८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सँगै बजेट आएको बाग्लुङमा आइसियु बन्यो, गोरखामा टुङ्गो छैन

गोरखा अस्पताल । तस्विर : नागरिक

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनिक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साताभित्र निर्माण गर्ने भनिएको भेन्टिलेटरसहितको आइसियु कक्ष अझै निर्माण सुरु भएको छैन ।  

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाले गण्डकी प्रदेशको बाग्लुङ र गोरखा अस्पतलमा भेन्टिलेटरसहितको आइसियु निर्माण गर्न बजेट निकासा गरेको थियो । बाग्लुङमा दुई साता अघि निर्माण सम्पन्न भएर आइसियु प्रयोगमा आइसकेको बाग्लुङ अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले बताए । 

‘वैशाख पहिलो साता टेण्डर गरेका थियौं, प्रदेशबाट इन्जिनियर बोलाएर  मूल्याङ्कन गरेपछि सम्झौता गर्न आउँदा नै सामग्री लिएर आउन कम्पनीलाई भन्यौं, छिट्टै बन्यो ।’ तीन बेडको आइसियु रहेको अस्पतालमा बिहीबार शल्यक्रिया गरेका बिरामीलाई राखेर सेवा दिइरहेको उनले बताए ।  

यतिबेला भेन्टिलेटरसहितको आइसियु सेवा गोरखा अस्पतालले पनि दिएको हुनुपथ्र्यो तर छैन । ‘पटकपटक टेण्डर गर्नुपर्दा ढिलो भएको हो’ गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नविन थापाले भने । वैशाख ४ गते पहिलो पटक टेण्डर आह्वान गरेको अस्पतालले प्रक्रिया पुगेका कुनै पनि फर्म दर्ता नभएको भन्दै पुन टेण्डर गरेको जनाएको छ । 

दोस्रो पटक वैशाख तेस्रो साता गरिएको टेण्डरमा तीनवटा फर्म दर्ता भएका छन् । ती फर्मको प्राविधिक र आर्थिक मूल्याङ्कन हुन बाँकी छ । ‘प्राविधिक मूल्याङ्कन पास भएपछि आर्थिक मूल्याङ्कन हुन्छ, त्यो पास भएपछि ठेक्का सम्झौता हुन्छ’ निमित्त मेडिकल सुपरिटेण्डेन्ट थापाले भने ‘सार्वजनिक खरिद ऐन, नियमावलीका सबै प्रक्रिया पुरा गर्नुपर्ने हुँदा समय लागेको हो ।’ गोरखा अस्पतालमा ‘बायोमेटिकल इन्जिनियर’ नभएकाले एक साताअघि प्रदेशबाट बोलाइएको उनले बताए । तर अझै प्रदेशबाट इन्जिनियर मूल्याङ्कनका लागि आएका छैनन् ।  

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीले एक महिनाभित्र तयार गर्ने योजनासहित बजेट निकासा गरेको बताए । कोरोनाको संभावित खतरालाई ध्यान दिएर उपचारमा सहजता ल्याउन आईसियू निर्माण छिटो गर्ने योजना महाशाखाको थियो । ९० लाख लगानीमा अस्पतालमा सुविधा सम्पन्न भेन्टिलेटर सहितको आईसियू दुई साताभित्र बन्ने चर्चा चलेको थियो । बजेट निकासा भएको डेढ महिना बितिसक्दा अझै टेण्डर प्रक्रिया टुङ्गिएको छैन ।  

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App