२८ असार २०७७ आइतबार
स्वास्थ्य

लक्षण विनाका कोरोना संक्रमितले अस्पताल भरिए

चिकित्सक भन्छन्, ' गम्भीर लक्षण नदेखिएकालाई 'होम वा फरक आइसोलेसन'मा राखाैं'

कोरोना संक्रमितले तराईका अधिकांश कोरोना अस्पतालहरु भरिसकेका छन। केहि बाँकी रहेका पनि संक्रमित थपिदैं जाँदा छिट्टै भरिने निश्चत छ। तर अस्पतालको आइसोलेसनमा रहेका अधिकांशमा कोरोनाको गम्भीर लक्षण नै नदेखिएको प्रदेशका मुख्य अस्पतालहरुले जनाएका छन्।  

नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका ७० वटै शैय्या कोरोना संक्रमित विरामीले भरिभराउन छन्। तर कुनै पनि विरामीमा गम्भिर लक्षण छैन। त्यसै गरी कोशी अस्पतालमा भर्ना भएका ३४ विरामी मध्ये १ जनामा मात्र गम्भिर लक्षण छ। अन्य लक्षण नभएको अस्पतालकी मेडिकल सुपरिडेन्ट डा.संगिता मिश्रले बताइन्। बुटवल प्रादेशिक अस्पतालले पनि कुनै पनि व्यक्तिमा लक्षण नभएको जनाएको छ। भर्ना भएका संक्रमित मध्ये कुनैमा पनि लक्षण नभएको शुक्रराज सरुवा रोग अस्पतालले जनाएको छ।  

लक्षण नभएकै विरामीले बुुटवलको कोभिड अस्पताल भरिएपछि अन्य विरामीलाई भैरहवाको  भीम अस्पतालमा रेफर गरिरहेको छ। त्यो अस्पताल पनि भरिएपछि दाङ्ग पठाउनु पर्ने अवस्था आउने प्रादेशिक अस्पतालका सूचना  अधिकृत डा.कृष्ण गौतमले बताए। यो अस्पतालमा रहेका ३६ वटै शैय्या लक्षण नभएका विरामीले भरिएका छन्।  

त्यसै नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना भएका ७४ जनालक्षण विहिन  विरामीले भरिएका छन्। अस्पतालमा लक्षण विनाका विरामी राख्दा संक्रमण बढ्दै जाँदा गम्भिर अवस्थाका विरामीले ठाउँ नपाउने र लक्षण नभएका विरामीलाई लक्षण भएकाहरुको दृष्यले असर पर्ने भएकोले यसको विकल्प खोज्नु पर्ने विज्ञ चिकित्सकहरु बताउँछन्।  

नारायणी  उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिडेन्ट मदन उपाध्यायको विचारमा लक्षण नभएकालाई अस्पालमा अन्य गम्भिर विरामीसित मिसाएर राख्नुभन्दा होम आइसोोलेशन  तथा होटेल तथा सार्वजनिक स्थलमा व्यवस्थित बनाएका आइशोलेशनमा राख्नु उचित हुने सुझाए।

डा.उपाध्यायले गम्भिर भएका विरामीले भर्ना नपाउने अवस्था आउन सक्ने भएकोले सरकारले बेलैमा सातै प्रदेशमा लक्षण नभएका विरामीको लागि होम आइसोेलशन सम्भव भए होटेल तथा अन्य सार्वजनिक स्थललाई व्यवस्थित बनाउनु पर्ने बताए।

बुटलव प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डा. राजेन्द्र खनालले यही स्तरमा संक्रमणको दर  बढिरह्यो भने हालको संरचनाले धान्न नसक्ने बताए। ‘अहिले भएका सबैै शैय्या भरिभराउ छन्, यही गतिमा बढेमा अस्पतालमा राख्ने स्थिति छैन’उनले भने। सोही अस्पतालका सूचना अधिकृत डा. कृष्ण गौतमले कोभिड १९ अस्पतालमा लक्षण विना र लक्षण भएकालाई अस्पतालमै राख्नुभन्दा यसको उचितविकल्प खोज्नु पर्ने सुझाउँछन् ‘विरामी बढ्दै गएपछि यसको उचित विकल्प खोज्नु पर्छ’ उनले भने।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा. बाबुराम मरासिनीले लक्षण नभएका विरामीलाई अस्पतालमा राख्नु सरकारले उल्टो काम गरिरहेको टिप्पणी गरे। लामो समय अस्पतालमा बस्दा अस्पताल संक्रमण बढेर विरामीको ज्यान समेत जान सक्ने बताए। ‘नेपालमा धेरै विरामी अस्पतालको संक्रमणले गर्दा मृत्यु भएका तथ्याकं धेरै छन् ’उनले भने।  

