जना, जन्तेढुंगा गाउँपालिकाका ५८ जना, रावाबेँसी गाउँपालिकाका २६ जना, बराहपोखरी गाउँपालिकाका २६ जना, ऐसेलुखर्क गाउँपालिकाका १० जना र केपीलासगढी गाउँपालिकाका ५ जनाको आरडिटि गरिसकिएको छ । 

आरडिटिका लागि जिल्लाका दिप्रुङ गाउँपालिका र साकेला गाउँपालिकाले मात्र किट खरिद गरेर ल्याएको छ । साकेलाले दुई सय थान किट खरिद गरेको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । आरडिटिको बिश्वसनीयतामाथि प्रश्न उठिरहेका भएपनि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा आरडिटि परिक्षण जारी छ ।  

जिल्लामा सामाजिक विकास मन्त्रालयबाट चार चरणमा ५५० थान र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट ५ सय थान आरडिटि किट आएको छ । यस्तै, बिभागबाट पिसिआरका लागि स्वाव संकलन गर्नेक्रममा उपयोग गरिने तीन चरणमा ६२५ थान भिटिएम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।  

प्रकाशित: ११ जेष्ठ २०७७ १५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App