coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

जुम्लामा दुई हजार सातसयको स्वाब परिक्षण, सबैको रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट हाल सम्म परीक्षण गरिएका सबैको कोराना रिर्पोट नेगेटिभ आएको छ । झण्डै दुइ हप्ताको बीचमा २ हजार ७ सय ५५ जनाको स्वाब संकलन गरिएर परीक्षण गरिएको थियो । प्रतिष्ठानले कर्णालीका हुम्ला, मुगु,कालिकोट र जुम्लामा स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब परीक्षण गरेको थियो । जुम्ला र कालिकोट बाहेक हुम्ला र मुगु जिल्लामा हेलिकप्टर मार्फत चिकित्सक पुर्याइएको थियो ।  

हुम्लाको नाम्खा र अदानचुली, मुगुको खत्याडमा स्वाब संकलन गर्न टोली खटाएको थियो । जुम्लाका हरेक स्थानीय तहमा दुई दुई जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो । प्रतिष्ठानका अनुसार सबैभन्दा बढि एक हजार २ सय ७६ जना जुम्लाबासीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण रिर्पोट सबैको नेगेटिभ नै आयो । यो भित्र जुम्लामा कार्यरत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी पनि पर्छन् ।  

प्रयोगशाला इन्चार्ज विवेक पुनका अनुसार हुम्लाका  ४१०, मुगुका ३५२ र कालिकोटका ७१७ जनाको स्वाब परिक्षण गरिएको थियो । हुम्लाको नाम्खा गाउँपालिकाका २ र मुगुको खत्याड गाउँपालिकामा आरडीटी परीक्षणमा कोराना पोजेटिभ देखिएकाको पनि पिसिआर परीक्षण गर्दा कोरना नेगेटिभ देखिएको थियो ।

अहिले सम्म पिसिआर परीक्षण रिर्पोट हेर्दा साबिकको कर्णाली सुरक्षित नै देखिएको छ । तर भारतबाट आउनेक्रम बढे संगै कोराना संक्रमण फैलन सक्ने त्रास पनि उत्तिकै बढेको छ । कोराना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले ‘मेडिकल मार्च’सञ्चालन गरेको छ । जसअन्तर्गत कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालित छन् । साबिकको कर्णालीको पाँच जिल्ला हेर्ने जिम्मेवारी कर्णाली प्रतिष्ठानले पाएको छ । कर्णाली प्रतिष्ठानले स्वाब संकलन र परिक्षण कार्यलाई तिब्र पारेको छ ।  

रजिष्टार विश्वराज काफ्ले अहिले सम्म संकलन गरिएको स्वाबको परिक्षण सकिएको बताउँछन् । स्वास्थ्यकर्मीको टोली डोल्पा पठाउने तयारी भइरहेको उनले बताए । कर्णाली प्रतिष्ठानले पुलिङ विधिबाटै स्वाब परिक्षण गरिरहेको छ । स्वाब संकलन र परिक्षणमा प्रतिष्ठानको चिकित्सक टोली अहोरात्र खटिरहेको शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन् ।  

प्रतिष्ठानको टोली स्वाब परिक्षणमा भोक, निन्द्रा नभनि खटिएको छ, स्वाब संकलनमा पनि तदाश्रकता उत्तिकै देखाएको छ,शिक्षाध्यक्ष थापाले भने,‘ यो संकटको समयमा टोलीलाई हौसला र उत्प्रेरणाको खाँचो छ ।’ कर्णाली प्रतिष्ठानको पदाधीकारी टिम देखि सबै स्वास्थ्यकर्मी कोराना बिरुद्धको महाअभियानमा लागि परेका छन् । मेसिन सञ्चालन गर्दाका बखत परिक्षण गरिएको स्वाब भेरिफिकेसनको लागि  स्वाब नेपालगंज लगिएको थियो । स्वाब संकलन र परिक्षणको दायरालाई बढाउदै लैजानु पर्ने जुम्लाबासी बताउँछन् ।

प्रकाशित: १० जेष्ठ २०७७ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App