१३ जेष्ठ २०७७ मंगलबार
स्वास्थ्य

शाहद्वारा एक करोडका स्वास्थ्य उपकरण हस्तान्तरण

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्वास्थ्य उपकरण र सामाग्रीहरुको सुची प्रदान गर्दै पूर्व संविधानसभा सदस्य एवम् कांग्रेस नेता राजीवविक्रम शाह । नगेन्द्र उपाध्याय / नागरिक ।

संविधानसभा पूर्व सदस्य एवं नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले कोरोना संक्रमणसँग लड्नका लागि कर्णाली प्रदेश सरकारलाई एक करोडका स्वास्थ्य उपकरण र सामाग्री हस्तान्तरण गरेका छन् । शाहले आफु अध्यक्ष रहेको कुमारी ट्रष्टमार्फत कर्णाली प्रदेश अस्पताललाई पाँच वटा आइसीयू बेडसहित इसीजी मेसिन, प्यासेन्ट मनिटरलगायतका ७० लाख र १० वटै जिल्लाका जिल्ला अस्पतालका लागि तीन–तीन लाखका स्वास्थ्य उपकरण शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा कर्णाली प्रदेश अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयलाई हस्तान्तरण गरेका हुन् ।

पूर्व संविधानसभा सदस्य शाहले कर्णाली प्रदेश सरकारको सल्लाहमा आवश्यक उपकरणहरु प्रदान गरिएको बताए । ‘प्रदेश सरकारले दिएको सुचीका आधारमा स्वास्थ्य उपकरण र सामाग्रीहरु खरिद गरेर उपलब्ध गराएको हुँ,’ शाहले भने, ‘अहिलेको संकटमा आफुसँगै कर्णालीबासीलाई बचाउन यि सामाग्रीहरु महत्वपूर्ण हुने विश्वास लिएको छु ।’ शाहले कर्णालीका १० वटै जिल्ला अस्पताललाई प्यासेन्ट मनिटर, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयललगायतका स्वास्थ्य उपकरण र सामाग्रीहरु प्रदान गरेका हुन् ।

शाहको सहयोगमा कर्णाली प्रदेश अस्पतालले सञ्चालनमा ल्याएको कोरोना विशेष अस्पतालमा पाँच वटा आइसीयु बेड थपिएका छन् । योसँगै प्रदेश अस्पतालमा आइसीयू बेडको संख्या २० पुगेको छ । कुमारी ट्रष्टका अध्यक्षसमेत रहेका शाहले उपकरण चलाउनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिमकोसमेत व्यवस्था गरिने बताए ।

कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला कुमारी ट्रष्टमार्फत कांग्रेस नेता शाहले गरेको सहयोग कर्णालीका लागि महत्वपूर्ण रहेको बताए । ‘कर्णालीमा अहिले पनि स्वास्थ्यका प्रयाप्त पूर्वाधार छैनन्, यस्तोमा कोरोनासँग लड्न हाम्रा लागि चुनौति छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यो संकटपूर्ण घडीमा कर्णालीलाई प्रदान गरिएको एक करोडको स्वास्थ्य सामाग्रीले यहाँका नागरिकहरुलाई कोरोना संक्रमणबाट बचाउन ठूलो सहयोग पुग्छ ।’  

कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले कोरोना संक्रमणसँगै अरु बेला पनि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु प्रदेश अस्पताललाई प्राप्त भएको बताए । उनले कोरोना रोगका गम्भीर विरामीहरुलाई आइसीयु आवश्यक हुने भएकाले कुमारी ट्रष्टमार्फत गरिएको सहयोग कर्णालीको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण रहेको बताए । ‘कोरोना संक्रमित मध्ये हरेक एक सय जनामा तीन जनालाई मात्रै आइसीयुमा राख्नुपर्ने अवस्था आउन सक्छ,’ डा. खड्काले भने, ‘पूर्व संविधानसभा सदस्य शाहबााट प्राप्त पाँच वटा आइसीयु बेड र उपकरणले कोरोनासँग लड्न अझ सहज भएको छ ।’

प्रकाशित: ९ जेष्ठ २०७७ १३:३९ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App