उनले कोरोना संक्रमित वेलायती प्रधानमन्त्रीको उपचार घरैमा सम्भव भएको र विदेशमा रहेका नेपालीहरुको घरमै उपचार  भइरहेको अवस्थामा नेपालमा सम्भावना भएका व्यक्तिहरुलाई घरैमा राखेर आवश्यक कोभिड परीक्षण गर्न सकिन्छ। ‘समस्या देखिएमा सम्पर्क गर्ने स्वास्थ्य संस्थाको व्यवस्था गरेर घरमै राख्न सकिन्छ’ उनले भने। तर होम आइशोलेशनको लागि घरको संरचनामा छुट्टै शौचालय र कोठामा भने अनिवार्य हुनु पर्ने र १५ दिनसम्म कोठा बाहिर ननिस्की बस्ने सर्त हुनु पर्छ।  

तर गम्भिर विरामी तथा पहिल्यैका र्दीर्घरोगीको हकमा भने अस्पताल आवश्यक हुन्छ। त्यसै गरी तराईका विपन्न विरामीको हकमा पनि सरकारले अस्पताल वाहेक अन्य आइशोलेशनको व्यवस्था गर्र्नु पर्ने बताए।  

शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लक्षण विनाका विरामीलाई लामो समय अस्पतालमा बस्दा अरु विरामीका कारण अन्य रोगहरु समेत सर्ने सम्भावना हुने जोखिम हुन्छ। अर्कोतिर लामो समय अस्पतालभित्र एक्लै बस्दा एन्जाइटी हुने सम्भावना पनि उत्तिकै रहन्छ। ‘ विरामीहरु असाध्यै डराइरहेका हुन्छन् ’ उनले भने। यी जोखिमबाट बच्न लक्षण विनाका संक्रमितको व्यवस्थापन गर्न विकसित राष्ट्रहरुले अपनाएको नमुना अपनाउनु उचित हुने सुझाए।  

राजभणडरीका अनुसार घरमै राम्रो संरचना भएका र जनचेतना भएका विरामीको हकमा घरमै आइशोलेसनको व्यवस्था गर्ने, घरमा राम्रो व्यवस्था  नभएका विरामीको हकमा  होटेल तथा अन्य स्थललाई प्रयोग गरी आइशोलेशन स्थान बनाउन सकिन्छ। यी संरचनाको साथै आधारभुत सेवा दिन सक्ने गरी देशमै भएका एमविविएस चिकित्सकको जनशक्ति प्रयोग गर्न सकिने र यस्ता आइशोलेशन स्थलमा आधारभुत औषधीको व्यवस्था गरिनु पर्छ। त्यो संगै लक्षण बृद्वि भएमा जाने अस्पतालको यकिन हुनु पर्छ। यस्तो व्यवस्थापनले लक्षण नभएका विरामीहरु मानसिक तथा शारीरीक रुपमा थप विरामी हुनबाट बच्न सक्छन्।  

यस विषयमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वैकल्पिक आइशोलेशनको सट्टा विरामीको हेरचाह बढी अस्पतालमै हुने हुँदा कोभिड अस्पतालमै राख्न मिल्ने गरी तयारी भएको बताए। हाल उपत्यकामा मात्र ४ सय जनालाई राख्न मिल्ने गरी कोभिड अस्पताल तयारी अवस्थामा रहेको छ। अस्पतालमा नपुगेपछि अर्को तयारी गर्ने प्रक्रिया पनि अघि बढेको बताए। ‘ अहिले अन्य अस्पतालहरुमा पनि आइसियूसहितका वार्ड छुट्टयाइएको छ, पुगेन भने अर्को तयारीमा लाग्ने हो ’ उनले नागरिकसित भने।  

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठलेलक्षण नदेखिएकालाई राख्न मिल्ने गरी खरिपाटी क्वारेनटाइन  तयारी अवस्थामा रहेको र कीर्तिपुरको आयुर्वेद चिकित्सालयमा ५ सय शैय्या निर्माण गरिने जानकारी दिए। गम्भिर खालका विरामी आएको अवस्थामा शसस्त्र  प्रहरी बल बलम्वु, ग्राण्डी अस्पताल, अन्य मेडिकल कलेजमा समेत व्यवस्थापन गर्ने बताए। अस्पतालमा  शैय्या रहेसम्म अस्पतालमै राख्ने नीति रहेको उनले बताए। ‘अस्पतालमा राख्न नसक्ने स्थितिमा घर र होटेल आइशोलेशनमा राख्ने नीति हो ’ उनले भने।

प्रकाशित: १० जेष्ठ २०७७ १४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App